पश्चिम एसिया द्वन्द्वको चरम मारमा स्वदेशी उद्योग र विकास आयोजना
सारांश
- पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावले नेपालका ठूला विकास आयोजना र स्वदेशी उद्योग संकटमा परेका छन् ।
- चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको पेट्रोलियम पदार्थ आयातमा करिब ३ खर्ब रुपैयाँ खर्च भएको छ, जसमा डिजेल, पेट्रोल र हवाई इन्धनको आयात मूल्य बढेको छ भने एलपिजी र मट्टितेलको घटेको छ ।
- सडक कालोपत्रे र पूर्वाधार निर्माणका लागि आवश्यक बिटुमिनको आयात ७.२१ प्रतिशतले घटेको छ भने प्लास्टिक उद्योग कच्चा पदार्थको मूल्य ५० प्रतिशतले बढेको र आपूर्ति अभावले प्रभावित भएको छ ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण नेपालका ठुला विकास आयोजना र उत्पादनमुलक उद्योगहरू गम्भीर संकटमा परेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) मा प्रमुख इन्धन आयातमा मात्रै करिब ३ खर्ब रुपैया बराबर रकम बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ ।
पेट्रोलियम पदार्थकै एक हिस्सा मानिने प्लास्टिकको कच्चा पदार्थ (पोलिमर)को मूल्य ५० प्रतिशतसम्मले बढेपछि स्वदेशी प्लास्टिक उद्योगहरूले चर्को लागत र आपूर्ति अभाव झेल्नुपरेको छ, जसका कारण समग्र औद्योगिक क्षेत्र र पूर्वाधार निर्माणको लागत उच्च दरमा बढ्न पुगेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) को अवधिमा नेपालमा पेट्रोलियम पदार्थको आयात उच्च रहेको पाइएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो वैदेशिक व्यापार तथ्यांक अनुसार यस अवधिमा डिजेल, पेट्रोल, एलपीजी ग्यास र हवाई इन्धनजस्ता मुख्य पेट्रोलियम पदार्थहरूको आयातमा मात्रै सवा करिब ३ खर्ब रुपैयाँ बाहिरिएको छ ।
मुलुकको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी रहँदै आएकोमा यस वर्ष पनि आयातको सोही प्रवृत्ति कायम रहेको तथ्यांकले देखाउँछ ।
२०८२/८३ को साउन–वैशाखमा २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ बराबरको ८२ करोड ६१ लाख ७१ हजार १५२ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा आयात मूल्यमा १३.०९ प्रतिशत बढेको छ भने आयात परिमाणमा ६०.८६ प्रतिशत घटेको छ ।
गत वर्ष २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँको २ अर्ब ११ करोड ०८ लाख ७४ हजार ८७१ किलोलिटर आयात भएको थियो ।
कुन पेट्रोलियम पदार्थ कति आयात ?
पेट्रोलियम पदार्थमध्ये नेपालमा सबैभन्दा बढी आयात हुने डिजेलको आयात परिमाणमा सामान्य गिरावट आएको भए पनि यसको मूल्य भने निकै बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ लाख ४७ हजार ६ सय ५७ किलोलिटर डिजेल आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सामान्य घटेर ११ लाख ४४ हजार ३ सय ४६ किलोलिटर आयात भएको छ ।
परिमाण करिब ३ हजार ३ सय ११ किलोलिटरले घटे पनि यसको आयात मूल्य भने गत वर्षको १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँबाट बढेर यस वर्ष १ खर्ब ३० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा करिब २८ अर्ब ५४ करोड रुपैयाँ बढी हो ।
पेट्रोल र हवाई इन्धन (एटीएफ) को आयात परिमाण र मूल्य दुवैमा वृद्धि भएको छ । पेट्रोलको आयात गत वर्षको ६ लाख १२ हजार १२ किलोलिटरबाट बढेर यस वर्ष ६ लाख २१ हजार ९ सय ५१ किलोलिटर पुगेको छ, जसको आयात मूल्य ५३ अर्ब ५ करोड रुपैयाँबाट बढेर ५८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, हवाई इन्धनको आयात पनि गत वर्षको १ लाख ७७ हजार ९ सय २९ किलोलिटरबाट सामान्य बढेर १ लाख ८१ हजार ९ सय ५१ किलोलिटर पुगेको छ भने यसको कुल मूल्य १६ अर्ब १४ करोड रुपैयाँबाट बढेर २० अर्ब ८० करोडरुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।
खाना पकाउने ग्यास (एलपिजी) र मट्टितेलको आयातमा भने परिमाण र मूल्य दुवैमा ह्रास आएको छ । गत वर्षको १० महिनामा ४५ करोड ६८ लाख ८० हजार केजी एलपिजी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा घटेर ४४ करोड ३१ लाख ३७ हजार केजी मात्र आयात भएको छ । यसको आयात मूल्य पनि गत वर्षको ५१ अर्ब ८१ करोड रुपैयाँबाट घटेर ४६ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ । मट्टितेलको आयात पनि गत वर्षको १० हजार ८ सय २ किलोलिटरबाट घटेर यस वर्ष ६ हजार ६ सय ४४ किलोलिटरमा सीमित भएको छ, जसको मूल्य ९७ करोड रुपैयाँबाट घटेर ६२ करोड रुपैयाँमा झरेको छ ।
पेट्रोलियम पदार्थ आयात तुलना

स्रोतः भन्सार विभाग
बिटुमिन आयातमा गिरावट : कालोपत्र प्रभावित
सडक कालोपत्रे र ठुला भौतिक पूर्वाधार आयोजनाहरू बिटुमिन (अलकत्रा) को आयात प्रभावित हुँदा संकटमा परेका छन् । पूर्वाधार निर्माण र सडक कालोपत्रे गर्ने अनुकूल मौसममा बिटुमिनको आयात खस्किएपछि मुलुकभरका रणनीतिक सडक, राजमार्ग तथा स्थानीय पूर्वाधार आयोजनाहरूको काम सुस्त र कतिपय स्थानमा त ठप्प नै भएको छ ।
पश्चिम एसियाली क्षेत्रमा जारी आपूर्ति अवरोध र ढुवानीको समस्याका कारण यस वर्ष नेपालमा बिटुमिनको उपलब्धता घटेको छ, जसले गर्दा राष्ट्रिय स्तरका विकास निर्माणका कामहरू नराम्ररी प्रभावित भएका छन् ।
पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको प्लास्टिक उद्योग गम्भीर संकटमा परेको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव र डलरको भाउमा भएको वृद्धिका कारण प्लास्टिकको कच्चा पदार्थको मूल्य झण्डै ५० प्रतिशतले बढेको छ भने मागअनुसारको आपूर्ति पाउन समेत धौ–धौ पर्न थालेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) मा ९ करोड ९१ लाख ८५ हजार ७ सय ६९ केजी बिटुमिन आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७ लाख २ हजार ५ सय ६४ केजी (७.२१ प्रतिशत) ले कम हो । गत वर्षको यसै अवधिमा १० करोड ६८ लाख ८८ हजार ३ सय ३३ केजी बिटुमिन आयात भएको थियो ।
मूल्यतर्फ पनि गिरावट आएको देखिन्छ; गत वर्ष ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको बिटुमिन आयात भएकोमा यस वर्ष ५.६४ प्रतिशत (४३ करोड बराबर रुपैयाँ) ले घटेर ७ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ ।
फागुनदेखि जेठसम्मको सुख्खा मौसम नेपालमा सडक कालोपत्रे (पिच) गर्ने उपयुक्त र अन्तिम समय हो। यस्तो मुख्य कार्य सिजनमै ७७ लाख केजीभन्दा बढी बिटुमिन कम आयात हुनुले राष्ट्रिय गौरवका आयोजनादेखि विभिन्न सहरी विकासका योजनाहरूमा प्रत्यक्ष असर पुर्याएको छ ।
बजारमा बिटुमिनको चरम अभाव सृजना हुँदा निर्माण व्यवसायीले मूल्य समायोजन र म्याद थप गर्न माग गरिरहेका छन् । जसका कारण पूर्वाधार आयोजनाहरूको म्याद थपिने र लागत अनुमान अझै बढ्ने जोखिम पैदा भएको छ ।
५० प्रतिशत बढ्यो प्लास्टिकको माग, पाउनै मुस्किल
पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको प्लास्टिक उद्योग गम्भीर संकटमा परेको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव र डलरको भाउमा भएको वृद्धिका कारण प्लास्टिकको कच्चा पदार्थको मूल्य झण्डै ५० प्रतिशतले बढेको छ भने मागअनुसारको आपूर्ति पाउन समेत धौ–धौ पर्न थालेको छ ।
नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष प्रबोध घिमिरेका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण पहिले प्रतिइकाइ १ हजार रुपैयाँ पर्ने कच्चा पदार्थको मूल्य अहिले बढेर १५ सयदेखि १६ सय रुपैयाँसम्म पुगेको छ ।
बजारमा कच्चा पदार्थ महँगो हुनुका साथै मागअनुसार आपूर्तिमा समेत ठुलो अभाव देखिएको व्यवसायीहरूको भनाइ छ । ‘अहिले बजारमा माग अनुसारको कच्चा पदार्थ पर्याप्त छैन,’ अध्यक्ष घिमिरेले भने, ‘सम्बन्धित एजेन्सीहरूले उद्योगीहरूको माग बमोजिम कच्चा पदार्थ उपलब्ध गराउन सकिरहेका छैनन् ।’
नेपालमा मुख्यतया साउदी अरब, कतार र भारतबाट प्लास्टिकको कच्चा पदार्थ आयात हुने गर्छ । तर, अहिले यी सबै देशबाट हुने आयातमा मूल्य वृद्धि र ढुवानीको गम्भीर समस्या देखिएको छ ।
घिमिरेकाअनुसार प्लास्टिकजन्य वस्तुको उत्पादनमा एउटा मात्र नभई सबै प्रकारका सामग्रीमा यसको प्रत्यक्ष प्रभाव परेको छ । साना घरेलु सामानदेखि निर्माण क्षेत्रमा प्रयोग हुने पाइप र हिलटेक खानेपानी ट्याङ्की लगायतका सबै वस्तुको उत्पादन लागत उच्च दरमा बढेको छ । प्लास्टिक पेट्रोलियम पदार्थकै एउटा हिस्सा भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्नेबित्तिकै यसको मूल्यमा प्रत्यक्ष असर पर्छ । यसका साथै पछिल्लो समय ढुवानी खर्चमा भएको वृद्धिले पनि कच्चा पदार्थलाई अझ महँगो बनाएको छ ।
व्यवसायीहरूले सरकारी बजेटले यस क्षेत्रका समस्यालाई सम्बोधन गर्न नसकेको र बाह्य परिस्थितिका कारण उद्योगहरू थप संकटमा परेको गुनासो गरेका छन् ।
मुलुकभित्र सञ्चालित उद्योगहरूका लागि आवश्यक पर्ने प्राथमिक कच्चा पदार्थ (पोलिमर) को आयात हिस्सा सबैभन्दा ठूलो छ । साउनदेखि वैशाखसम्म ८ अर्ब २ करोड १ लाख १० हजार रुपैयाँको ५ करोड ३६ लाख ३४ हजार १६७ केजी पोलिप्रोपिलिन आयात भएको छ ।
विश्व बजारमा देखिएको यो संकटबिच नेपालमा प्लास्टिकको आयात परिमाण र मूल्य भने निकै ठुलो देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) को तथ्याङ्कअनुसार यस अवधिमा ५८ अर्ब ७ करोड रुपैयाँ बराबरको ३९ करोड ५० लाख ३२ हजार ४५३ युनिट (मुख्यतः किलोग्राम) प्लास्टिक र यसका तयारी वस्तु आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा १०० भन्दा बढी प्रकारका प्लास्टिकका कच्चा पदार्थ र तयारी वस्तुहरू विभिन्न शीर्षकमा भित्रिने गरेका छन् ।
मुलुकभित्र सञ्चालित उद्योगहरूका लागि आवश्यक पर्ने प्राथमिक कच्चा पदार्थ (पोलिमर) को आयात हिस्सा सबैभन्दा ठूलो छ । साउनदेखि वैशाखसम्म ८ अर्ब २ करोड १ लाख १० हजार रुपैयाँको ५ करोड ३६ लाख ३४ हजार १६७ केजी पोलिप्रोपिलिन आयात भएको छ ।
मेलामिन सामग्री बनाउन प्रयोग हुने कच्चा पदार्थ (मेलामीन रेजिन्स)१ अर्ब ६२ करोड ७० लाख २२ हजार रुपैयाँको ४ करोड ६० लाख ४१ हजार ८३६ केजी आयात भएको छ ।
उच्च घनत्व र न्यून घनत्वका पोलिथिन कच्चा पदार्थ (पोलिइथिलिन) ५ करोड ५० लाख केजीभन्दा बढी पोलिथिन कच्चा पदार्थ आयात भएको छ, जसको संयुक्त मूल्य ८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।
२ अर्ब ८८ करोड रुपैयाँ बराबरको २ करोड ६४ लाख २ हजार ९०३ केजी पिभिसी कच्चा पदार्थ आयात भएको छ । कच्चा पदार्थबाहेक प्याकेजिङका लागि आवश्यक पर्ने पाता, सिट, फिल्म र तयारी भाँडाकुँडाहरूको आयात पनि अर्बौँको संख्यामा भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण