शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा

शुक्रबार, २६ असार २०८३, २१ : ३०
शुक्रबार, २६ असार २०८३

सारांश

  • गणेश नेपालीको आत्मदाह प्रकरणमा सोधपुछका लागि बोलाइएका ३ जना महानगर प्रहरीलाई अनुसन्धान पछि रिहा गरिएको छ ।
  • त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी असार २५ मा आफैँलाई आगो लगाएका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो ।
  • मोटरसाइकल ह्वील लक गरेको विषयमा विवाद भएपछि गणेशले पेट्रोल छर्केर आत्मदाह गरेका हुन् ।

काठमाडौँ । गणेश नेपालीको आत्मदाह प्रकरणमा सोधपुछका लागि बोलाइएका ३ जना महानगर प्रहरी रिहा भएका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी असार २५ मा आफैँलाई आगो लगाएका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।

विभागको ३ नम्बर गेट अगाडी काठमाडौँ महानगरपालिबाट खटिएका महिला प्रहरीसँग मोटरसाइकल ‘ह्वील लक’ गरेको विषयमा विवाद भएको थियो ।

गणेशसँग विवाद गर्ने २ जना महिला र एक जना पुरुष नगर प्रहरीलाई अनुसन्धान अधिकृतहरूले शुक्रबार दिनभर सोधपुछ गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार मिना नगरकोटी, मिना तामाङ र महानगर प्रहरीका अर्का एक जना पुरुष कर्मचारी घटनास्थलमा थिए ।

मिना नगरकोटीले मोटरसाइकलमा ‘ह्वील लक’ गरेर विवाद गरेको भेटिएको छ । तिनै जना नगर प्रहरीलाई घटनाबारे सोधपुछ गरेर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘आवश्यक परे हामी फेरि बोलाउँछौँ ।’

घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ । नगर प्रहरीसँगको विवाद पछि मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका गणेशले आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आत्मदाह गरेका हुन् । 

बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेपछि महानगर प्रहरीले ह्वील लक लगाएको थियो । पछि गणेशले प्रतिवाद गरेको भिडियो कुराकानीमा सुनिन्छ ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी अधिकृतका अनुसार गणेशले सडक भन्दा बाहिरतर्फ उँचो भागमा राख्दा पनि किन लक गरेको भनेर प्रश्न गरेका छन् । नगर प्रहरीलाई उनले आफ्नो मात्र मोटरसाइकलमा लगाएर अरूकोमा किन लक नलगाएको भनेर प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप