मन्त्रिपरिषद् बैठकमै थिए राय, साँझमै गुम्यो मन्त्री पद
सारांश
- मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जंगीलाल रायको पद गुमेको छ ।
- चार घण्टासम्म चलेको मन्त्रिपरिषद् बैठकमा सहभागी रायलाई बैठक सकिएपछि मुख्यमन्त्रीले पद छाड्न आग्रह गरेका थिए ।
- पार्टीभित्रको असन्तुष्ट समूहलाई समेट्नुपर्ने भन्दै सभापति गगन थापाको निर्देशनमा रायलाई हटाएर नागेन्द्र साहलाई मन्त्री बनाइएको हो ।
सर्लाही । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जंगीलाल रायको पद गुमेको छ । अन्तिम समयसम्म आफू मन्त्री पदमै कायम रहने विश्वासमा रहेका रायलाई मंगलबार साँझ अचानक पद छाड्न भनिएपछि उनी झस्किएका थिए ।
करिब चार घण्टासम्म चलेको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका राय बैठकभर सामान्य र सहज देखिएका थिए । सरकार विस्तार, मन्त्रालय बाँडफाँट र आगामी कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहँदा पनि आफूलाई हटाइने सङ्केत उनले पाएका थिएनन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको निकट सम्बन्ध र आपसी विश्वासका कारण पनि उनले आफ्नो पद सुरक्षित रहेको ठानेका थिए ।
तीनदलीय सत्ता गठबन्धन निर्माणमा सक्रिय भूमिका खेलेका नेपाली कांग्रेस सभापति गगन थापाले मुख्यमन्त्री यादवकै नेतृत्वमा सरकार अगाडि बढ्ने सार्वजनिक सङ्केत गरिसकेपछि कांग्रेसबाट मन्त्री परिवर्तन नहुने आकलन रायले गरेका थिए । प्रदेशसभामा दलगत हैसियतअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय पाउने लगभग निश्चित भइसकेको अवस्थामा पनि उनलाई मन्त्रालय परिवर्तनसम्म हुन सक्ने तर सरकारबाटै बाहिरिनु नपर्ने विश्वास थियो ।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक सकिएपछि भने मुख्यमन्त्री यादवको व्यवहारमा अचानक परिवर्तन आएको थियो । पहिलेझैँ सहज संवाद नगरेपछि रायले राजनीतिक ‘सन्देश’ बुझिसकेका थिए । त्यसको केही समयपछि मुख्यमन्त्री यादवले उनलाई पार्टीभित्र असन्तुष्ट समूहलाई समेट्नुपर्ने भन्दै पद छाड्न आग्रह गरेका थिए ।
कांग्रेसभित्र केही समययता असन्तुष्ट प्रदेशसभा सदस्यहरूको समूह सक्रिय देखिँदै आएको थियो । उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वसँग पटक–पटक छलफल गरेका थिए । सोही समूहका तर्फबाट सरकारमा प्रतिनिधित्वको मागसमेत गरिएको थियो । केही दिनअघि बर्दिबास भ्रमणका क्रममा सभापति थापासँग भएको भेटमा असन्तुष्ट सांसदहरूले मन्त्रिपरिषद्मा आफ्नो पक्षबाट एकजनालाई सहभागी गराउन दबाब दिएका थिए ।
स्रोतका अनुसार मंगलबार अपराह्न सभापति थापाले मुख्यमन्त्री यादवलाई टेलिफोनमार्फत रायलाई हटाएर नागेन्द्र साह लाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाउन निर्देशन दिएका थिए । मुख्यमन्त्री यादवले केही दिन समय मागे पनि सभापति थापाले सोही दिन शपथ गराउन आग्रह गरेपछि निर्णय तत्काल कार्यान्वयन गरिएको बताइएको छ ।
त्यसपछि साँझ नै नागेन्द्र साहले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । साहलाई कांग्रेसभित्र सभापति थापानिकट नेताका रूपमा हेरिन्छ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि उनले पार्टीका प्रभावशाली नेताहरूको पक्षमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उता, पूर्वमन्त्री रायमाथि भने विगतदेखि नै आफ्नै क्षेत्रका कांग्रेस उम्मेदवारविरुद्ध भूमिका खेलेको आरोप लाग्दै आएको थियो । सोही विषयमा पार्टीले उनीसँग स्पष्टीकरणसमेत मागेको थियो । पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनसँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन, असन्तुष्ट समूहको दबाब र केन्द्र नेतृत्वको हस्तक्षेप एकैपटक सतहमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण