शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
विश्वकप फुटबल

अस्ट्रियामाथि ३–० को सानदार जित निकाल्दै स्पेन अर्को चरणमा

शुक्रबार, १९ असार २०८३, ०२ : ४३
शुक्रबार, १९ असार २०८३

सारांश

  • स्पेनले फिफा विश्वकपको राउन्ड अफ ३२ को खेलमा अस्ट्रियालाई ३-० गोलले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
  • स्पेनका लागि मिकेल ओयार्जाबालले दुई गोल र पेड्रो पोरोले एक गोल गरे, जसले गर्दा स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्‍यो।
  • युवा खेलाडी लामिन यमलले गोल गर्न नसके पनि सन् १९६६ यताकै कान्छो खेलाडीको कीर्तिमान बनाएका छन्।

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत शुक्रबार बिहान सम्पन्न 'राउन्ड अफ ३२' को खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ । यससँगै स्पेन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा स्पेनका लागि मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे।

खेलको ३६ औं मिनेटमा मार्क कुकुरेलाको लो–क्रसमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा आफ्नो दबाबलाई थप मजबुत बनायो। 

खेलको ६६ औं मिनेटमा एलेक्स बाएनाको उत्कृष्ट क्रसलाई पेड्रो पोरोले हेडरमार्फत जाली चुमाउँदै स्पेनको अग्रता दोब्बर पारे। यो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

खेल सकिनै लाग्दा ८९ औं मिनेटमा ओयार्जाबालले पुनः कुकुरेलाकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अस्ट्रियाको चुनौती पूर्ण रूपमा समाप्त पारे। स्पेनका युवा स्टार लामिन यमलले भने गोल गर्न सकेनन् । यद्यपि उनले १० भन्दा बढी ड्रिबल र विपक्षीको पेनाल्टी बक्समा १३ पटक टच गरेर सन् १९६६ यताकै कान्छो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । 

उनको एउटा प्रहारलाई अस्ट्रियाका डेभिड अलाबाले गोललाइनबाट क्लियर गरेका थिए।

यो जितसँगै स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्न सफल भएको छ। अब स्पेनले क्वार्टरफाइनलमा प्रवेशका लागि आगामी जुलाई ७ मा पोर्चुगल र क्रोएसियाबिचको विजेताको सामना गर्नेछ। हारसँगै अस्ट्रिया भने प्रतियोगिताबाटै बाहिरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?