बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजावादी पार्टीमा विभाजन

राप्रपा परित्यागपछि के गर्दैछन् धवलशमशेर ? मलमासले रोकियो नयाँ पार्टी घोषणा

सोमबार, १८ जेठ २०८३, १५ : ५८
सोमबार, १८ जेठ २०८३

सारांश

  • राप्रपा महामन्त्री धवल शमशेर राणाले राजेन्द्र लिङ्देनबाट राष्ट्रवादी आन्दोलन अघि बढ्न नसक्ने भन्दै पार्टी परित्याग गरी नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरेका छन्।
  • राणाले पार्टी त्यागेपछि नयाँ पार्टी निर्माणका लागि देशभित्रका राष्ट्रवादी शक्तिहरूसँग संवाद गरिरहेका छन् र आन्तरिक बैठक तथा दस्ताबेज लेखनमा जुटेका छन्।
  • नयाँ पार्टीको घोषणा मलमासका कारण केही ढिलाइ हुने भएको छ र जेठ २१ गते पत्रकार सम्मेलन गरी योजना सार्वजनिक गर्ने तयारी छ।

काठमाडौँ । अध्यक्ष राजेन्द्र लिङ्देनबाट अब राष्ट्रवादी आन्दोलन अघि बढ्न नसक्ने जिकिर गर्दै राप्रपा महामन्त्री धवल शमशेर राणाले नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। उनले आइतबार एक विज्ञप्ति जारी गर्दै आफू नयाँ बाटो लागेको घोषणा गरेका थिए।

राणाले पार्टी परित्याग गरेसँगै राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाभित्र तरंग उत्पन्न भएको छ भने आगामी दिनमा हुनसक्ने सम्भावित क्षतिलाई रोक्न नेतृत्व दौडधुपमा लागेको छ।  सोहीअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदाधिकारीको अनौपचारिक बैठक बोलाएको एक नेताले बताए ।

 उता राणा भने पार्टी परित्याग गरेसँगै नयाँ पार्टी निर्माणका लागि होमवर्कमा जुटेका छन्। राणासँगै नयाँ अभियानमा होमिएका नेता दिलनाथ गिरीले अबको बाटो राप्रपासँगको बार्गेनिङ नभएर पूर्ण रूपमा नयाँ शक्ति निर्माणको हुने बताए। राप्रपामा नेतृत्वको अकर्मण्यता र पुरानै अनुहारको हालीमुहालीका कारण जनताले विकल्प खोजेको र सोही विकल्प आफूहरू बन्ने गिरीको दाबी छ।

नेता गिरीले देशले अहिले पनि बलियो राष्ट्रवादी शक्ति खोजिरहेको जिकिर गरे। 'धेरै पार्टीहरू परीक्षण भए र ती सबै फेल खाए। बालेन साहको उदय हुनु भनेको अहिलेको बहुदलीय व्यवस्था र पुराना लिगेसी बोक्नेहरूका लागि जनताको थप्पड हो,' पूर्वमन्त्रीसमेत रहेका गिरीले सोमबार रातोपाटीसँग भने, 'हामीले जुन लक्ष्य राखेका थियौँ, त्यहाँ पुग्न सकेनौँ। राप्रपा पनि यो असफलताबाट अछुतो रहन सकेन।' उनले अब बन्ने पार्टीको मूल मन्त्र 'मेक नेपाल' हुने र यसले ३ करोड नेपालीलाई समेट्न प्रयास गर्ने दाबी गरे।

राप्रपा अब 'खोटा सिक्का'

आफूहरूले पार्टी विभाजन गरेको नभई 'काम नलाग्ने' भएपछि परित्याग गरेको गिरीको जिकिर छ। उनले राप्रपालाई 'खोटा सिक्का'को संज्ञा दिँदै नेतृत्वले सच्चिने प्रयास नगरेको आरोप लगाए।

 'जमानत जफत हुने स्थिति आएपछि नेतृत्वले छोड्नुपर्थ्यो, यो लोकतान्त्रिक अभ्यास हो। तर उल्टै डण्डा चलाउने काम भयो,' उनले भने। पूर्व अध्यक्षहरूले नयाँ अभियानमा नजान गरेको आह्वानप्रति टिप्पणी गर्दै उनले भने, 'विधानले नचिन्ने पूर्व अध्यक्षहरूको आह्वानको कुनै तुक छैन। उनीहरू अझै भागबन्डा खोज्दैछन्, हामी फरक बाटोमा लागिसक्यौँ।'

निकट भविष्यमा घोषणा हुने नयाँ पार्टीमा लाग्ने राप्रपाकै ५० देखि ६० जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरिसकेको र २१ गतेसम्म यो संख्या अझै बढ्ने दाबी गिरीले गरे। 

पार्टी परित्यागपछि के गर्दैछन् धवल ?

पार्टी परित्यागसँगै  राणा देशभरका राष्ट्रवादी शक्तिहरूसँगको संवादमा रहेको उनी निकट अर्का एक नेताले बताए । 'अहिले देशव्यापी रूपमा फोन र सम्पर्क बढिरहेको छ,' ती नेताले भने, 'राप्रपा भित्रका मात्र नभई मधेस, सुदूरपश्चिम, काठमाडौँ र पूर्वका विभिन्न दलमा आबद्ध व्यक्तिहरूले समेत नयाँ अभियानमा जोडिने इच्छा व्यक्त गरिरहेका छन्। सबैलाई समेट्न राणाबाट सम्पर्क र संवाद भइरहेको छ ।' 

यस्तै आन्तरिक बैठकदेखि रणनीति बनाउन र नयाँ पार्टीको दस्ताबेज लेखनमा समेत उनी जुटिरहेका छन् । 

उनका अनुसार नयाँ पार्टीको स्वरूप परम्परागत राजनीतिक दलभन्दा केही फरक र ‘कन्जरभेटिभ’ मोडलको हुने गरी छलफल भएको छ। जसमा संवैधानिक राजसंस्था र परम्परागत मूल्य-मान्यताको जगेर्ना गर्दै जेनजी युवा पुस्तालाई पनि राजनीतिमा आकर्षण गर्नेगरी अघि बढ्ने रणनीति अख्तियार गरिएको छ । 

 राप्रपाका नेता जनकराज पाठक भने महाधिवेशनको मुखमा धवल शमशेर जस्तो नेताले पार्टी छोड्नु 'राष्ट्रवादी आन्दोलन' का लागि घातक हुने भन्दै चिन्ता व्यक्त गर्छन् ।

  नेतृत्वले बेलैमा सुझबुझ देखाएर असन्तुष्टिहरू सम्बोधन गरी एकताबद्ध ढङ्गले महाधिवेशनसम्म जानुपर्ने उनको सुझाव छ। तर राणाले पार्टी परित्याग गरेपनि अध्यक्ष लिङ्देनले अहिलेसम्म कुनै औपचारिक पहल र प्रतिक्रिया दिएका छैनन् । 

मलमासले रोकियो घोषणा

नेता गिरीले नयाँ पार्टीको घोषणा अन्य प्राविधिकका साथै 'मलमास'का कारण समेत केही ढिलाइ हुने भएको बताए। 'अहिले मलमास छ, शुभ कार्यका लागि सुदिन पर्खनुपर्छ।  मलमास सकिएपछि पार्टीको एउटा आकार आउँछ,' उनले भने। उनका अनुसार जेठ २१ गते काठमाडौँको एक होटलमा पत्रकार सम्मेलन गरेर आफूहरूको आगामी योजनाबारे औपचारिक जानकारी दिने तयारी भइरहेको छ।

पार्टी निर्माणका क्रममा व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँग पनि घनिभूत छलफल भइरहेको गिरीले बताए। 'दुर्गा प्रसाईंसँग विशेष छलफल भइरहेको छ। हामी राम्रो गर्नका लागि एक ठाउँमा जुट्न लागेका हौँ,' उनले थपे। नयाँ पार्टीको नाम र झण्डा तय गर्न प्रसाईं पक्ष र आफ्नो पक्ष सम्मिलित एउटा संयुक्त कमिटी बनाइने उनले जानकारी दिए। 'हामी ज्योतिष र वास्तु विज्ञानलाई समेत ध्यानमा राखेर, असफल नहुने गरी नाम जुराउँछौँ,' उनले भने।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी सनातन धर्म र शास्त्रीय मान्यता अनुसार  मलमास (अधिक मास) को समयमा शुभ कार्य गर्न नहुने भनिएको बताउँछन् । यस वर्ष जेठ ३ गतेदेखि सुरु भएको मलमास जेठ ३० गतेसम्म रहने उनको भनाइ छ । 

धार्मिक विश्वास अनुसार यस अवधिमा भजन-कीर्तन र ध्यानका लागि यो समय उपयुक्त मानिए पनि भौतिक र सांसारिक सुखका लागि गरिने नयाँ कार्यहरू भने वर्जित गरिएको उनको भनाइ छ । यही कारण ज्योतिषी परामर्शमा राणाले राजनीतिक दलको घोषणा गर्ने कार्यमा ढिलाइ गरेको उनी निकटस्थ नेताहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप