बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘व्यक्तिगत र सार्वजनिक मुद्दा नै नचिन्ने न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन खोजियो’

उजुरीमाथि पर्याप्त छानबिन नै नगरी सुनुवाइ अघि बढाउन खोजेको भन्दै संसदीय समितिप्रति उजुरीकर्ताको आपत्ति
मङ्गलबार, ०५ जेठ २०८३, १५ : १०
मङ्गलबार, ०५ जेठ २०८३

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि उजुरीकर्ताहरूले शैक्षिक योग्यता, संवैधानिक योग्यता र न्याय सम्पादन क्षमताको गम्भीर प्रश्न उठाएका छन् ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा मङ्गलवार भएको छलफलमा उजुरीकर्ताहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्माको समग्र योग्यता र न्याय सम्पादन क्षमतामाथि प्रश्न उठाएका हुन् ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उजुरीकर्ता सरोजकुमार मिश्रले प्रस्तावित प्रधानन्यायाधीश शर्माको न्याय सम्पादनमा गम्भीर त्रुटि रहेको दाबी गरे । उनले व्यक्तिगत र सार्वजनिक सरोकारका मुद्दासमेत छुट्याउन नसक्ने न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने प्रयास भइरहेको आरोप लगाए । संसदीय सुनुवाइ समितिले उजुरीउपर आवश्यक छानबिन नै नगरी सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजेको प्रति उनले कडा आपत्ति समेत जनाए ।

आफ्नो असन्तुष्टि राख्दै उजुरीकर्ता मिश्रले भने, ‘मैले उहाँ डा. मनोजकुमार शर्माको न्याय सम्पादनमा त्रुटि छ भनेर संसदीय सुनुवाइ समितिमा उजुरी गरेको छु । व्यक्तिगत र सार्वजनिक मुद्दा नै नचिन्ने न्यायाधीश हुनुहुन्छ । समितिले पनि एकदमै हतार गरिरहनुभएको छ, सुन्न चाहिरहनुभएको छैन । जसरी पनि मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न चाहिरहनुभएको छ, यसमा हामी के नै गर्न सक्छौँ र ।’

अर्की उजुरीकर्ता जस्मिन ओझाले प्रस्तावित प्रधानन्यायाधीश शर्माको संवैधानिक योग्यतामाथि नै प्रश्न उठाउँदै सार्वजनिक रूपमा उठेका विवादलाई बेवास्ता गर्न नमिल्ने बताइन् । उनले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सम्बन्धी मुद्दा लगायत केही अत्यन्तै संवेदनशील विषयमा शर्माले दिएको फैसला विवादास्पद रहेको उल्लेख गर्दै शर्मा प्रधानन्यायाधीश पदका लागि योग्य नरहेको दाबी गरिन् । ओझाले पनि समितिले उजुरीहरूमाथि पर्याप्त अनुसन्धान र छानबिन नै नगरी सुनुवाइ प्रक्रिया हतार–हतार अघि बढाएको आरोप लगाइन् ।

समितिको कार्यशैली र डा. शर्माको योग्यतामाथि प्रश्न उठाउँदै ओझाले भनिन्, ‘प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा संवैधानिक रूपमा पनि अयोग्य हुनुहुन्छ र अरू थुप्रै प्रश्नहरू छन् । उहाँमाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरू अनदेखा गर्न मिल्दैन भनेर मैले उजुरी दिएको हो । अर्को कुरा समितिले समेत हतारो गरिरहेको छ । हिजो मात्रै उजुरी दर्ता सकिएको छ, उजुरीमाथि अनुसन्धान र छानबिन नै सकिएको छैन । सञ्चारमाध्यममा आजै सुनुवाइ हुने कुरा आइरहेको छ । शर्माले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति लगायत कतिपय मुद्दामा विवादास्पद फैसला गरेको कारण पनि उहाँ प्रधानन्यायाधीशका लागि योग्य हुनुहुन्न ।’

उजुरीकर्ताहरूसँगको छलफल र उनीहरूको बयान लिने काम सकिएसँगै अहिले संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि थप सुनुवाइको कार्य र कार्ययोजना प्रस्तुतिकरण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप