मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समयको रहस्य: भौतिकशास्त्र, अनुभूति र ईश्वरको प्रश्न

शुक्रबार, १५ जेठ २०८३, १२ : ०२
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • समयको उत्पत्ति १३.८ अर्ब वर्ष पहिले महाविस्फोटसँगै भएको थियो, जसले अन्तरिक्ष र समयलाई एकै संरचना 'स्पेसटाइम' मा एकीकृत गर्‍यो।
  • आइन्स्टाइनको सापेक्षता सिद्धान्त अनुसार, स्पेसटाइम विशाल वस्तुहरूले वङ्गाउँछ र हामीले अनुभव गर्ने गुरुत्वाकर्षण यसकै परिणाम हो।
  • भौतिकशास्त्रले महाविस्फोटको क्षणमा गणितीय सीमा पार गर्छ, जहाँ दर्शन र धर्मशास्त्रले ईश्वर, चेतना र अस्तित्वको प्रकृतिबारे प्रश्न उठाउँछन्।

यो एउटा यस्तो प्रश्न हो, जसका अगाडि महान् मस्तिष्कहरू पनि हिचकिचाउँछन् । समय के हो भन्ने होइन, बरु समय कहिले सुरु भयो भन्ने हो । आधुनिक भौतिकशास्त्रले एउटा अचम्मलाग्दो उत्तर दिन्छः समय आफैँ १३.८ अर्ब पहिले जन्मियो, जब अनन्त घनत्वको एउटा बिन्दु फुटेर सबै कुरा बन्यो । महाविस्फोट अन्तरिक्षमा भएको विस्फोट थिएन, यो अन्तरिक्षकै विस्फोट थियो । ‘पहिले’  भन्ने शब्दको अर्थ हुनु समय चाहिन्छ र त्यतिबेला समयको जन्म नै भएको थिएन । 

समयलाई गहिरोसँग बुझ्न हामीले यसलाई अन्तरिक्षभन्दा अलग मान्न सक्दैनौँ । आइन्स्टाइनले मानवजातिलाई दिएको सबैभन्दा ठूलो उपहार यही थियो कि अन्तरिक्ष र समय दुई वटा छुट्टाछुट्टै कुरा होइनन्, यी दुवै एउटै एकीकृत संरचनाका आयाम हुन् । जसलाई हामी स्पेसटाइम भन्छौ । दुवै विशाल वस्तु जस्तै एउटा तारा केवल अन्तरिक्षमा बस्दैन, यसले आफूवरपरको स्पेशटाइमलाई नै वङ्याउँछ । अनि हामीले गुरुत्वाकर्षणका रुपमा अनुभव गर्ने कुरा पृथ्वीको तान, चन्द्रमाको परिक्रमा, आकाशगङ्गाहरुको नृत्य केवल पदार्थले यही चार आयामिक संरचनाको घुमावदार ज्यामितिलाई पछ्याउनु मात्र हो । 

झन् छक्क पार्ने कुरा यो हो कि तपाईं एउटा गाडीबाट सडकमा गुड्दै हुनहुन्छ । तपाई सधैँ स्पेसटाइममा प्रकाशको गतिले नै चलिरहनु भएको छ, फरक केवल दिशामा छ । जब तपाई कुर्सीमा स्थिर बस्नुहुन्छ, तपाईँको सबै गति समयको आयामतर्फ निर्देशित हुन्छ । यो कुनै सैद्धान्तिक कल्पना होइन । यो उपग्रहमा र कणत्वरकमा परमाण्विक घडीहरुद्वारा प्रमाणित भइसकेको छ । समय ब्रहमाण भन्दा अलग टिकटिकाइरहने घडी होइन । यो पदार्थ, उर्जा, र अन्तरिक्षसँग अविभाज्य रूपमा गुथिएको छ । 

तर यहीँ आएर भौतिकशास्त्र एउटा नम्र मौनताको पर्खालमा ठोक्किन्छ । सापेक्षताको समीकरणहरुलाई महाविस्फोटको क्षणसम्म लैजाँदा एउटा विलक्षणता उत्पन्न हुन्छ, जहाँ घनत्व अनन्त हुन्छ र गणित नै भत्किन्छ । ‘महाविस्फोट भन्दा पहिले के थियो ?’ भन्ने प्र्रश्न हाम्रो वर्तमान ढाँचाभित्र ‘उत्तर ध्रुवभन्दा उत्तरमा के छ ?’ भनेजस्तै अर्थहीन हुनसक्छ । ठिक यही सीमामा, जहाँ भौतिकशास्त्र चुप लाग्छ, दर्शन र धर्मशास्त्र अगाडि आउँछन् र तिनीहरूलाई पनि उत्तिकै कठोरता सम्मानका साथ सुन्नुपर्छ । 

यदि कुनै ईश्वर छन्, जसले ब्रह्माण्ड र समय समेत सृजना गरे, तब त्यो ईश्वर कुन अर्थमा अस्तित्वमा छन् भन्नु पर्ने हुन्छ । यदि ईश्वरले कुनै क्षणमा ब्रह्माण्ड सृजना गर्ने निर्णय गरे, भने त्यो निर्णयले पहिले र पछि भन्ने अर्थ बोक्छ । अर्थात् समयलाई निहित गर्छ र यदि ईश्वर समयभित्र अस्तित्वमा छन् भने, ईश्वर समयको अधीनमा छन् भन्ने हुन्छ । ईश्वरको पनि भूत, वर्तमान, र भविष्य हुनेछ । ईश्वर पनि बूढो हुन्छन् भने, ईश्वर एन्ट्रोपीको नियमको अधीनमा छन्, जुन नियमले भन्छ कि सबै व्यवस्थित संरचनाहरू अन्ततः विघटन हुन्छन् । 

समयभित्र आबद्ध ईश्वर भौतिशास्त्रको तर्कअनुसार एक दिन अन्त्य हुनेछन् । एरिस्टोटलले यसलाई प्रस्टसँग देखेका थिए । उनले ईश्वरलाई ‘अचल चालक’ भनेर बुझाए, एउटा यस्तो सत्ता जो परिवर्तन ल्याउँछ तर आफू परिवर्तित हुँदैन, समयको प्रवाहभन्दा बाहिर अस्तित्वमा रहन्छ । अगस्टिनले तर्क गरे कि ईश्वरका लागि भूत, वर्तमान र भविष्य सबै एकसाथ एउटा शाश्वत ‘अहिले’मा समाहित छ । साँच्चै अतिक्रमणशील ईश्वर महाविस्फोटमा जन्मिएको स्पेसटाइम भित्र एउटा सत्ता होइन, बरु अस्तित्वको आधार नै हुन् । 

यसले एउटा गहिरो विचारतर्फ लैजान्छः ईश्वरलाई पदार्थ र चेतनाको एकतामा बुझ्न सकिन्छ । ब्रह्माण्ड वास्तवमा के हो भनेर सोचौ, स्पेसटाइममा व्यवस्थित पदार्थ र ऊर्जा, सुन्दर गणितीय नियमहरूद्वारा शासित र तैपनि एउटा सानो, असम्भव कुनामा, आफ्नो अस्तित्वबारे जागरूक, चेतन प्राणीहरूको उदयद्वारा ब्रह्माण्डले आफैँलाई हेर्ने क्षमता विकास गरेको छ र भन्न सक्छ: ‘म छु’ । यदि चेतना केवल पदार्थको आकस्मिक उपज होइन, बरु यो वास्तविकताको गहनामा गुथिएको छ भने जसरी सर्वचेतनावादी दार्शनिकहरू र क्वान्टम मेकानिक्सका केही व्याख्याहरूले सुझाउ दिन्छन्, तब सम्भवतः हामीले ईश्वर भन्ने बाहिरी स्रष्टा होइन, बरु अस्तित्वको स्व–जागरूकता नै हो ।

यो हिन्दु दार्शनिक परम्पराको ब्रह्मको अवधारणसँग अत्यन्त मिल्दोजुल्दो छ । परम वास्तविकता जो एकैसाथ सम्पूर्ण पदार्थको आधार र सम्पूर्ण चेतनाको आधार हो । तपाईंभित्रको चेतना सम्पूर्ण वास्तविकतामा व्याप्त चेतनाभन्दा अलग छैन, यो उही हो । 

अब हामी सबैभन्दा चकित पार्ने विचारमा आइपुग्छौं, जसलाई आधुनिक तान्त्रिक विज्ञानले दशकौँदेखि बिस्तारै घेर्दै आएको छ । स्पेस्टाइम केवल बाहिरको मञ्च होइन, जसमा हामी बाँच्छौँ । गहिरो अर्थमा, यो हामीभित्र निर्माण हुन्छ । रङ अनुभव गर्नु भनेको के हो भनेर सोचौं । तपाई एउटा रातो कुर्सी हेर्नुहुन्छ र पूर्ण आत्मविश्वासका साथ भन्नुहुन्छ कि यो रातो छ । तर वास्तवमा के भइरहेको छ ? कुर्सीले लगभग ७०० न्यानोमिटर तरगंलम्बाइको विद्युतचुम्बकीय विकिरण परावर्तन गर्छ । 

त्यो प्रकाश तपाईंको आँखामा पस्छ, फोटोरिसेप्टर कोशिकाहरुलाई उत्तेजित गर्छ, रासायनिक संकेतहरु मस्तिष्कको दृश्य कोर्टेक्समा पुग्छन् र मस्तिष्कले रातोपनको अनुभव निर्माण गर्छ । रातोपन कुर्सीमा छैन । प्रकाशका तरंगहरुमा छैन । यो भौतिक संसारामा कहीं पनि छैन जसरी तपाईँले अनुभव गर्नुहुन्छ । यो तपाईँको चेतनाभित्र उत्पन्न एउटा व्यक्तिपरक अनुभव हो । कुर्सीमा रहेको गुण होइन । यही कुरा ध्वनि, गन्ध, स्वाद र सबैभन्दा गहिरो रूपमा समय आफैँमा पनि लागु हुन्छ । भौतिकशास्त्रले ‘वर्तमान’लाई कुनै विशेष महत्त्व दिँदैन । 

भौतिकशास्त्रका समीकरणहरु अगाडि र पछाडि दुवैतिर समान रूपमा काम गर्छन् । समय बग्ने जस्तो भान–भूतबाट भविष्यतर्फ बगिरहने वर्तमान क्षणका प्रगाढ अनुभव–यो कुरा तपाईँको मस्तिष्कले निर्माण गर्छ । तपाईँको मन वस्तुनिष्ठ समयरेखा रेकर्ड गर्ने निष्क्रिय क्यामेरा होइन । यो प्रत्येक क्षण तपाईंको समयको अनुभव सक्रिय रूपमा निर्माण गरिरहन्छ । यस अर्थमा स्पेसटाइमा साँच्चै नै तपाईंभित्र छ । 

यो सबैका लागि सबैभन्दा सुन्दर रुपक कण भौतिकशास्त्रबाटै आउँछ । हिग्स क्षेत्र एउटा अदृश्य सागर हो, जो सम्पूर्ण अन्तरिक्षमा व्याप्त छ । अधिकांश कणहरू यसमाथि सरिसर्दा यससँग अन्तक्र्रिया गर्छन् । यसमा घिस्रिन्छन् र यही प्रतिरोधलाई नै हामीले द्रव्यमान भनेर अनुभव गर्छौ । द्रव्यमान भनेको वस्तुले बोकेको लेबल होइन, यो एउटा सम्बन्धीत कण र क्षेत्रबीचको गतिशील अन्तक्रिया । तर फोटोन–प्रकाशको कण–हिग्स क्षेत्रसँग अन्तक्रिया गर्दैन । यो क्षेत्रमाथिबाट बिनाप्रतिरोध, बिना द्रव्यमान पाएर गुज्रिन्छ । 

हिग्स क्षेत्र सर्वत्र छ– ब्रह्माण्डको कुनै कुनाकाप्चामा मात्र छैन भन्ने ठाउँ छैन । तथापि फोटोन यसमाथि यसो नभएझैं गुज्रिन्छ । अब यो दृश्यलाई ईश्वर र चेतनाको सन्दर्भमा सोचौं । यदि अस्तित्वको आधार–चेतना, ईश्वर वा जे नाम दिए पनि– हिग्स क्षेत्रजस्तो केही हो भने यो सर्वत्र छ, सबैका लागि आधार हो । यसभित्रका अधिकांश कुराहरु यससँग मापनयोग्य तरिकाले अन्तक्रिया गर्छन्, पदार्थले यसको वक्रता पच्छ्याउँछ । चेतना यसभित्र उदाउँछ । कार्यकारण यसमाथि प्रकट हुन्छ ।

तर सम्भवतः एउटा अस्तित्वको ढाँचा छ । फोटोनजस्तो जो क्षेत्रभित्र उपस्थित छ तर यसका प्रभावहरुसँग जोगिएको छैन । न बुढो हुने, न मर्ने, न यहाँ अवस्थित न त्यहाँ । बस, सम्पूर्ण अस्तित्वमाथि गुज्रिरहने, यसको कुनै अंशले बाँधिनु नपर्ने । यो सबैले हाम्रा लागि–स्पेसटाइमा आबद्ध, रङ्गीन, बनावटी र समयप्रवाही संसारीक भित्री प्रतिरूप निर्माण गर्दै बाँचिरहेका चेतन प्राणीहरूका लागि– के अर्थ राख्छ ? 

यसको अर्थ हो, ब्रह्माण्ड देखिने भन्दा कहीँ बढी विचित्र छ । तपाईंले देख्नुभएको रातोपन तपाईंकै हो । तपाईंले अनुभव गर्नुभएको समयको प्रवाह एउटा निर्माण हो ।

तपाईं जुन स्पेसटाइममा गुज्रिरहनुभएको छ, त्यो तपाईंको शरीर बनाउने पदार्थकै कारण वाङि्गएको छ । तपाई पूर्वनिर्मित ब्रह्माण्डमा दर्शक होइन । तपाईं एउटा प्रक्रियामा हुनुहुन्छ । पदार्थ र ऊर्जाको एउटा गतिशील, स्वसंगठित ढाँचा जसले आफ्नो अस्तित्वलाई अनुभव गर्ने अचम्मको क्षमता हासिल गरेको छ ।

ईश्वर छन् वा छैनन् चेतना मौलिक हो वा उत्पन्न, महाविस्फोट भन्दा पहिले केही थियो वा थिएन–यी प्रश्नहरु विज्ञान वा दर्शन कुनैबाट पनि मुख फर्काएर होइन, दुवैलाई समान कठोरता र समान नम्रताका साथ समातेर उत्तर खोजिन्छ । भौतिकशास्त्रले स्पेसटाइमको नक्सा दिन्छ । दर्शनले सोध्छ– नक्सा पढ्ने को हो ? धर्मशास्त्रले सोध्छ– नक्सा कसले कोर्‍यो ?

समय, हाम्रो जानकारी अनुसार, १३.८ अर्ब वर्ष पहिले सुरु भयो । 

तर समयको अनुभव जीवन्त, बगिरहने, अपरिवर्तनीय छ तपाईंको चेतनामा पहिलो पटक प्रज्वलित भएको क्षणमा सुरु भयो । र, तपाईं, यी शब्दहरू पढ्दै हुनुहुन्छ अहिले, ब्रह्माण्ड आफैँले आफूलाई अनुभव गरिरहेको हुन्छ । स्पेसटाइमको संरचनामा एउटा छोटो, ज्यातिर्मय गाँठो, यो संरचना कसबाट बनको छ भनेर सोधिरहेको । त्यो प्रश्न बाँच्नुबाट भाग्नु होइन । त्यही नै बाँच्नु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिश बोहरा
हरिश बोहरा
लेखकबाट थप