सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

फिर्केखोलामा ३ ठाउँबाट डोजर चलाउने महानगरको तयारी, जनप्रतिनिधि र कर्मचारी सबै खटिने

शनिबार, ०९ जेठ २०८३, २१ : ५१
शनिबार, ०९ जेठ २०८३

सारांश

  • पोखरा महानगरपालिकाले आइतबारदेखि फिर्के खोला मिचेर बनाइएका अवैध संरचना हटाउन ३ ठाउँबाट डोजर चलाउने तयारी गरेको छ ।
  • महानगरले ३५ दिने सूचनाको म्याद सकिएपछि खोलाको मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन लागेको हो ।
  • यस अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधि र कर्मचारीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

पोखरा । पोखराको बहुचर्चित फिर्के खोलाघर खाली गर्ने योजनामा आइतबारदेखि काम सुरु हुने भएको छ ।

पोखरा महानगरपालिकाले आइतबार ३ ठाउँबाट एकैसाथ डोजर चलाउन सुरु गर्न लागेको हो । फिर्के खोला मिचेर बनाइएका अवैध संरचना हटाउने अभियान सुरु भएको मेयर धनराज आचार्यले जानकारी दिए ।महानगरले यसअघि ३५ दिने सूचना निकालेको थियो । 

उक्त सूचनाको म्याद शनिबार सकिएको छ । आइतबार देखि नै खोला किनारका अवैध संरचनामा डोजर चलाउन लागिएको आचार्यले बताए । खोलाको मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन महानगरले बिहान १० बजेदेखि अँधेरीकुना, बुढानीलकण्ठ मन्दिर र जिरो किलोमिटर गरी तीन स्थानबाट डोजर चलाउन लागेको हो । 

यसका लागि महानगरले सम्बन्धित वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, वडा सचिव, इन्जिनियर र सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । अँधेरीकुना केन्द्रमा वडा नम्बर १, २, ३, १६, १८, १९, २०, २४, २५ र ३० का जनप्रतिनिधि तथा कर्मचारीहरू खटिने छन् ।

बुढानीलकण्ठ मन्दिरमा वडा नम्बर ४, ५, ९, १०, ११, १२, १३, २६, २८, ३१ र ३३ का प्रतिनिधि र कर्मचारीहरू रहनेछन् भने जिरो किलोमिटर केन्द्रमा वडा नम्बर ६, ७, ८, १४, १५, १७, २१, २२, २३, २७, २९ र ३२ का प्रतिनिधि र कर्मचारीहरू खटिने महानगरको तालिका छ । 

यसमा नेतृत्व सम्बन्धित वडाका वडाध्यक्षहरुले गर्नेछन् । फिर्केखोला वडा नम्बर १८ बाट सुरु भएर २, ४, ५, ६, ७, ८ र १७ बाट बग्छ । महानगरपालिकाले २०८० सालमै खोलाघर हटाउन लागेको थियो । ३५ दिने सूचना निकालेपछि स्थानीले अदालतमा मुद्दा दर्ता गरे ।

अदालतले तत्काल नचलाउन अन्तरिम आदेश दिएपछि प्रक्रिया लम्बिएको हो । पछि अदालतले पनि महानगरकै पक्षमा फैसला गरेको छ । महानगरले सूचना निकालेपछि केही व्यवसायी र व्यक्तिहरुले आफ्नो संरचना खाली गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप