मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

क्युबा अमेरिकाका लागि सुरक्षा खतरा भएको विदेशमन्त्री रुबियोको दाबी

शुक्रबार, ०८ जेठ २०८३, ०४ : ३४
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाले अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा खडा गरेको र शान्तिपूर्ण सम्झौताको सम्भावना नरहेको बताएका छन् ।
  • रुबियोले क्युबालाई आतंकवादको प्रमुख प्रायोजक भएको आरोप लगाएका छन्, तर क्युबाका विदेशमन्त्रीले यसलाई झूटको संज्ञा दिएका छन् ।
  • रुबियोका अनुसार क्युबाले अमेरिकाले प्रस्ताव गरेको मानवीय सहायता स्वीकार गरेको छ, जबकि राष्ट्रपति ट्रम्पले क्युबालाई असफल देशको संज्ञा दिएका छन् ।

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाले अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षा खतरा’ खडा गरेको र शान्तिपूर्ण सम्झौताको सम्भावना ‘उच्च नरहेको’ बताएका छन् । सन् १९९६ मा दुईवटा विमान खसाली अमेरिकी नागरिकको हत्या गरेको अभियोगमा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध मुद्दा दायर गरेको भोलिपल्ट रुबियोको यस्तो कडा टिप्पणी आएको हो ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै रुबियोले वासिङ्टनको प्राथमिकता ‘कूटनीतिक समाधान’ नै रहेको तर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो देशलाई कुनै पनि खतराबाट जोगाउने अधिकार र दायित्व रहेको चेतावनी दिए । उनले क्युबालाई यस क्षेत्रकै ‘आतंकवादको प्रमुख प्रायोजक’ मध्ये एक भएको आरोप समेत लगाए । यता, क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले रुबियोको दाबीलाई ‘झूट’ को संज्ञा दिँदै आफ्नो देशले अमेरिकालाई कहिल्यै खतरामा नपारेको स्पष्ट पारेका छन् । रोड्रिग्वेजले सामाजिक सञ्जाल एक्समार्फत रुबियोले सैन्य आक्रमणलाई उक्साउन खोजेको र क्युबामाथि निर्ममतापूर्वक प्रहार गरिरहेको आरोप लगाए ।

हाल क्युबा गम्भीर इन्धन संकट, खाद्य अभाव र लामो समयसम्म हुने ‘ब्ल्याकआउट’ बाट गुज्रिरहेको छ। रुबियोका अनुसार क्युबाले अमेरिकाले प्रस्ताव गरेको १० करोड डलरको मानवीय सहायता स्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले क्युबामाथि निरन्तर दबाब बढाउँदै त्यहाँको कम्युनिस्ट शासन ढाल्ने विषयमा खुला छलफल गर्दै आएका छन् । पूर्व राष्ट्रपति क्यास्ट्रोविरुद्धको अभियोगलाई कतिपयले गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको घटनासँग तुलना गरेका छन् ।

कामु महान्यायाधिवक्ता टोड ब्लान्चेले क्यास्ट्रो आफ्नो इच्छा वा अन्य कुनै माध्यमबाट अमेरिकामा उपस्थित हुने विश्वास व्यक्त गरेका छन् । यता ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले क्युबालाई ‘असफल देश’ को संज्ञा दिए । उनले आफ्नो प्रशासनले मानवीय आधारमा मद्दत गर्न खोजिरहेको उल्लेख गर्दै विगत ५०–६० वर्षदेखि अन्य राष्ट्रपतिहरूले हेरिरहेको काम आफूले फत्ते गर्ने दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप