शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
समाचार

भारत र बंगलादेशमा गरी दैनिक ६५० मेगावाट विद्युत् निर्यात

बंगलादेशमा ६० मेगावाट पुर्‍याउन प्राविधिक अड्चन
शुक्रबार, ०५ असार २०८३, १९ : ००
शुक्रबार, ०५ असार २०८३

सारांश

  • वर्षायाम सुरु भएसँगै नेपालले भारत र बंगलादेशमा दैनिक करिब ६५० मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।
  • भारतले नेपाललाई १ हजार १६५ मेगावाटसम्म विद्युत् निर्यातको अनुमति दिएको छ भने बंगलादेशतर्फ ४० मेगावाट निर्यात भइरहेको छ ।
  • बंगलादेशमा थप विद्युत् निर्यात गर्ने योजना भारतको प्रसारण लाइन क्षमता अभाव र द्विपक्षीय संयन्त्रको बैठक बस्न नसक्दा रोकिएको छ ।

काठमाडौँ । वर्षा लागेसँगै नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको छ । चैत–वैशाखदेखि नै थोरै परिमाणमा निर्यात सुरु भएकोमा वर्षायाम लागेसँगै निर्यात वृद्धि हुन थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार गत सोमबारदेखि बंगलादेशतर्फ पनि ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो । त्यस्तै, भारतले नेपाललाई निर्यातका निम्ति दिएको अनुमति १ हजार १६५ मेगावाट छ ।

उक्त अनुमति अनुसार भारतमा पनि जुन १५ देखि थप विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएको छ । जेठ ३१ गते अर्थात् जुन १५ देखि नेपालबाट भारततर्फ पनि विद्युत् निर्यात उल्लेख्य रूपमा बढेको छ ।

हाल नेपालले भारत र बंगलादेश गरी दैनिक करिब ६ सय ५० मेगावाटसम्म विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले जुन १५ तारिखदेखि भारतको हरियाणा र बिहारसँगको द्विपक्षीय सम्झौता बमोजिमको विद्युत् निर्यात सुरु भएको जानकारी दिए । उनका अनुसार हाल भारततर्फको डे–अहेड मार्केट र द्विपक्षीय सम्झौता गरी ६५० मेगावाट विद्युत् दैनिक रूपमा निर्यात भइरहेको छ ।

उनले भने, ‘वैशाख महिना लागेसँगै थोरै–थोरै मात्रामा विद्युत् निर्यात सुरु गरेका थियौँ । गत सोमबारदेखि सम्झौता अनुरुप भारत र बंगलादेशमा समेत विद्युत् निर्यात सुरु गरेका छौँ । भारतमा ६०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भएको छ ।’

भारतीय बजारमा मात्रै एक हजार १२५ मेगावाट विद्युत् बिक्रीको अनुमति प्राधिकरणले पाएको छ ।  भारतलाई बिक्री गरिने विद्युतको औसत मूल्य ५.२५ देखि ५.४५ भारतीय रुपैयाँ प्रतियूनिट छ ।

प्राधिकरणले २०७८ कात्तिक १६ गतेदेखि भारतमा औपचारिक रूपमा विद्युत् बिक्री सुरु गरेको थियो । सुरुवातमा ३९ मेगावाट बिक्री अनुमति पाएको नेपालले हाल भारत र बंगलादेशका लागि गरी कुल एक हजार १६५ मेगावाट विद्युत् बिक्री स्वीकृति प्राप्त गरिसकेको छ ।

प्राधिकरणका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्मको नौ महिनामा भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर २० अर्ब ४१ करोड ५६ लाख आम्दानी भएको छ । उक्त अवधिमा भारतबाट विद्युत् खरिदमा सात अर्ब ३९ करोडको विद्युत् आयात गरेको छ ।

साउनदेखि मंसिरसम्मको पाँच महिनामा मात्रै नेपालले कुल दुई हजार ७१४ गिगावाट–आवर विद्युत् निर्यात गरेको थियो । हाल नेपालको विद्युत् जडित उत्पादन क्षमता करिब चार हजार ३०० मेगावाट पुगेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । यदि उक्त लक्ष्य प्राप्त भएमा आगामी आर्थिक वर्षमा पाँच हजार पाँच सय मेगावाट माथि पुग्नेछ ।

प्राधिकरणका अनुसार वर्षात् सुरु भएसँगै अहिले विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्र गरी करिब २५ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ ।

प्राधिकरणका अनुसार अहिले ६० हजार बढी मेगावाट–आवर विद्युत् माग रहेको छ । आन्तरिक खपत ४३ हजार ५०२ मेगावाट–आवर छ । उच्च मागको समयमा आन्तरिक माग दुई हजार १७६ मेगावाट मात्र रहेकाले बाँकी विद्युत् भारततर्फ निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

तर सुक्खायाम सुरु हुनासाथ नेपालको आन्तरिक उत्पादन घट्छ । उत्पादन कमी भएसँगै भारतसँगै नेपालले विद्युत् निर्यात गर्ने गरेको छ । गत वर्षदेखि नेपाल खुद विद्युत् निर्यातकर्ता मुलुकको रूपमा स्थापित भइरहेको छ । हरेक वर्षको मङ्सिर लागेसँगै विद्युत् निर्यात गर्ने सुरु गर्ने गर्छ । नेपालमा अधिकांश नदी प्रवाह (आरओआर) जलविद्युत् परियोजना छन् । त्यसले गर्दा बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ । हिउँदमा भने क्षमताको २०–३० प्रतिशतको अनुपातमा बिजुली उत्पादन हुन्छ ।

  • बंगलादेश निर्यातमा प्राविधिक अड्चन

भारततर्फको निर्यात उत्साहजनक रहे पनि बंगलादेशतर्फको विद्युत् व्यापारको योजना भने केही सुस्त देखिएको छ । नेपालले हाल बंगलादेशलाई निर्यात गरिरहेको ४० मेगावाटमा थप २० मेगावाट वृद्धि गरी ६० मेगावाट पुर्‍याउने लक्ष्य राखेको थियो ।

जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो । विद्युत् प्राधिकरणबाट त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न अनुमति छ ।

तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले भारत–बंगलादेश प्रसारण लाइनको क्षमता अभाव देखाउँदै थप निर्यातका लागि स्वीकृति नदिएपछि यो प्रक्रिया रोकिएको छ ।

प्राधिकरणका प्रवक्ता ढकालका अनुसार भारतमा हालै सम्पन्न आम निर्वाचन र त्यसपछि दुई पक्षीय संयन्त्रको बैठक बस्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन । ‘संयन्त्रको बैठक बस्न ढिलाइ हुँदा बंगलादेश निर्यातको प्रक्रियाले गति लिन सकेको छैन,’ उनले भने, ‘ऊर्जा मन्त्रालयले बैठकका लागि समन्वय गरिरहेको छ, बैठक बस्न सकेमा यसले निकास पाउनेछ ।’

नेपालले बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले विद्युत् बिक्री गर्दै आएको छ । थप २० मेगावाटको स्वीकृति प्राप्त भएमा सोही दरमा थप निर्यात हुने छ ।

नेपाल–बंगलादेश सीमा नजोडिएका कारण भारतीय संरचना प्रयोग गरी बिजुली बिक्री गर्नुपर्छ । जसलाई भारतको अनुमति अनिवार्य हुन्छ । भारतीय स्वीकृतिअनुसार दुई आयोजनाको विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यातको अनुमति छ ।

तर, भारतबाट ट्रान्जिट तथा व्यापारसम्बन्धी थप स्वीकृति नआएकाले यो योजना तत्काल कार्यान्वयन हुन नसकेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्राधिकरणका अनुसार गत वर्ष जुन मध्यदेखि नोभेम्बर मध्यसम्म करिब १४७ गिगावाट–आवर विद्युत् बंगलादेश निर्यात गरिएको थियो । सम्झौताअनुसार प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् बिक्री गरिरहेको छ ।

नेपालले गत वर्ष पाँच महिनाको अवधिमा ९.४३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो । नेपालबाट भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले नै तिर्ने व्यवस्था छ ।

नेपालले भारतको मुजफ्फरपुरमा विद्युत्को मिटर राखेर सोही मिटरअनुसार भारतमा विद्युत् निर्यात गर्छ । मुजफ्फरपुर विद्युत् निर्यात गर्दा हुने प्राविधिक नोक्सानी (ट्रान्समिसन लस) प्राधिकरणले व्यहोर्ने छ । त्यस्तै, मुजफ्फरपुरबाट बंगलादेशको सीमासम्म हुने विद्युत्को नोक्सानी बंगलादेशी पक्षले व्यहोर्ने छ ।

भारतको बेहरामपुर (भारत)–भेरामेरा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत नेपालको विद्युत् बंगलादेश पुर्‍याइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप