बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फेवातालमा सेल्फी ब्रिज र रुपामा सिसाको पुल, ५ वर्षभित्र भारत र चीनका पर्यटक दोब्बर भित्र्याउने

मङ्गलबार, १९ जेठ २०८३, १८ : ०४
मङ्गलबार, १९ जेठ २०८३

पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटकीय राजधानी पोखरासहित प्रदेशको पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ । 

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत पोखराको फेवातालमा फेवा होराइजन पेडेस्ट्रियन ब्रिज अर्थात् सेल्फी ब्रिज र रुपातालमा सिसाको पुल निर्माण गर्ने घोषणा गरिएको छ ।

सेल्फी पुलले चंखपुरदेखि मझेरी बगरसम्मको पर्यटकीय आकर्षणलाई थप उचाइमा पुर्‍याउने दाबी गरिएको छ । रुपातालको सौन्दर्यलाई अझ आकर्षक बनाउन सिसाको पुल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाउने प्रदेश सरकारले जनाएको छ । 

पोखरालाई पर्यटनको राजधानी प्रदेश सरकारले नै घोषणा गरेको हो । राजधानी घोषणा गरेपछि कुनै पूर्वाधार निर्माणमा सरकारले चासो नदिएको आरोप लाग्दै आएको थियो ।

उक्त आरोपलाई समेत चिर्ने गरी नयाँ कार्यक्रमहरू ल्याइएको सरकारले जनाएको छ । आगामी दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधाम जस्ता महत्त्वपूर्ण धार्मिक क्षेत्रलाई जोड्ने गरी धार्मिक पर्यटन परिपथ निर्माण गरिने भएको छ।

सम्भाव्य ठाउँहरूमा स्काई डाइभिङ, हेली स्किइङ, बन्जी जम्पिङ र उच्च उचाइको साइक्लिङ जस्ता साहसिक गतिविधिलाई थप विस्तार गर्ने सरकारी तयारी छ । 

प्रदेशले छिमेकी मुलुकहरू भारत र चीनबाट आउने पर्यटकको संख्या आगामी ५ वर्षभित्र दोब्बर बनाउने लक्ष्य लिएको छ । यसका लागि गण्डकी जाऔँ: प्रकृति र संस्कृतिसँग रमाऔँ अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ। 

एक जिल्ला: एक पर्यटकीय गन्तव्यको नीति अनुसार रैथाने संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन गरी होमस्टेहरूलाई थप स्तरीय र व्यावसायिक बनाउनले सरकारी घोषणा छ । गण्डकी सरकारले गठन भएकै वर्षदेखि होमस्टे प्रवर्द्धनमा ठुलो रकम खर्च गरेको छ । तर लगानी अनुसार प्रतिफल प्राप्त नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेश सरकारले मनास्लु, अन्नपूर्ण र धौलागिरि क्षेत्रका पदमार्गहरूको स्तरोन्नति र वैकल्पिक पदमार्गको पहिचान गर्ने कार्यक्रम बनाएको छ । गोरखा दरबारदेखि हनुमान ढोकासम्मको फूलपाती पदमार्ग निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ ।

पर्यटकको सुरक्षाका लागि पर्यटकीय गन्तव्यहरूमा पर्यटक प्रहरी परिचालन गर्ने तथा आपत्कालीन पर्यटक उद्धार कोषको स्थापना गर्ने प्रदेश प्रमुख डिल्लीराज भट्टले बताए । पोखरालाई अन्तर्राष्ट्रिय सभा–सम्मेलन, स्वास्थ्य, आरोग्य र खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

यसका लागि हरित पूर्वाधार र वातावरणमैत्री यातायात प्रवर्द्धनमा विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप