चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
सारांश
- चीनको आधिकारिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्कमाथि प्रश्न उठाउने प्रख्यात चिनियाँ अर्थशास्त्री गाओ शानवेनको ५५ वर्षको उमेरमा निधन भएको छ ।
- उनको निधनपछि चिनियाँ सामाजिक सञ्जालमा सत्य बोल्ने दुर्लभ अर्थशास्त्रीको रूपमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
- गाओले चीनको वास्तविक आर्थिक वृद्धिदर सरकारी आँकडाभन्दा निकै कम, करिब २ प्रतिशत मात्र हुनसक्ने बताएपछि उनी अन्तर्राष्ट्रिय चर्चामा आएका थिए ।
काठमाडाैँ । चीनको आधिकारिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी तथ्याङ्कमाथि सार्वजनिक रूपमा प्रश्न उठाएर अन्तर्राष्ट्रिय चर्चा कमाएका प्रख्यात चिनियाँ अर्थशास्त्री गाओ शानवेनको निधन भएको छ । उनको ५५ वर्षको उमेरमा निधन भएकाे हाे ।
उनकाे निधनपछि चिनियाँ सामाजिक सञ्जालमा श्रद्धाञ्जलीको लहर चलेको छ भने धेरै प्रयोगकर्ताले उनलाई सत्य बोल्ने दुर्लभ अर्थशास्त्री भनेका छन् ।
सरकारी स्वामित्वको लगानी समूह एसडीआईसी सेक्युरिटिजका पूर्वप्रमुख अर्थशास्त्री रहेका गाओको बिरामीका कारण निधन भएको साङ्घाई सेक्युरिटिज न्युजले जनाएको छ । यद्यपि, उनको मृत्यु कहिले भएको भन्ने विवरण सार्वजनिक गरिएको छैन । गाओलाई चीनको पुँजी बजारका सबैभन्दा प्रभावशाली समष्टिगत (म्याक्रो) अर्थशास्त्रीमध्ये एक मानिन्थ्यो ।
गाओ शानवेन सन् २०२४ को अन्त्यतिर अमेरिकाको वासिङ्टन डीसीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा दिएको अभिव्यक्तिपछि विश्वभर चर्चामा आएका थिए । पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्स र एक चिनियाँ थिंक ट्याङ्कले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले चीनको वास्तविक आर्थिक वृद्धि पछिल्ला दुई–तीन वर्षमा औसतमा करिब २ प्रतिशत मात्र हुनसक्ने बताएका थिए ।
यो आँकडा चीन सरकारले सार्वजनिक गर्दै आएको करिब ५ प्रतिशतको आधिकारिक आर्थिक वृद्धिदरभन्दा निकै कम थियो । चीनमा सरकारले हरेक वर्ष आर्थिक वृद्धिको लक्ष्य निर्धारण गर्ने र प्रायः त्यही लक्ष्य पूरा भएको घोषणा गर्ने परम्परा रहेकाले गाओको अभिव्यक्तिलाई बेइजिङको आधिकारिक धारणा प्रत्यक्ष चुनौती दिएको रूपमा हेरिएको थियो ।
उनको भनाइले चीनको आर्थिक तथ्यांकको विश्वसनीयता माथि लामो समयदेखि उठ्दै आएका अन्तर्राष्ट्रिय शंकालाई पनि बल पुगेको विश्लेषण गरिएको थियो ।
उक्त अभिव्यक्तिपछि गाओ करिब एक वर्ष सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । त्यसपछि उनी सन् २०२५ को सेप्टेम्बरमा पेकिङ विश्वविद्यालयको एक कार्यक्रममा भिडियोमार्फत छोटो सम्बोधनका लागि मात्र सार्वजनिक रूपमा देखिएका थिए ।
त्यस अवधिमा उनी सरकारी अनुसन्धानको दायरामा रहेको चर्चा चलेको थियो । तर उनीसँग निकट एक व्यक्तिका अनुसार गाओले सन् २०२५ को जनवरीमै आफूलाई क्यान्सर भएको जानकारी साथीभाइ र सहकर्मीहरूलाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाएकोमा गगन थापाको आपत्ति
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
-
नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्याउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण