प्रेरणादायी भिडियोदेखि राष्ट्रिय काण्डसम्म : कसरी १६ वर्षीय किशोर झण्डै नाइजेरियाको सांसद बने ?
सारांश
- नाइजेरियामा 'द वन्डर अफ जारिया' उपनामले चिनिने महमुद सादिस बुबाको उम्मेदवारी समावेशी राजनीतिको प्रेरणाका रूपमा सुरु भए पनि राष्ट्रव्यापी घोटालामा परिणत भएको छ।
- बुबाले आफू ३० वर्षको भएको दाबी गरे पनि सार्वजनिक भएका कागजात र पूर्व शिक्षकको भनाइले उनी केवल १६ वर्षको किशोर भएको पुष्टि गरेको छ।
- प्रमाणहरू थपिँदै गएपछि उमेर ढाँटेको आरोपमा एपीसी पार्टीले बुबालाई अयोग्य घोषित गर्यो र उनले उम्मेदवारी फिर्ता लिए।
काठमाडाैँ । नाइजेरियामा ‘अबिन अल–अजाबिन जाज्जाउ’ (द वन्डर अफ जारिया) का रूपमा चिनिएका महमुद सादिस बुबाको चर्चा गत महिना सुरु भएको थियो, जब उनको अल प्रोग्रेसिभ कांग्रेस (एपीसी) पार्टीको उम्मेदवार छनोटको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। तर, एउटा समावेशी राजनीतिको प्रेरणाका रूपमा सुरु भएको यो घटना हेर्दाहेर्दै देशव्यापी घोटालामा परिणत भएको छ।
जारियाको साबोन गारीका बासिन्दा बुबाले आफ्नो स्क्रिनिङ भिडियोमा आफूसँग माध्यमिक विद्यालयको प्रमाणपत्र रहेको र यसअघि चालकका रूपमा काम गरेको बताएका थिए। उनले आफ्नो सानो कद र बालक जस्तो देखिने रूप होचोपन (ड्वार्फिज्म) का कारण भएको दाबी गर्दै आफ्नो उमेर ३० वर्ष पुगेको बताएका थिए।
उनले पार्टी सदस्यहरूसामु भनेका थिए, ‘यो मेरो बारेमा होइन, यो जनताको तर्फबाट हो, जनताले मलाई उनीहरूको सेवा गर्न बोलाएका छन् र म सेवा गर्नेछु ।’ उनको यो सरल भनाइ नाइजेरियाली सामाजिक सञ्जालमा सबैभन्दा बढी उद्धृत गरिने राजनीतिक भनाइ समेत बन्यो।
जनता माझ द वन्डर अफ जारियाले नाइजेरियाली राजनीतिमा कसरी परिवर्तनको प्रेरणा दियो भन्नेबारे लगातार बहस भइरहेका बेला देशको राष्ट्रिय एसेम्बलीमा सिट सुरक्षित गर्ने उनको सम्भावना अचानक भत्किन पुग्यो। भाइरल भिडियोमा बुबाले आफ्नो जन्म २ अगस्ट १९९५ मा भएको दाबी गर्दै आफू ३० वर्ष कटिसकेको बताएका थिए, तर उनीसँग सम्बन्धित र इन्टरनेटमा सार्वजनिक भएका कागजातहरूले उनको जन्म सन् २०१० मा भएको सङ्केत गरे।
नाइजेरियाली राष्ट्रिय एसेम्बलीको निर्वाचनमा उम्मेदवार हुनका लागि कम्तीमा २५ वर्षको उमेर हुनुपर्ने प्रावधान छ, तर अबिन अल–अजाबिन जाज्जाउको मामलामा उमेर मात्र मुख्य मुद्दा रहेन। यदि उनको जन्म सन् २०१० मा भएको हो भने नाइजेरियाली कानुन र अन्तर्राष्ट्रिय बाल अधिकारको खाका दुवै अनुसार उनी नाबालिग ठहरिन्छन्।
महमुद सादिस बुबासँग जोडिएका राहदानी, एनआईएन स्लिप, जन्मदर्ता प्रमाणपत्र र विद्यालयका कागजातका तस्बिरहरूले उनी केवल एक किशोर मात्रै भएको देखाए। यसैबिच, उनका एक पूर्व शिक्षकले पनि सञ्चारमाध्यममा आएर आफूले बुबालाई माध्यमिक विद्यालयको तल्लो तहमा पढाएको र अहिले उनी १६ वर्षको मात्र भएको पुष्टि गरेपछि विवाद झन् चर्कियो।
बुबाको आबद्धता रहेको एपीसी पार्टीले सुरुमा उनको बचाउ गर्दै यो उनी विरुद्धको सुनियोजित प्रचार मात्र भएको दाबी गरेको थियो। तर, प्रमाणहरू थपिँदै गएपछि उमेर ढाँटेको आरोपमा पार्टीले उनलाई अयोग्य घोषित गरिदियो। त्यसपछि बुबाले एपीसीका अध्यक्षलाई एउटा पत्र लेख्दै पार्टीसँगको परामर्शपछि आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे।
उनले पत्रमा भनेका छन्, ‘कृपया यो पत्रलाई साबोन गारी संघीय निर्वाचन क्षेत्र, प्रतिनिधि सभाको दौडबाट तत्काल लागू हुने गरी मैले उम्मेदवारी फिर्ता लिएको औपचारिक सूचनाका रूपमा स्वीकार गर्नुहोला, यो सजिलो निर्णय थिएन, तर हाम्रा पार्टीका सरोकारवाला र नेताहरूद्वारा सुरु गरिएको मेलमिलापको प्रयासले यसलाई चाँडो टुङ्ग्याउन मद्दत गर्यो ।’
अहिले नाइजेरियामा होचोपन भएका एक १५ वर्षीय बालक कसरी एपीसी पार्टीको स्क्रिनिङ प्रक्रिया पार गरेर देशको उदाउँदो राजनीतिक तारा बन्न सफल भए भन्ने विषयमा धेरैले आश्चर्य व्यक्त गरिरहेका छन्। यो केवल पार्टीको अक्षमता मात्रै थियो वा कसैले जानीजानी यो उम्मेदवारीको तानाबाना बुनेको थियो भन्ने प्रश्नहरूको जवाफ अझै मिल्न सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण