१० महिनामा देशको व्यापार घाटा १४ खर्ब नाघ्यो, कुल वैदेशिक व्यापार १९ खर्ब माथि
सारांश
- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
- यस अवधिमा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको तुलनामा १४.८२ प्रतिशतले बढी हो ।
- आयातको तुलनामा निर्यातको वृद्धिदर कम हुँदा व्यापार घाटा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) मा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । तर, निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च हुँदा मुलुकको व्यापार घाटा पनि करिब १५ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कुल व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको थियो ।
तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोडको आयात भएको थियो ।
त्यसैगरी, निर्याततर्फ पनि सुधार देखिएको छ । यस अवधिमा निर्यात १४.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोडको निर्यात भएको थियो। यद्यपि, आयातको तुलनामा निर्यातको आयतन अत्यन्तै न्यून रहेको तथ्याङ्कले देखाउँछ ।
आयातमा भएको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको १० महिनामा यस्तो घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ थियो ।
तथ्याङ्कअनुसार नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१८ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा घटेर १२.८२ प्रतिशतमा सीमित भएको छ । गत वर्ष निर्यातको हिस्सा १२.८८ प्रतिशत थियो ।
यस अवधिमा आयात–निर्यात अनुपात ६.८० पुगेको छ । यसको अर्थ नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८० पैसा बराबरको वस्तु आयात गर्ने गरेको देखिन्छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.७७ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण