सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पार्टीको समस्या समाधान गर्न जेठ १५ सम्मको अल्टिमेटम, सिटौलालाई हटाएकोमा विरोध

शनिबार, ०९ जेठ २०८३, २१ : ५८
शनिबार, ०९ जेठ २०८३

पोखरा । नेपाली कांग्रेसका नेताहरूले जेठ १५ भित्र पार्टीको आन्तरिक समस्या समाधानका लागि अल्टिमेटम दिएका छन् ।

पार्टी सभापतिले एकलौटी रूपमा पार्टी सञ्चालन गरेको आरोप लगाएका उनीहरूले अहिलेको सबै समस्या समाधानका लागि पहल थाल्न र निष्कर्ष निकाल्न पार्टी नेतृत्व र शीर्ष नेताहरूलाई गण्डकी भेलाले आह्वान गरेको हो ।

समस्या समाधान नभए १५ गतेपछि महासमिति बैठक आह्वान गर्न माग गरिएको छ । ‘पार्टीभित्र देखिएका समस्याको निकासका लागि जेठ १५ गतेसम्म समाधान निकाल्न माग गर्दर्छौं,’ भेलाले भनेको छ, ‘यदि नेताहरूले समस्या समाधान नगरे महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्ने निर्णय गरिन्छ ।’ 

पार्टीभित्र तदर्थवाद चलिरहेकोले यसको अन्त्य गर्न नेतृत्वलाई भेलाले दबाब दिएको छ । पार्टी तहमा देखिएका पछिल्ला राजनीतिक घटनाक्रमबारे भेलाले ९ बुँदे निर्णय गरेको छ । भेलाका सहभागीहरूले पार्टी विधान र विधिअनुसार नचलेको भन्दै संस्थापन पक्ष र इतर पक्षका नेताहरूलाई तत्काल संवादमा बस्न आग्रह गरेका छन् । यो पक्ष विशेष महाधिवेसनकै समयदेखि फरक कित्तामा उभिएको थियो । भेलाले पार्टीको हालको कार्यशैली बीपी कोइरालाको सिद्धान्त र आदर्श विपरीत भएको भन्दै चिन्ता व्यक्त गरेको छ । 

समस्या समाधानका लागि निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालालाई संवाद गर्न पनि सुझाएको छ ।

भ्रातृ संस्थाहरूको अस्तव्यस्तता र एकलौटी निर्णय प्रक्रियाप्रति भेलाले असन्तुष्टि जनाएको छ । पार्टीका पदाधिकारी र केही नेताहरूले पछिल्लो समय गरिरहेका एकलौटी निर्णय तथा भ्रातृ संस्था विघटनलगायत कामको विरोध गरेको छ । सहभागीहरूले पार्टी सञ्चालनमा देखिएको तदर्थवाद तत्काल अन्त्य हुनुपर्ने माग राखेका छन् । यस्तै राष्ट्रिय राजनीतिमा भएको मनपरी रोक्न माग गरिएको छ । 

सुकुमबासी बस्तीमा सरकारले गरेको बल प्रयोगको घटनालाई भेलाले भत्र्सना गरेको छ भने संविधानप्रदत्त आवासको अधिकार सुनिश्चितता गर्न माग गरिएको छ । पछिल्लो समय व्यवसायीहरूलाई कानुनविपरीत धरपकड गरिएको भन्दै काँग्रेस संस्थापन इतर पक्षले यस्ता काम नदोहोर्‍याउन सचेत गराएको छ । पर्यटकीय राजधानी पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि संघ सरकारसँग माग गरेको छ ।

कांग्रेसले सभापति गगन थापाले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएकोमा विरोध गरेको छ । ‘पार्टीभित्र अन्यायपूर्ण गतिविधि सञ्चालन नगर्न र भ्रातृ संस्थालाई तदर्थवादमा मात्रै सञ्चालन गर्ने परिपार्टीको अन्त्य गर्न आग्रह गर्ने निर्णय गरियो,’ भेलाले भनेको छ । उक्त निर्णय केन्द्रिय सभापतिलाई पेस गरिने प्रदेश उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप