शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सरकारले सङ्घीयताको भावना र मर्म विपरीत कार्य गर्‍यो : मदनकुमारी साह

‘काठमाडौँमा गरिबका घर भत्काएर बहादुरीको र्‍याप गाइँदै छ’
शुक्रबार, ०५ असार २०८३, १६ : ०६
शुक्रबार, ०५ असार २०८३

सारांश

  • राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले वर्तमान सरकार सङ्घीयताको भावना विपरीत चल्दा प्रशासनिक, वित्तीय र कानुनी आधार तयार गर्न चुकेको आरोप लगाएकी छन् ।
  • सांसद साहले कुल बजेटको १४ प्रतिशत मात्र प्रदेशलाई विनियोजन गरिनुले शक्ति केन्द्रमै राख्ने मनसाय देखिएको र यसले सङ्घीयताको सिद्धान्त विपरीत रहेको टिप्पणी गरिन् ।
  • उनले सरकार गरिबमारा भएको र सुकुम्बासीलाई घरबारविहीन बनाइएको, बालबालिका शिक्षाबाट वञ्चित र महिला असुरक्षित रहेको भन्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाइन् ।

काठमाडौँ । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले वर्तमान सरकारले सङ्घीयताको भावना र मर्म विपरीत कार्य गरिरहेको आरोप लगाएकी छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद साहले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने प्रशासनिक, वित्तीय र कानुनी आधारहरू तयार गर्न सरकार पूर्ण रूपमा चुकेको बताएकी हुन् । 

सङ्घीयतालाई विविधतामा एकता कायम गर्ने र शक्ति विकेन्द्रीकरण गर्ने माध्यमका रूपमा व्याख्या गर्दै उनले नेपालमा यसको उचित संरक्षण र प्रवर्धन हुन नसकेको उल्लेख गरिन् । बजेटको प्रकृति सङ्घीयताको सिद्धान्त विपरीत रहेको टिप्पणी गर्दै उनले कुल बजेटको करिब १४ प्रतिशत मात्र प्रदेशहरूलाई विनियोजन गरिनुले अझै पनि शक्ति र स्रोत केन्द्रमै राख्ने मनसाय देखिएको दाबी गरिन् । 

वित्तीय हस्तान्तरणमा गरिएको कटौती र सङ्घीय कानुनको अभावका कारण प्रदेश सरकारहरूले अपेक्षित कार्य गर्न नसकेको उनको तर्क थियो । १० वर्षको नाबालक गणतन्त्र र सङ्घीयतालाई असफल बनाउन शक्तिको केन्द्रीकरण गर्ने खेल भइरहेको भन्दै उनले यस्तो कार्य कदापि स्वीकार्य नहुने चेतावनी दिइन् ।

सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले भनिन्, ‘लामो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीयतालाई जसरी हुर्काउनुपर्ने थियो, त्यो हुन सकेको छैन । विशेष गरी सुदूरपश्चिम, कर्णाली र मधेश जस्ता तुलनात्मक रूपमा कमजोर प्रदेशहरूलाई केन्द्र सरकारले प्राथमिकतामा राख्न सकेको छैन । काठमाडौँमा गरिबका घर भत्काएर बहादुरीको र्‍याप गाइँदै छ । ३७ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित छन् र महिलाहरू होल्डिङ सेन्टरमा असुरक्षित अवस्थामा छन् । यस्तो अवस्थामा जनताको सरकार कसरी भन्न सकिन्छ ?’

बैठकमा सांसद साहले काठमाडौँमा सञ्चालित डोजर अभियानप्रति लक्षित गर्दै सरकारलाई गरिबमाराको संज्ञा दिइन् । सुकुम्बासी र गरिब जनताको उचित विकल्प बिना नै उनीहरूलाई घरबारविहीन बनाइएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाइन् । प्रशासनिक अराजकताको विषय उठाउँदै उनले जिम्मेवार मन्त्रीहरूबाटै भौतिक आक्रमणका धम्की आउनु र समाजमा हत्या-हिंसाका घटना बढ्नु चिन्ताको विषय भएको बताइन् ।

सरकारले चुनावअघि गरेका वाचाहरू र वर्तमान कार्यशैलीबिच ठुलो खाडल रहेको उनको टिप्पणी थियो । विदेशिएका युवा फर्काउने आश्वासन दिए पनि अहिले घरघरमै राहदानी पठाएर युवा पलायनलाई प्रश्रय दिएको र राष्ट्रवादी नक्साको मुद्दामा सरकार मौन बसेको आरोप समेत उनले लगाइन् । सरकारलाई संविधान, विधि र पद्धतिको पालना गर्दै जनपक्षीय काम गर्न उनले आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप