मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इरानकाे दाबीबारे ट्रम्पले के भने ?

मङ्गलबार, १९ जेठ २०८३, १९ : ३८
मङ्गलबार, १९ जेठ २०८३

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा आत्मसमर्पण गरे पनि अमेरिकी राजनीतिक विपक्षी र केही मिडियाले त्यसलाई उल्टै ‘इरानको विजय’ का रूपमा चित्रण गर्न सक्ने दाबी गरेका छन् । 

सोमबार (स्थानीय समय) सामाजिक सञ्जालमार्फत गरिएको लामो अभिव्यक्तिमा राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना नष्ट भएको, सेना तेहरानबाट फिर्ता भएको र सबै सैनिकले हतियार त्याग्दै आत्मसमर्पण गरेको काल्पनिक परिदृश्य प्रस्तुत गरेका थिए । उनले त्यस्तो अवस्थामा समेत आलोचकहरूले घटनालाई गलत ढङ्गले व्याख्या गर्ने आरोप लगाए।

यदि इरानको नेतृत्वले सबै आवश्यक ‘आत्मसमर्पणका कागजात’ मा हस्ताक्षर गरी संयुक्त राज्य अमेरिकाको शक्ति स्वीकार गरे पनि डेमोक्रेट र केही मिडियाले त्यसलाई वास्तविकता भन्दा फरक रूपमा प्रस्तुत गर्ने सम्भावना रहने उनको भनाइ छ।

उनले आफ्नो पोस्टमा लामो विवरण दिँदै इरानको सम्पूर्ण सैन्य संरचना समाप्त भएको, सेना पछि हटेको र युद्धमैदानमा पूर्ण हार स्वीकार गरिएको अवस्थालाई उदाहरणका रूपमा उल्लेख गरे। उनले यस्तो अवस्थामा पनि विपक्षीहरूले घटनाको अर्थ उल्ट्याउने दाबी दोहोर्‍याए।

राष्ट्रपति ट्रम्पले अमेरिकी मिडियामाथि समेत आलोचना गर्दै केही सञ्चारमाध्यमहरूले परिस्थितिलाई विकृत रूपमा प्रस्तुत गर्ने आरोप लगाउनुभयो । आलोचकहरूले स्पष्ट पराजयको अवस्थालाई समेत ‘इरानको विजय’ भनेर चित्रण गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

उहाँले विशेष रूपमा डेमोक्रेटहरूलाई लक्षित गर्दै उनीहरूलाई ‘डुमाक्राट्स’ भनी उल्लेख गरेका छन् । केही मिडियाले द्वन्द्वको वास्तविकता बुझ्न नसकेको आरोप लगाएका छन्।

ट्रम्पले द न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र सिएनएनलगायत मिडिया संस्थाहरूको नाम उल्लेख गर्दै ती संस्थाहरूले गलत शीर्षक राख्ने र वास्तविकताभन्दा फरक व्याख्या गर्ने दाबी गरे। यस्ता मिडिया संस्थाहरू ‘अब अप्रासङ्गिक’ हुँदै गएको उनको टिप्पणी छ।

यसैबिच राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा जारी कूटनीतिक प्रयासप्रति आशावादी सङ्केत पनि दिए । उनले तेहरानसँगको युद्धविराम विस्तार गर्ने र क्षेत्रीय रणनीतिक समुद्री मार्गमार्फत ढुवानी पुनः सञ्चालन गर्ने सम्झौता ‘आगामी हप्ताभित्र’ हुन सक्ने अपेक्षा व्यक्त गरे।

उनले एबीसी न्युजसँग कुरा गर्दै ढुवानी मार्ग पुनः सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयु) मा अझै केही बुँदामा अन्तिम सहमति बाँकी रहेको बताए। “मैले अझै केही विन्दुहरू प्राप्त गर्न बाँकी छ”, उनको भनाइ उद्धृत गरिएको छ।

यसअघि सोमबार नै ट्रम्पले तेहरानसँग वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गर्दै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा कूटनीतिक संवाद जारी रहेको उल्लेख गरेका थिए।

तर पछिल्लो कूटनीतिक प्रयासको बीचमा पनि स्थिति अस्थिर रहेको बताइएको छ। केही हप्ताअघि स्थापित अस्थायी युद्धविराम हालैका दिनहरूमा भएका प्रतिआक्रमणका घटनाका कारण पुनः दबाबमा परेको छ । अमेरिकी र इरानी सेनाबीच पछिल्ला दिनहरूमा देखिएको तनावले युद्धविराम कमजोर हुने र कूटनीतिक प्रक्रिया अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप