बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

बिहीबार, २५ असार २०८३, १६ : २६
बिहीबार, २५ असार २०८३

काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाका कर्मचारीले कागजात सच्याएर अपाङ्गता परिचयपत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। 

अख्तियारले पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौ संजय कुमार पाण्डेय, अपाङ्ग शाखामा कार्यरत कर्मचारी अम्बिका महतो खुलवट र सामाजिक सुरक्षा भत्ता लिने महेन्द्र राउत कुर्मीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो।

नगरपालिकाका कर्मचारी र सेवाग्राहीको मिलेमतोमा अपाङ्गताको परिचयपत्र हेरफेर गरी सरकारी रकम दुरुपयोग भएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा तत्कालीन अधिकृत पाण्डेय र कर्मचारी खुलवटले प्रतिवादी महेन्द्र राउत कुर्मीसँगको मिलेमतो र योजनामा बदनियत राखेर सरकारी अभिलेख सच्याएको पुष्टि भएको छ।

कुर्मीको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा पोखरिया नगरपालिकाको अपाङ्गता समन्वय समितिको २०७८ साल असोज ११ गतेको बैठकले निजलाई 'ग' वर्गको अपाङ्गता वर्गीकरण गरेको थियो। कार्यविधि अनुसार उक्त 'ग' वर्गको कार्ड पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदैनथे।

 तर, आरोपीहरूले सो कुरा थाहा पाउँदापाउँदै सरकारी सार्वजनिक अभिलेखमा रहने लिखत जानीजानी बदनियतपूर्वक केरमेट र सच्याउने कार्य गरेका थिए। उनीहरूले भत्ता पाउने वर्ग 'क' अर्थात् रातो कार्ड बनाएर गलत लिखत तयार एवं प्रमाणित गरी गराई कुल १ लाख ९१ हजार ५२० रूपैयाँ बराबरको गैरकानुनी लाभ लिए दिएको अख्तियारले जनाएको छ। 

यसरी सरकारी सरकारी कोषको रकम हिनामिना गर्ने कार्यमा संलग्न देखिएकाले ती प्रतिवादीहरू उपर सजायको मागदाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

2_page-0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप