चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
सारांश
- वीर अस्पताल र ट्रमा सेन्टरका करार चिकित्सकहरूले आफ्नो योग्यतामाथि प्रश्न उठाउने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
- चिकित्सकहरूले नेपाल चिकित्सक संघका केही पदाधिकारीबाट आएका टिप्पणीले व्यावसायिक प्रतिष्ठामा आक्षेप लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
- करारमा कार्यरत हुनु योग्यता वा क्षमतामा प्रश्न उठाउने आधार नभएको भन्दै उनीहरूले तत्काल आत्मालोचना गर्न माग गरेका छन्।
काठमाडाैँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा करार तथा मासिक ज्यालादारीमा कार्यरत चिकित्सकहरूले आफ्नो योग्यता, क्षमता र दक्षतामाथि प्रश्न उठाइएको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत चिकित्सकहरूको मानमर्दन हुने गरी अभिव्यक्ति दिइएको भन्दै उनीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
शुक्रबार जारी संयुक्त विज्ञप्तिमा चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको जिम्मेवारीमा रहेका केही पदाधिकारीबाटै सहकर्मी चिकित्सकको व्यावसायिक प्रतिष्ठामाथि आक्षेप लगाउने खालका टिप्पणी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विज्ञप्तिमा चिकित्सकहरूको हकहित संरक्षण गर्ने दायित्व बोकेका पदाधिकारीबाटै यस्तो अभिव्यक्ति आउनु दुःखद र चिन्ताजनक भएको उल्लेख गरिएको छ। आफूहरू नेपाल मेडिकल काउन्सिलको अनिवार्य इजाजतपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गरी नेपाल सरकारले तोकेको विधि, प्रक्रिया र मापदण्ड पूरा गरेर सेवामा आबद्ध भएको उनीहरूको भनाइ छ।
‘हाम्रो योग्यता र दक्षतामाथि प्रश्न उठाउनु आधारहीन मात्र होइन, व्यावसायिक प्रतिष्ठामाथिको अन्यायपूर्ण आक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ।
चिकित्सकहरूले आफूहरूमाथि टिप्पणी गर्ने केही चिकित्सकसमेत विभिन्न स्वास्थ्य संस्थामा करार सेवामै कार्यरत रहेको तथ्य स्मरण गराउँदै करार सेवामा कार्यरत हुनु कुनै पनि चिकित्सकको योग्यता वा क्षमतामाथि प्रश्न उठाउने आधार हुन नसक्ने बताएका छन्।
चिकित्सक समुदायभित्रको भ्रातृत्व, आपसी सम्मान र व्यावसायिक सम्बन्धलाई ध्यानमा राख्दै भ्रमपूर्ण तथा आक्षेपजनक अभिव्यक्ति दिने पदाधिकारीलाई आफ्नो भनाइ तत्काल फिर्ता लिन र आत्मालोचना गर्न उनीहरूले माग गरेका छन्।
यस्ता अभिव्यक्ति दोहोरिँदै गएमा तथा चिकित्सकहरूको आत्मसम्मान र संस्थागत गरिमामाथि चोट पुर्याउने कार्य नरोकिएमा आफ्नो व्यावसायिक प्रतिष्ठाको संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण