इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्दै शान्ति प्रक्रिया अघि बढाउने प्रयास गरिरहेका बेला पछिल्ला सैन्य घटनाक्रमले उनको रणनीतिमा नयाँ चुनौती थपिएको छ। अमेरिका र इरानबीच लगातार भइरहेका आक्रमण–प्रत्याक्रमणले केही साताअघि भएको अन्तरिम समझदारीलाई कमजोर बनाएको छ भने पूर्ण शान्ति सम्झौताको सम्भावनामाथि पनि अनिश्चितता बढाएको विश्लेषकहरूले बताएका छन्।
पछिल्लो घटनाक्रममा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको थियो। त्यसको जवाफमा अमेरिकाले लगातार दोस्रो दिन इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको थियो। त्यसपछि ट्रम्पले अमेरिका र इरानबीच भएको अन्तरिम युद्धविरामसम्बन्धी समझदारी समाप्त भएको घोषणा गर्दै थप सैन्य कारबाहीको आदेश दिएका थिए।
यो घटनाक्रमले तीन साताअघि भएको युद्धविरामको प्रारम्भिक सहमतिमाथि गम्भीर प्रश्न उठाएको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको समझदारीलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयास भइरहेका बेला पुनः हिंसा चर्किएपछि कूटनीतिक प्रक्रिया झन् जटिल बनेको छ।
राजनीतिक तथा सुरक्षा विश्लेषकहरूका अनुसार ट्रम्प अहिले निकै अप्ठ्यारो अवस्थामा पुगेका छन्। यदि उनले इरानमाथि अझ व्यापक सैन्य कारबाही गरे पूर्ण युद्ध फेरि सुरु हुन सक्ने जोखिम छ। अर्कोतर्फ, यदि अमेरिकाले दबाब कम गर्यो भने इरानले स्ट्रेट अफ होर्मुजमाथिको आफ्नो प्रभाव अझ मजबुत बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।
स्ट्रेट अफ होर्मुज विश्व बजारमा ऊर्जा आपूर्तिको सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। विश्वमा खपत हुने झन्डै २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै ओसारिने भएकाले यस क्षेत्रमा हुने कुनै पनि सैन्य तनावले विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। पछिल्ला दिनमा त्यहाँ जहाजको आवागमन उल्लेखनीय रूपमा घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ।
ट्रम्पले पछिल्ला आक्रमणपछि परिस्थिति धेरै छिट्टै सामान्य हुने विश्वास व्यक्त गरेका छन्। तर अधिकांश अन्तर्राष्ट्रिय विश्लेषक भने यसप्रति आशावादी छैनन्। उनीहरूका अनुसार दुवै पक्ष अहिले पनि एकअर्कामाथि दबाब कायम राख्दै भविष्यको वार्तामा आफ्नो पक्ष बलियो बनाउन चाहिरहेका छन्।
अमेरिकाका पूर्व मध्यपूर्व वार्ताकार एरन डेभिड मिलरका अनुसार ट्रम्पले आफूलाई कठिन परिस्थितिमा पुर्याएका छन्। उनका अनुसार सैन्य वा कूटनीतिक दुवै माध्यमबाट ट्रम्पले इरानबाट आफूले चाहेको उपलब्धि हासिल गर्ने सम्भावना अहिले निकै कमजोर देखिन्छ।
ट्रम्प प्रशासनको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रममाथि दीर्घकालीन नियन्त्रण कायम गर्नु रहेको बताइन्छ। अमेरिकी राष्ट्रपति इरानलाई पुनः वार्ताको टेबलमा ल्याउन सैन्य दबाब प्रयोग गर्न चाहिरहेका छन्। तर धेरै विशेषज्ञहरूका अनुसार तेहरान आफ्नो आणविक कार्यक्रमका विषयमा अमेरिकाले चाहेजस्तो ठूलो सम्झौता गर्न तयार देखिएको छैन।
अमेरिकाभित्र पनि ट्रम्पमाथि युद्ध अन्त्य गर्न दबाब बढ्दै गएको छ। लामो समयदेखि जारी युद्धले हजारौँ मानिसको ज्यान लिइसकेको छ भने अमेरिकी अर्थतन्त्रमा पनि असर परेको छ। ऊर्जा मूल्यवृद्धिका कारण इन्धन महँगिएको छ, जसको प्रत्यक्ष असर अमेरिकी उपभोक्तामाथि परेको छ।
आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा युद्धको राजनीतिक प्रभाव पनि बढ्दै गएको छ। रोयटर्स/इप्सोसले जुन महिनामा गरेको सर्वेक्षणअनुसार ट्रम्पको लोकप्रियता घटेर ३४ प्रतिशतमा झरेको छ, जुन उनको दोस्रो कार्यकालकै सबैभन्दा न्यून स्तर हो। यसले रिपब्लिकन पार्टीको संसदीय बहुमत कायम राख्ने सम्भावनामाथि पनि दबाब बढाएको विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार यदि युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य अझ बढ्यो भने त्यसको प्रत्यक्ष असर अमेरिकी मतदातामाथि पर्न सक्छ। त्यसैले ट्रम्प आर्थिक स्थायित्व कायम राख्न पनि युद्ध चाँडै अन्त्य गर्न इच्छुक देखिन्छन्। यद्यपि, शान्ति प्रक्रिया सहज देखिएको छैन। अन्तरिम समझदारीमा उल्लेख गरिएको ६० दिनको वार्ता अवधिभित्र स्थायी समाधान निकाल्ने सम्भावना निकै कम रहेको धेरै विश्लेषकहरूको निष्कर्ष छ। कठिन विषयहरू भविष्यका चरणबद्ध वार्ताका लागि राखिए पनि अहिलेसम्म कुनै उल्लेखनीय प्रगति हुन सकेको छैन।
यसैबीच अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न दिएको छुट रद्द गरिसकेको छ। यसले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। तर आर्थिक तथा सैन्य क्षति बेहोरे पनि इरानको नेतृत्व थप दबाब सहन तयार देखिएको विश्लेषकहरूको भनाइ छ।
एटलान्टिक काउन्सिलसँग आबद्ध पश्चिम एसियाली विशेषज्ञ जोनाथन पानिकोफका अनुसार अबको अवस्था पूर्ण युद्धभन्दा पनि नियन्त्रित अस्थिरतातर्फ अघि बढ्ने सम्भावना बढी छ। उनका अनुसार आगामी दिनमा बेला–बेलामा सीमित सैन्य झडप हुने, तर स्थायी समाधान ननिस्कने अवस्था कायम रहन सक्छ।
उता, स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज केन्द्रका विशेषज्ञ जोन अल्टरम्यानका अनुसार पछिल्लो तनावको मुख्य कारण स्ट्रेट अफ होर्मुजको नियन्त्रणबारे अमेरिका र इरानबीच रहेको फरक दृष्टिकोण हो। इरान भविष्यमा पनि उक्त समुद्री मार्गको व्यवस्थापनमा आफ्नो भूमिका कायम राख्न चाहन्छ भने अमेरिका र उसका खाडी क्षेत्रका सहयोगी मुलुकले अन्तर्राष्ट्रिय जहाजका लागि निर्बाध र सुरक्षित आवागमन सुनिश्चित हुनुपर्ने अडान राखेका छन्।
विश्लेषकहरूका अनुसार इरानले ट्रम्प लामो समयसम्म युद्धमा फस्न चाहँदैनन् भन्ने निष्कर्ष निकालेको हुन सक्छ। त्यसैले सीमित सैन्य दबाब कायम राखेर भविष्यको वार्तामा आफूलाई बलियो अवस्थामा पुर्याउने रणनीति तेहरानले अपनाएको हुन सक्ने अनुमान गरिएको छ।
ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिका अनावश्यक विदेशी युद्धमा संलग्न नहुने र घरेलु अर्थतन्त्रलाई प्राथमिकता दिने वाचा गरेका थिए। अहिले इरानसँगको युद्धले ती प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण