आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
सारांश
- जनता समाजवादी पार्टी (जसपा) ले पठाओ चालक गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।
- जसपाले घटनालाई क्षणिक आवेगका रूपमा टार्न नमिल्ने भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताएको छ।
- पार्टीले मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिनुका साथै यस्ता घटना दोहोरिन नदिन श्रमिकका गुनासा सुन्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गम्भीर दुःख व्यक्त गरेको छ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
विज्ञप्तिमा कुनै पनि नागरिक आफ्नो पीडा, निराशा वा अन्यायको अनुभूतिलाई आत्मदाह जस्तो भयावह निर्णयमार्फत अभिव्यक्त गर्न बाध्य हुनु कानुनी राज्यका लागि गम्भीर चेतावनी भएको उल्लेख छ। एउटा व्यक्तिको मृत्यु हुनु भनेको परिवारले सदस्य गुमाउनु मात्र नभई समाजले सक्रिय नागरिक र राज्यले आफ्नो उत्तरदायित्वमाथि गम्भीर प्रश्नको सामना गर्नु रहेको जसपाको ठहर छ।
यस घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगका रूपमा टार्न नमिल्ने भन्दै यसको वास्तविक कारण र पृष्ठभूमिको निष्पक्ष, पारदर्शी तथा विश्वसनीय छानबिन गर्न माग गरिएको छ। यदि कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरबाही र गैरजिम्मेवारी यसमा जोडिएको पाइएमा कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
जसपाले नेपाल सरकारसँग दिवङ्गत नेपालीका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोगको तत्काल व्यवस्था गर्न जोडदार माग गरेको छ। यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन श्रमिक वर्ग, कामदार, युवा तथा सबै नागरिकका गुनासा समयमै सुन्ने, न्याय दिलाउने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्न आवश्यक रहेको पार्टीले औँल्याएको छ।
मानव जीवनभन्दा ठुलो कुनै पनि विषय हुन नसक्ने भन्दै राज्यको पहिलो दायित्व नागरिकको जीवन, सम्मान र न्यायको संरक्षण गर्नु भएको जसपाले स्पष्ट पारेको छ। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने भन्दै यो घटना सबैका लागि गम्भीर आत्मसमीक्षा र जिम्मेवारीबोधको विषय बन्नुपर्नेमा जोड दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण