‘डीडीसीले अब फड्को मार्छ, सुधार गर्नुपर्ने कुरामा निर्मम छौँ’
सारांश
- प्रधानमन्त्री बालेन शाहको एक पोस्टपछि दुग्ध विकास संस्थान (डीडीसी) चर्चामा आएको छ, जसले गर्दा चिजको बिक्री ह्वात्तै बढेको छ।
- डीडीसीले व्यवस्थापकीय सुधारका लागि ६ महिनाको बक्यौतालाई ३ महिनामा झार्ने, 'मिल्क होलिडे'को त्रास चिर्ने र उत्पादनलाई जापान तथा दुबईजस्ता अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य राखेको छ।
- महाप्रबन्धक डा. शरणकुमार पाण्डेले डीडीसी किसानको भरोसाको केन्द्र भएको र विगतका कमजोरीलाई सुधार्दै गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए।
काठमाडौं । पछिल्लो समय व्यवस्थापकीय र आर्थिक संकटबाट गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को याक चिज पोस्टपछि फेरि चर्चामा आएको छ । प्रधानमन्त्रीको पोस्टपछि चिज बिक्री गर्न डीडीसीलाई भ्याइनभ्याई नै छ ।
डीडीसीले व्यवस्थापकीय सुधारका केही काम पनि गरिरहेको छ । ६ महिनाको बक्यौतालाई ३ महिनामा झार्दै, ‘मिल्क होलिडे’को त्रास चिर्दै र उत्पादनलाई अन्तर्राष्ट्रिय बजार (जापान र दुबई) सम्म पुर्याउने लक्ष्य डीडीसीले राखेको छ ।
यसै सन्दर्भमा रातोपाटीको ‘बिजनेस टक’मा डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेसँग कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
- प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा याक चिजको फोटो राखेपछि डीडीसीको चर्चा चुलिएको छ । यसले बजारमा कस्तो प्रभाव पारेको छ ?
प्रधानमन्त्रीज्यूले डीडीसीको याक चिजका सम्बन्धमा जुन पोस्ट गर्नुभयो, यसले संस्थानलाई ठुलो ऊर्जा दिएको छ । पछिल्लो समय संस्थान आर्थिक र व्यवस्थापकीय रूपमा केही कमजोर देखिएको बेला यसले कर्मचारी, व्यवसायी र किसानहरूमा नयाँ उत्साह थपेको छ । सरकारले डीडीसीलाई सकारात्मक रूपमा अघि बढाउन खोजेको सन्देश यसले दिएको छ, जसले हामीलाई थप हिम्मत मिलेको छ ।
- अहिले डीडीसीको समग्र अवस्था कस्तो छ ?
अहिलेको अवस्थालाई सन्तोषजनक मान्नुपर्छ । काठमाडौँ केन्द्रित भएर दैनिक करिब १ लाख लिटर दुधको बजारीकरण गरिरहेका छौँ । हामीसँग संकलन र बिक्रीलाई दोब्बर बनाउन सक्ने क्षमता छ । विगतका समस्या र चुनौतीहरूलाई चिर्दै उपभोक्तामाझ डीडीसीका गुणस्तरीय उत्पादन पुर्याउन हामी उत्साहित भएर लागेका छौँ ।
किसानको भुक्तानी मुख्य विषय हो । विगतमा ६ महिनासम्म भुक्तानी रोकिएको यथार्थ हो । तर अहिले हामीले खर्च कटौती गरेर र बजार विस्तार गरी राजस्व संकलन बढाएका छौँ ।
- डीडीसी बिरामी छ र यसमा धेरै सुधारको खाँचो छ भनिन्छ, चुनौतीहरू के–के छन् ?
म समस्यालाई अवसरको रूपमा लिन्छु । यो करिब ३ लाख किसानहरूको भरोसाको केन्द्र हो । उपभोक्ता र किसानबिचको पुलको काम डीडीसीले गरिरहेको छ । विगतमा व्यवस्थापकीय कमजोरी र बजार सुनिश्चित नहुँदा केही कठिनाइ पक्कै भएका हुन्, तर अब हामी यसलाई पहिलेको भन्दा अझ बलियो, आकर्षक र सबैको मनमा बस्ने गरी अगाडि लैजाने दृढ विश्वासमा छौँ ।
- किसानको पैसा समयमा दिएन, भुक्तानी बाँकी छ भन्ने ठुलो आरोप छ, यसलाई कसरी सुल्झाउँदै हुनुहुन्छ ?
किसानको भुक्तानी मुख्य विषय हो । विगतमा ६ महिनासम्म भुक्तानी रोकिएको यथार्थ हो । तर अहिले हामीले खर्च कटौती गरेर र बजार विस्तार गरी राजस्व संकलन बढाएका छौँ । ६ महिनाको बक्यौतालाई अहिले ३ महिनामा झारेका छौँ । मैले पद सम्हालेपछि मात्रै २० करोड रुपैयाँ भुक्तानी गरिसकेका छौँ । किसानको भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।
- डीडीसीले बजार खोज्न नसकेको र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको गुनासो छ, अन्तर्राष्ट्रिय बजारको योजना के छ ?
विगतमा बजारमा केही कमी देखिएकै हो । तर अब हामी गुणस्तरीय उत्पादनसहित प्रतिस्पर्धी बन्दैछौँ । जापान र दुबई जस्ता देशहरूमा हाम्रा उत्पादन निर्यात गर्न सम्पर्क भइरहेको छ । केही निर्यात प्रोटोकलहरू पूरा गरेपछि निकट भविष्यमै हाम्रा उत्पादन विदेश पुग्नेछन् । अहिले डीडीसीको उत्पादनको माग अत्यधिक बढेको छ ।
हामीसँग भएका मेसिनहरू केही पुराना भए पनि ती अन्तर्राष्ट्रिय स्तरका र गुणस्तरीय छन् । अब हामी अटोमेसनमा जाने योजनामा छौँ ।
- दुधको मूल्य महँगो भयो, चिसो पेय पदार्थ भन्दा महँगो भयो भन्ने उपभोक्ताको गुनासोलाई कसरी हेर्नुहुन्छ ?
किसानको उत्पादन लागतलाई पनि हेर्नुपर्छ । दाना, घाँस र ढुवानी खर्च बढ्दा किसानको स्तरमा दुधको मूल्य धेरै महँगो छैन । दुधमा पाइने पौष्टिक तत्त्व र स्वास्थ्यका लागि हुने फाइदालाई हेर्दा चिसो पेय पदार्थसँग यसको तुलना हुन सक्दैन । बाहिरका उत्पादन भन्दा डीडीसीको उत्पादन अझै सस्तो र गुणस्तरीय छ ।
- निजी क्षेत्र आधुनिक प्रविधिमा गइसक्यो, डीडीसीका मेसिनहरू पुराना भए र कर्मचारी दरबन्दीको अवस्था पनि भद्रगोल छ भनिन्छ नि ?
हामीसँग भएका मेसिनहरू केही पुराना भए पनि ती अन्तर्राष्ट्रिय स्तरका र गुणस्तरीय छन् । अब हामी अटोमेसनमा जाने योजनामा छौँ । कर्मचारीको हकमा एक हजार जनाको दरबन्दीमा करिब ५०० मात्र कर्मचारी छन् । तर हामी थोरै कर्मचारीबाट धेरै आउटपुट लिने गरी व्यवस्थापन गरिरहेका छौँ । बजार केन्द्रित भएर कर्मचारीलाई तालिम दिई परिचालन गर्नेछौँ ।
- डीडीसीमा ११ वर्षमा १२ जना महाप्रबन्धक फेरिएका छन्, यस्तो अस्थिरताले संस्थालाई कस्तो असर गर्छ ?
नेतृत्व परिवर्तन हुनु सामान्य प्रक्रिया हो, तर मुख्य कुरा संस्थाको उद्देश्य प्राप्ति हो । नेतृत्वमा जो आए पनि उसले दिने नतिजा महत्त्वपूर्ण हुन्छ । विगतमा कमजोरीहरू देखिए पनि अब जसको नेतृत्व रहेपनि डीडीसीलाई अगाडि बढाउने र यसको साख जोगाउने गरी हामी सबैको एउटै सोच र हिम्मत हुनुपर्छ ।
यदि कसैको दुध बिकेन भने डीडीसीलाई दिनुहोस्, हामी व्यवस्थापन गर्छौँ । ‘मिल्क होलिडे’ हुने अवस्था आउन दिँदैनौँ ।
- धुलो दुध र बटरको मौज्दात धेरै भयो, म्याद नाघ्न लाग्यो भन्ने चर्चा थियो । अहिलेको अवस्था के छ ?
४–५ अर्बको कारोबार हुने संस्थामा केही मौज्दात हुनु स्वाभाविक नै हो । हाम्रो आन्तरिक खपतका लागि ४–५ सय टन धुलो दुध र ३–४ सय टन बटर चाहिन्छ । अहिले करिब ८०–९० करोडको मौज्दात छ जुन हाम्रै लागि आवश्यक छ । त्यसैले यसलाई समस्याको रूपमा लिनु पर्दैन ।
- कृषिमा लागेका युवाहरूमा ‘मिल्क होलिडे’ को त्रास छ, किसानको दुध बिक्री हुँदैन कि भन्ने चिन्ता कसरी मेटाउनुहुन्छ ?
यदि कसैको दुध बिकेन भने डीडीसीलाई दिनुहोस्, हामी व्यवस्थापन गर्छौँ । ‘मिल्क होलिडे’ हुने अवस्था आउन दिँदैनौँ । माग र आपूर्तिलाई व्यवस्थापन गरेर हामी काम गर्छौँ । डीडीसी सधैँ किसानको पक्षमा छ ।
किसानहरूलाई म भन्न चाहन्छु- नडराउनुहोस्, डीडीसी र सरकार तपाईँको साथमा छ ।
- भारतीय सीमाबाट अवैध रूपमा दुध भित्रिँदा नेपाली किसान मारमा परेको गुनासो छ नि ?
सरकारले अहिले सीमानाकामा कडाइ गरेको छ । अवैध रूपमा दुध भित्र्याउनेहरूलाई कारबाही हुनुपर्छ । यसमा सरकारले सक्रियता देखाइरहेको छ र हामी पनि सचेत छौँ ।
- हालै पनौतीबाट आएको करिब ३ हजार लिटर अखाद्य दुध नष्ट गरिएको थियो, यस्तो समस्या कसरी रोक्नुहुन्छ ?
मलाई सूचना मिल्नेबित्तिकै मैले ल्याब र आयोजना प्रमुखलाई जाँच गर्न निर्देशन दिएको थिएँ । जाँच गर्दा अखाद्य देखिएपछि तत्काल नष्ट गरियो । हामी उपभोक्ताको स्वास्थ्यप्रति निकै संवेदनशील छौँ । गुणस्तरमा सम्झौता गर्ने जोकोहीलाई पनि कारबाही हुन्छ । व्यापार भन्दा उपभोक्ताको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।
- किसान र उपभोक्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
किसानहरूलाई म भन्न चाहन्छु- नडराउनुहोस्, डीडीसी र सरकार तपाईँको साथमा छ । गुणस्तरीय दुध उत्पादन गर्नुहोस् । उपभोक्ताहरूलाई मेरो आग्रह छ- डीडीसीको उत्पादनमा ढुक्क हुनुहोस् । हामी नाफा कमाउन भन्दा पनि सेवा दिन र गुणस्तरीय वस्तु उपलब्ध गराउन प्रतिबद्ध छौँ । कुनै गुनासो भए सिधै हामीलाई खबर गर्नुहोस् ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण