जलवायु परिवर्तनले गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्दो
काठमाडौं । जलवायु परिवर्तनका कारण बालबालिकामाथि गम्भीर असर पर्दै गएको जलवायु विज्ञहरुले बताएका छन् । हिमालमा हिउँ पग्लिनु र समयमा पानी नपर्नुलाई मात्र जलवायु परिवर्तनसँग जोडेर हेर्दा अन्याय हुने विज्ञहरुको धारणा छ । ‘जलवायु परिवर्तनले बालबालिकामाथि पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन् ।
जलवायु सम्बन्धी अध्येता खुश्बु पौडेलले जलवायु परिवर्तनकै कारण महिला, बालबालिका, सुत्केरी तथा गर्भवतीले स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकार गुम्दै गएको बताइन् । आइपास नेपालले सन् २०२२ मा गरेको अध्ययन उद्धृत गर्दै उनले जलवायु परिवर्तनकै कारण महिला र बालबालिकामा नियमित खोप छुट्ने, परिवार नियोजनका साधनको अभावका कारण अनिच्छित गर्भधारण हुने अवस्था देखिएको बताइन् । विद्यालय जाने उमेरका किशोरीहरू पानीको समस्याका कारण महिनावारी भएको समयमा विद्यालय जान नसक्ने अवस्था देखाएको उनको भनाइ थियो । उनका अनुसार जलवायु परिवर्तनको असर वातावरणमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ तथा बालअधिकारमा समेत प्रत्यक्ष रूपमा देखिन थालेको छ ।
मानवजन्य गतिविधिका कारण सिर्जित जलवायु परिवर्तनले वर्षाको सम्भावना, प्रवृत्ति र तीव्रतालाई कति हदसम्म प्रभावित गर्यो भन्ने विषयमा विभिन्न समीक्षात्मक अध्ययन गरिएको जलवायुविज्ञ मञ्जित ढकालले बताए । उनका अनुसार पृथ्वीको तापक्रम बढ्दै जाँदा मुलुकका करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल साँघुरिएको छ । पछिल्लो १ सय ५० वर्षमा मानव गतिविधिका कारण पृथ्वीको औसत तापक्रम करिब १ डिग्री सेल्सियसले वृद्धि भएको तथा सन् २०४० सम्म विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको उनले बताए ।

ढकालका अनुसार हाल पृथ्वीको औसत तापक्रम १.२ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ भने विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियसले वृद्धि हुँदा हिमालको एकतिहाइ हिउँ पग्लिने खतरामा छ । यस जोखिमबाट बढ्दै बालबालिकालाई सुरक्षित राख्न धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनले सुझाव दिए ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाकी नर्सिङ अधिकृत उमा रेग्मीका अनुसार वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या मात्र नभई मुटु तथा रक्तनलीका रोग, फोक्सोको क्यान्सर, स्ट्रोक, गर्भावस्थामा जटिलता तथा बालबालिकाको शारीरिक विकासमा समेत गम्भीर असर पारिरहेको छ । वायु प्रदूषणका कारण दम, दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सीओपीडी), निमोनिया, उच्च रक्तचाप, हृदयाघात, स्ट्रोकलगायतका रोगको जोखिम बढिरहेको छ । गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरु वायु प्रदूषणबाट सबैभन्दा बढी प्रभावित हुने समूह रहेको उनको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोगका दीपेन्द्रबहादुर सिंहले आफ्नो अधिकारको संरक्षण आफैं गर्न नसक्ने समुदाय जलवायु परिवर्तनको सबैभन्दा बढी चपेटामा परेको बताए । विशेषगरी बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा राउटे र चेपाङजस्ता सीमान्तकृत समुदाय जलवायु परिवर्तनबाट बढी प्रभावित भएको उनले बताए । ‘तराईमा अत्यधिक गर्मी भए पनि वातानुकूलित (एसी) कोठामा बस्न सक्ने व्यक्तिलाई जलवायु परिवर्तनले खासै असर नगरेजस्तो लाग्न सक्छ । तर एसी राख्न सक्ने आर्थिक क्षमता नभएका समुदायका लागि जलवायु परिवर्तन प्रत्यक्ष रूपमा स्वास्थ्य, जीविकोपार्जन र मानव अधिकारको विषय हो,’ उनले भने ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार लगातार पाँच वा सोभन्दा बढी दिनसम्म कुनै स्थानको दैनिक अधिकतम तापक्रम त्यही स्थानको औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियस वा सोभन्दा बढी भए त्यसलाई तापलहर (हिट्वेभ) मानिन्छ । नेपालमा तापलहर मुख्यतः अप्रिलदेखि जुनसम्म देखिने भएपनि कतिपय अवस्थामा जुलाईसम्म पनि कायम रहने गरेको उनले बताए । धिमालले बढ्दो तापक्रमले गर्भवती महिला, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्यमा गम्भीर असर पार्न थालेको बताए। उनका अनुसार अत्यधिक गर्मीका कारण समयअघि शिशु जन्मिने र मृत शिशु जन्मिने जोखिम बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिव डा. प्रकाश सिंह थापाले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको भविष्य सुरक्षित गर्न अहिले नै प्रभावकारी तयारी आवश्यक रहेको बताए । विज्ञहरुले तापक्रम निरन्तर बढ्ने क्रममा रहेको बताइरहेका बेला अहिलेको भन्दा झनै बढी जोखिम भोग्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।
विभिन्न अन्तर्राष्ट्रिय मिडियामा काम गरिसकेका पत्रकार दीपक अधिकारीले जलवायु परिवर्तन र वातावरण क्षेत्रमा गरेका रिर्पोटिङहरुको अनुभव सुनाउँदै सञ्चारकर्मीहरुलाई यो क्षेत्रमा रिर्पोटिङ गर्न उत्साह प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
-
बैतडी बस दुर्घटना : घाइतेको संख्या १९ पुग्यो, दुई जनाको अवस्था गम्भीर
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण