ऋण लिँदैमा जहाजै डुब्ने होइन, यो बाध्यात्मक अवस्था हो : अर्थमन्त्री वाग्ले
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन् ।
- उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरिएकाले ऋण लिने कुरालाई लिएर जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नरहेको जिकिर गरे ।
- उनले ऋणको सही सदुपयोगले आर्थिक वृद्धि र आम्दानी सिर्जना गर्ने तर्क गरे ।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले नेपालले आफैँ तिर्दै जाने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले ऋण लिने कुरालाई लिएर जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नरहेको जिकिर गरे । उनले उत्पादनमूलक गतिविधिमा लगानी गरिएकाले लिइएको ऋणबाट नआत्तिन पनि सांसदहरूलाई आग्रह गरे ।
संसद्मा स्पष्टीकरण दिँदै मन्त्री वाग्लेले भने, ‘ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरूबाट नै आइसक्यो । ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो ? त्यो उल्लेख्य हो । त्यसमा माननीयजीहरूले ठुलो निगरानी गर्नुपर्ने हुन्छ । र, आजको दिनमा पनि रातो किताब हेर्नुभयो भने माननीयजीहरूले देख्नुहुन्छ– बढी सडक पूर्वाधार, ट्रान्समिसन लाइन, यस्तैयस्तैमा हो हाम्रो ऋणको लगानी । र, त्यो ऋणको सौन्दर्य के हो भने त्यो आफैँ तिरिँदै जाने लगानी हो ।’
उनले ऋणको सही सदुपयोगले आर्थिक वृद्धि र आम्दानी सिर्जना गर्ने तर्क गरे । उनले अगाडि थपे, ‘त्यसले आर्थिक वृद्धि सिर्जना गर्छ । त्यसले आम्दानी सिर्जना गर्दछ । ऋण लिएर घिउ खाएको पो भएन त । उत्पादनमूलक गतिविधिमा लगानी गर्नुहुन्छ । र, त्यो इतिहास जारी रहेको हाम्रो झन्डै झन्डै ६५ वर्ष भयो । अर्थतन्त्रको आधार र सामर्थ्य बढ्दै गयो भने वैदेशिक ऋण पनि नट ब्याड ।’
यसका साथै अर्थमन्त्री वाग्लेले सरकारले कडाइका साथ भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसारकै राजस्व सङ्कलन गर्न सक्ने दाबी समेत गरे । उनले राजस्व चुहावट रोक्न र वित्तीय अनुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । (न्युज एजेन्सी नेपाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी), अनेरास्ववियूको संयुक्त पदाधिकारी बैठक सम्पन्न, एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण