बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

नयाँ संसद् बनेपछि विपक्षीको पहिलो बेल घेराउ, नाराबाजीबिच विधेयक पारित

बिहीबार, ०७ जेठ २०८३, २० : ३०
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • नयाँ प्रतिनिधि सभामा विपक्षी दलहरूले पहिलो पटक बेल घेराउ गरेका छन् ।
  • प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था कार्यान्वयनमा नआएको भन्दै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले बेल घेराउ गरेका हुन् ।
  • विपक्षीको नाराबाजी र बेल घेराउबिच सभामुख डोलप्रसाद अर्यालले 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२' प्रतिनिधि सभाबाट पारित गराएका छन् ।

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि बनेको प्रतिनिधि सभामा विपक्षी दलहरूले पहिलो पटक बेल घेराउ गरेका छन् ।

 प्रतिपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले बिहीबारको बैठकमा बेल घेराउ गरेका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था छ । 

त्यही व्यवस्थालाई कार्यान्वयनमा नल्याइएको भन्दै तीन दलले बेल घेराउ गरेका हुन् । उनीहरूको बेल घेराउलाई कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर समर्थन गरे । विपक्षी श्रम संस्कृति पार्टीका सांसदहरू भने सदनको बैठक छोडेर बाहिरिए । 

तर, विपक्षीको बेल घेराउबिच सभामुख डोलप्रसाद अर्यालले भने सदन चलाए । विपक्षीको नाराबाजीबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२  प्रतिनिधि सभाबाट पारित पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले  विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।

 विपक्षीले उठेर विरोध गरेपछि सभामुख अर्याल प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । तर, प्रधानमन्त्री शाहले आउने सङ्केत नदेखाएपछि उनी विपक्षीलाई पेलेर अगाडि बढेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप