सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

सोमबार, ०१ असार २०८३, ०० : १०
सोमबार, ०१ असार २०८३

सारांश

  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको छ ।
  • इप्पानले यस पटक विधान संशोधन गर्दै संस्थाको नेतृत्व चयन प्रक्रियामा दीर्घकालीन महत्त्व राख्ने परिवर्तनहरू समेत गरेको छ ।
  • नवनियुक्त अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रको नीतिगत सुधार र लगानी प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए ।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको छ । 

आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बिच २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूले कार्यभार ग्रहण गरेका हुन् । 

सोही अवसरमा निवर्तमान कार्यसमितिले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । इप्पानले यस पटक विधान संशोधन गर्दै संस्थाको नेतृत्व चयन प्रक्रियामा दीर्घकालीन महत्त्व राख्ने परिवर्तनहरू समेत गरेको छ । 

इप्पानको नयाँ नेतृत्वमा मोहनकुमार डाँगी अध्यक्ष रहेका छन्। उनी विधान संशोधनअघिको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा चयन भएका छन् ।  

संशोधित विधान अनुसार अब उपाध्यक्ष र सचिवको संख्या ७–७ पुर्‍याइएको छ। उपाध्यक्षहरूमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, बलराम खतिवडा र प्रकाशचन्द्र दुलाल रहेका छन् । 

महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) र उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन् । त्यसैगरी, सात सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई, सुमनकुमारी जोशी, कृष्ण घिमिरे र दीपक पौडेल रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी शंकर बस्यालले पाएका छन् । 

कार्यसमिति सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कंडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट विधान स्वीकृत भएपछि इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई स्थायी आमन्त्रित सदस्य बनाउने प्रस्ताव गरिएको छ । 

नेतृत्व चयनमा ‘ब्रेकथ्रुः’ अब सबै पदमा प्रत्यक्ष निर्वाचन 

इप्पानले लामो समयदेखि विवादमा रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई खारेज गरेको छ । २९ जेठमा सम्पन्न साधारणसभाले विधान संशोधन गर्दै आगामी कार्यकालदेखि अध्यक्षसहित सबै पदमा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू गरेको छ । 

नयाँ व्यवस्था अनुसार अब अध्यक्ष बन्नका लागि वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बाध्यता हटेको छ । योग्यता पुगेका सदस्यहरूले अध्यक्षका लागि प्रत्यक्ष प्रतिस्पर्धा गर्न पाउनेछन् ।

अध्यक्षको उम्मेदवार हुनका लागि कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्नेछ ।  संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्न अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था गरिएको छ। दलमा आबद्ध भए त्याग गरेको प्रमाण पेस गर्नुपर्नेछ । 

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रको नीतिगत सुधार र लगानी प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए । 

उनले ऊर्जा क्षेत्रका कानुनी बाधा हटाउन विज्ञ सल्लाहकार समिति गठन गर्ने, जलाशययुक्त र पम्प स्टोरेज आयोजनामा निजी क्षेत्रलाई आकर्षित गर्ने तथा सौर्य ऊर्जा र ग्रीन हाइड्रोजन जस्ता नवीन प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

साथै, इप्पानलाई डिजिटल प्रणालीमा लैजाने र सेवा डेस्कमार्फत सदस्यहरूका समस्या समाधान गर्ने उनको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप