संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबिच एकता आवश्यक: पम्फा भुसाल
सारांश
- पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएकी छन्।
- उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको र राज्यले नागरिक अधिकार कटौती गर्ने प्रयास गरिरहेको आरोप लगाएकी छन्।
- भुसालले पत्रकारहरूको पेसागत सुरक्षा र व्यावसायिक हितका लागि विभिन्न सङ्गठनहरूले साझा एजेन्डामा सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबिच पुनः एकता आवश्यक रहेको बताएकी छन्। नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गरेकी हुन्।
नेतृ भुसालले ऐतिहासिक आन्दोलनहरूमा पत्रकार जगतले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै प्रेस स्वतन्त्रता कुनै दल विशेषको मात्र नभई नागरिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ भएको बताइन्। उनले पछिल्लो समय राज्यका तर्फबाट प्रेस स्वतन्त्रता र नागरिक अधिकार कटौती गर्ने प्रयास भइरहेको आरोपसमेत लगाइन्। मिडियालाई लोककल्याणकारी विज्ञापनबाट वञ्चित गर्ने र सङ्कुचित पार्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसलाई ‘प्रति–क्रान्तिको चुनौती’ को संज्ञा दिइन्।
कार्यक्रममा बोल्दै उनले भनिन्, ‘नेपाली जनताले पटक–पटक गरेका आन्दोलन र बलिदानकै जगमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका हौँ । यस उपलब्धिमा प्रेस युनियनलगायत सङ्घसंस्थाहरूको योगदान अतुलनीय छ । हिजोको निरङ्कुश पञ्चायती व्यवस्थामा जस्तो सेन्सरसिप नभए पनि अहिले फरक प्रकृतिको त्रासको स्थिति सिर्जना गर्न खोजिएको छ । विज्ञापन रोकेर प्रेसलाई आर्थिक रूपमा कमजोर बनाउनु त्यसकै एउटा कडी हो ।’
सूचना प्रविधिको विकाससँगै पत्रकारितामा अल्गोरिदम र डिपफेक जस्ता प्राविधिक चुनौती थपिएको उल्लेख गर्दै नेत्री भुसालले यस्ता समस्याको सामना गर्न प्रेस जगत थप जिम्मेवार र व्यावसायिक हुनुपर्नेमा जोड दिइन्। साथै, पत्रकारहरूको पेसागत सुरक्षा, श्रमको सम्मान र व्यावसायिक हितका लागि नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी लगायतका सबै सङ्गठनहरूले साझा एजेन्डामा सहकार्य गर्नुपर्ने उनको धारणा छ।
नेतृ भुसालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरू फेरि एक ठाउँमा उभिएर प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने बेला आएको बताइन्। प्रेस युनियनको विधान अधिवेशनले समयसापेक्ष नीति निर्माण गर्दै देश र लोकतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत उनले व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण