बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुम्बईलाई हराउँदै राजस्थान रोयल्स प्लेअफमा, एलिमिनेटरमा हैदराबादसँग खेल्ने

आइतबार, १० जेठ २०८३, २० : ५०
आइतबार, १० जेठ २०८३

सारांश

  • राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले हराउँदै आईपीएल २०२६ को प्लेअफमा स्थान पक्का गरेको छ।
  • जोफ्रा आर्चरले अलराउन्ड प्रदर्शन गर्दै राजस्थानलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
  • प्लेअफमा राजस्थानले आगामी बुधबार सनराइजर्स हैदराबादसँग एलिमिनेटर खेल खेल्नेछ।

मुम्बई । जोफ्रा आर्चरको सनसनीपूर्ण अलराउन्ड प्रदर्शन र बलरहरूको उत्कृष्ट बलिङको मद्दतले राजस्थान रोयल्स आईपीएल २०२६ को प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ। आइतबार वानखेडे रङ्गशालामा भएको खेलमा मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थानले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

यस जितसँगै राजस्थानको कुल १६ अङ्क पुगेको छ र टोलीले १५ अङ्कका साथ चौथो स्थानमा रहेको पञ्जाब किंग्सलाई पछि पारेको छ। अर्कोतर्फ, मुम्बई इन्डियन्स भने ४ जित र १० हारसहित ८ अङ्क जोडेर तालिकाको नवौँ स्थानमा सीमित भयो। यस जितसँगै राजस्थान रोयल्सले आगामी बुधबार मुल्लानपुरमा सनराइजर्स हैदराबादसँग खेल्ने एलिमिनेटर भिडन्त पक्का गरेको छ।

मुम्बईले २०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थानका तीव्र गतिका बलर जोफ्रा आर्चरले सुरुवातमै ठुलो झट्का दिए। उनले रोहित शर्मालाई ध्रुव जुरेलको हातबाट क्याच गराउँदै शून्य रनमै पभेलियन पठाए। 

अर्का पेसर नान्द्रे बर्गर र आर्चरले मुम्बईको शीर्ष क्रमलाई ध्वस्त पार्ने क्रममा नमन धिर (६ रन) र रायन रिकलटन (१२ रन) लाई चाँडै आउट गरेपछि मुम्बई ३.२ ओभरमा २४ रन जोड्दा ३ विकेटको कमजोर अवस्थामा पुग्यो। त्यसपछि ब्रिजेश शर्माले तिलक वर्मा (३ रन) को महत्त्वपूर्ण विकेट लिएपछि मुम्बईले ५.१ ओभरमा ३८ रनमा ४ विकेट गुमायो। विल ज्याक्स र सूर्यकुमार यादवले छैटौँ ओभरमा एक चौका प्रहार गर्दै पावरप्लेमा टोलीको स्कोर ४९ रन पुर्‍याए।

ज्याक्स र सूर्यकुमारले स्पिनर जोडी रवीन्द्र जडेजा र यशराज पुञ्जा विरुद्ध आक्रामक ब्याटिङ गर्दै २६ बलमै ५० रनको साझेदारी पूरा गरे। १० ओभरको समाप्तिमा मुम्बई ९० रनमा थियो। ज्याक्सले यशराजको बलमा छक्का प्रहार गर्दै टोलीको १०० रन पूरा गरे पनि लगत्तै अर्को बलमा ३३ रन बनाउँदै जुरेलको हातबाट क्याच आउट भए।

त्यसपछि आएका कप्तान हार्दिक पाण्ड्याले दुई छक्का प्रहार गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। अर्कोतर्फ सूर्यकुमारले ३२ बलमा सिजनको आफ्नो दोस्रो अर्धशतक पूरा गरे। १५ ओभरको समाप्तिमा मुम्बई १४७ रनको स्थितिमा थियो। 

तर, आर्चरले पुनः घातक बलिङ गर्दै १५ बलमा ३४ रन बनाएका हार्दिकलाई आउट गरे भने यशराजले कोर्बिन बोसलाई २ रनमा पेभेलियन फर्काए। बर्गरले उत्कृष्ट ब्याटिङ गरिरहेका सूर्यकुमारलाई ६० रनमा क्याच एन्ड बोल्ड गरेपछि मुम्बईको जितको आशा समाप्त भयो। ब्रिजेशले दीपक चाहर (८ रन) लाई आउट गरेपछि मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि जोफ्रा आर्चरले १७ रन दिएर ३ विकेट लिए भने ब्रिजेश शर्मा, नान्द्रे बर्गर र यशराज पुञ्जाले २–२ विकेट बाँडे।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले उत्कृष्ट ब्याटिङको मद्दतले ८ विकेटको क्षतिमा २०५ रनको बलियो योगफल तयार पारेको थियो। शीर्ष क्रमको कमजोर सुरुवातका बाबजुद तल्लो क्रमका ब्याटरहरूको उत्कृष्ट प्रदर्शनका कारण राजस्थानले २०० रनको आँकडा पार गर्‍यो। जोफ्रा आर्चरले १५ बलमा ३२ रनको आक्रामक इनिङ्स खेले भने रवीन्द्र जडेजा (१९ रन) र नान्द्रे बर्गर (१० रन) ले अविजित रहँदै टोलीलाई विशाल स्कोरसम्म पुर्‍याए।

राजस्थानका लागि यशस्वी जयसवाल र वैभव सूर्यवंशीले ओपनिङ गरेका थिए। मुम्बईका दीपक चाहर र विल ज्याक्सले कसिलो बलिङ गर्दै सुरुवाती दबाब बनाए। ज्याक्सले २७ रन बनाएका जयसवाललाई आउट गर्दै पहिलो सफलता दिलाए। 

लगत्तै अर्को ओभरमा चाहरले लयमा रहेका सूर्यवंशीलाई ४ रनमै आउट गरेपछि राजस्थान ३३ रनमा २ विकेट गुमाएर संकटमा पर्‍यो। कप्तान रियान पराग पनि १४ रन बनाएर आउट भएपछि पावरप्लेमा टोलीको स्कोर ५४ रन पुग्यो।

त्यसपछि ध्रुव जुरेल र दासुन शनाकाले इनिङ्स सम्हाल्दै १० ओभरमा टोलीलाई ९४ रनसम्म पुर्‍याए। शनाका १५ बलमा २९ रन बनाएर रनआउट भए। जुरेलले एएम गजनफरको ओभरमा १५ रन प्रहार गर्दै दबाब सिर्जना गरे पनि कोर्बिन बोसको बलमा ३८ रन बनाउँदै आउट भए। 

अन्तिम ओभरहरूमा दीपक चाहरले डोनोभान फरेरा (१८ रन) लाई आउट गरे पनि जोफ्रा आर्चरले १ चौका र ३ छक्का प्रहार गर्दै १५ बलमा ३२ रन जोडे। अन्त्यमा जडेजा र बर्गरले १२ बलमा ३० रनको साझेदारी गर्दै टोलीको स्कोर २०५ पुर्‍याए। 

मुम्बईका लागि दीपक चाहर र सार्दुल ठाकुरले २–२ विकेट लिए भने विल ज्याक्स, एएम गजनफर र कोर्बिन बोसले १–१ विकेट हात पारे।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप