सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

पाँच वर्षदेखि जग्गा प्राप्तिमा अल्झिएको उजिरसिंह प्रादेशिक रङ्गशाला निर्माण कार्य बल्ल सुरु

बिहीबार, १४ जेठ २०८३, १० : २१
बिहीबार, १४ जेठ २०८३

सारांश

  • पाँच वर्षदेखि जग्गा प्राप्तिको समस्याका कारण रोकिएको बुटवलस्थित उजिरसिंह प्रादेशिक रङ्गशाला निर्माण कार्य अन्ततः सुरु भएको छ ।
  • संघीय सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि लुम्बिनी प्रदेश सरकारले ठेक्का प्रक्रिया अघि बढाएर रङ्गशालाको निर्माण कार्य सुरु गरेको हो ।
  • हाल कम्पाउण्ड वाल तथा फुटबल ग्राउण्ड निर्माणको काम ८ करोड ५२ लाख रुपैयाँको बहुवर्षीय ठेक्का सम्झौतामार्फत सुरु गरिएको छ, जसको भौतिक प्रगति ८ प्रतिशत र वित्तीय प्रगति १० प्रतिशत छ ।

बुटवल । लामो समयदेखि जग्गा प्राप्तिको समस्याका कारण रोकिएको बुटवलस्थित उजिरसिंह प्रादेशिक रङ्गशाला निर्माण कार्य अन्ततः सुरु भएको छ । संघीय सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि लुम्बिनी प्रदेश सरकारले ठेक्का प्रक्रिया अघि बढाएर रङ्गशालाको निर्माण कार्य सुरु गरेको हो ।

बुटवल उपमहानगरपालिका–१३ स्थित जबईमा रङ्गशाला बनाउन भन्दै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि निरन्तर बजेट विनियोजन गर्दै आएको थियो । वन क्षेत्रसँग जोडिएको जग्गा प्राप्त हुन नसक्दा निर्माण प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।

हाल लुम्बिनी प्रदेश पूर्वाधार विकास आयोजना मार्फत रङ्गशालामा कम्पाउण्ड वाल तथा फुटबल ग्राउण्ड निर्माणको काम सुरु गरिएको छ ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास आयोजनाबाट रङ्गशाला निर्माण खटिएकी इन्जिनियर प्रमिला श्रेष्ठका अनुसार ८ करोड ५२ लाख रुपैयाँको बहुवर्षीय ठेक्का सम्झौतामार्फत निर्माण कार्य भइरहेको छ । तीन वर्षभित्र फुटबल ग्राउण्ड र कम्पाउण्ड वाल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको उनले बताइन् ।

श्रेष्ठका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार रङ्गशालालाई बहुउपयोगी खेल पूर्वाधारका रूपमा विकास गर्ने योजना भए पनि पहिलो चरणमा कम्पाउण्ड वाल र फुटबल ग्राउण्ड निर्माणको मात्रै ठेक्का गरिएको हो । जसमा अहिले भौतिक प्रगति ८ प्रतिशत र वित्तीय प्रगति १० प्रतिशत भएको उनको भनाइ छ ।

आगामी वर्ष प्रदेश सरकारले थप बजेट विनियोजन गरेपछि क्रिकेट मैदान तथा अन्य खेलकुद पूर्वाधार निर्माणका लागि थप ठेक्का प्रक्रिया अघि बढाइने श्रेष्ठले बताइन् ।

2

बुटवल उपमहानगरपालिका, वन तथा वातावरण शाखाका इन्जिनियर योगेश चापागाईंले नगरपालिकाले रङ्गशालाका लागि जग्गा लिजमा प्राप्त गरेको उल्लेख गर्दै अहिले ठेक्का लागेर निर्माण कार्य भइरहेको जनाए । केही क्षेत्रमा रुख कटानको प्रक्रिया समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । रङ्गशाला निर्माण क्षेत्रभित्र पर्ने १५५ वटा रुख कटान गर्नुपर्ने उनको भनाइ छ ।

वन डिभिजन कार्यालय रुपन्देही अन्तर्गत वन विकास कोषमा रुख कटानका लागि नगरपालिकाबाट वैशाख २६ गते १ करोड ६० लाख २४ हजार रुपैयाँ जम्मा गरिएको छ ।

सरकारी आयोजनाहरू वन क्षेत्रको जग्गामा परेमा त्यसको सट्टा बराबर क्षेत्रफलको जग्गा व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था छ । साथै उपलब्ध गराइने जग्गामा बिरुवा रोप्न र पाँच वर्षसम्म संरक्षण गर्न आवश्यक रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने नियम रहेको बुटवल उपमहानगरपालिकाका वातावरण इन्जिनियर चापागाईँले बताए ।

1

हाल ठेकदार कम्पनीले रुख नभएको क्षेत्रमा पर्खाल निर्माणको काम अघि बढाइरहेको छ भने रुख कटान गर्नुपर्ने क्षेत्रमा प्रक्रिया पूरा भएपछि निर्माण कार्य अगाडि बढाइने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै रङ्गशाला निर्माण प्रक्रिया सुरु गरेको थियो । त्यसयता प्रदेश सरकारले २०७७/०७८ मा ४ करोड, २०७८/०७९ मा ४ करोड, २०७९/०८० मा ५ करोड ५० लाख, २०८०/०८१ मा ४ करोड, २०८१/०८२ मा ३ करोड तथा चालु आर्थिक वर्षमा पनि सोही बराबरको बजेट विनियोजन गरेको छ ।

तीन हेक्टर क्षेत्रफलमा निर्माण हुने रङ्गशालाका लागि २०७६ सालमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गरिएको थियो । उक्त कार्यका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख र बुटवल उपमहानगरपालिकाको ५ लाख रुपैयाँ खर्च गरेको छ ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले संघीय सरकार अन्तर्गत रहेको जग्गाको प्रक्रिया र कानुनी जटिलताका कारण निर्माण सुरु गर्न ढिलाइ भएको बताए । पछिल्लो ऐनअनुसार लिज प्रक्रियामार्फत काम अघि बढाउनुपर्ने व्यवस्था रहेकाले समय लागेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारका खेलकुदमन्त्री सन्तोष पाण्डेयले वन मन्त्रालय हुँदै जग्गा प्राप्तिको प्रक्रिया पूरा गर्न वर्षौं लागेका कारण निर्माण सुरु गर्न ढिलो भएको बताए । जग्गा प्राप्तिपछि अहिले निर्माण कार्य अगाडि बढेको उल्लेख गर्दै उनले स्रोत सुनिश्चित गरी प्रदेश पूर्वाधार प्राधिकरणलाई निर्माणको जिम्मा दिने निर्णय गरिएको जानकारी दिए । उनले अब बजेट अभाव नहुने र बुटवल उपमहानगरपालिकाको सहकार्यले निर्माण कार्यमा कुनै समस्या नआउने दाबी गरे ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले संघीय सरकार अन्तर्गत रहेको जग्गाको प्रक्रिया र कानुनी जटिलताका कारण निर्माण सुरु गर्न ढिलाइ भएको बताए । पछिल्लो ऐनअनुसार लिज प्रक्रियामार्फत काम अघि बढाउनुपर्ने व्यवस्था रहेकाले समय लागेको उनको भनाइ छ ।

संघीय सरकारको मातहतमा रहेको जग्गामा प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्न खोजेका परियोजनाहरूमा ढिलाइ हुने अवस्था देखिएको उनले बताए । उजिरसिंह रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार कुल लागत अनुमान ३७ करोड रुपैयाँ छ ।

4

बुटवलबासी एवं लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्यसचिव जयलाल भट्टराईले उजिरसिंह रङ्गशाला पहिलेदेखि नै स्थानीय स्तरमा क्रिकेट खेलाइने मैदानका रूपमा प्रयोग हुँदै आएको उल्लेख गरे । रङ्गशाला निर्माणपछि फुटबल, क्रिकेट लगायतका खेलका खेलाडी उत्पादनमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए ।

बुटवल, भैरहवा, सैनामैना तथा कपिलवस्तुको चार नम्बर क्षेत्रसम्मका खेलाडीहरूले अभ्यासका लागि यस रङ्गशालाको उपयोग गर्न सक्ने भट्टराईको भनाइ छ । रङ्गशाला प्रवेशका लागि चारवटा प्रवेशद्वार र चारैतर्फ १२ देखि २० हजार दर्शक अट्ने क्षमताको प्याराफिट निर्माण गर्ने गरी डिजाइन गरिएको छ।

5

विशेषगरी फुटबल ग्राउण्ड हुने रङ्गशालामा क्रिकेट, एथलेटिक्स ट्रयाक, भलिबल, बास्केटबल, टेनिस कोर्ट, स्वीमिङ पुल लगायतका संरचना पनि निर्माण गर्ने योजना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप