सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पको आदेश : मेराे हत्या प्रयास गरे इरानमाथि अहिलेसम्मकै शक्तिशाली आक्रमण गर्नू

के भन्छन् सुरक्षा तथा संवैधानिक विज्ञ ?
सोमबार, २९ असार २०८३, १४ : ४४
सोमबार, २९ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि इरानले हत्या वा हत्या प्रयास गरेमा अहिलेसम्मकै शक्तिशाली सैन्य आक्रमण गर्ने आदेश दिएको बताएका छन् ।
  • अमेरिकी संविधान र कानुनअनुसार राष्ट्रपतिको मृत्युपछि स्वतः सक्रिय हुने प्रतिशोध प्रणाली नभएको र उत्तराधिकारीले अन्तिम निर्णय लिने सुरक्षा विज्ञहरू बताउँछन् ।
  • ट्रम्पले आफू मारिए इरानमाथि कडा कारबाही गर्न उपराष्ट्रपति जेडी भान्सलाई निर्देशन दिन सक्ने सम्भावना छ, यद्यपि यस्तो आदेश कानुनी रूपमा टिक्न सक्नेमा शंका छ ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि इरानले हत्या वा हत्या प्रयास गरे त्यसको जवाफमा अमेरिकी सेनाले इरानमाथि अहिलेसम्मकै शक्तिशाली सैन्य आक्रमण गर्ने बताएका छन्।

तर अमेरिकी संविधान, कानुन र सैन्य प्रणालीअनुसार राष्ट्रपतिको मृत्युपछि स्वतः सक्रिय हुने कुनै पूर्वस्वीकृत प्रतिशोध प्रणाली नरहेको भन्दै सुरक्षा तथा संवैधानिक विज्ञहरू ट्रम्पको भनाइ व्यवहारमा त्यति सरल नभएको बताउँछन्।

ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जालमार्फत इरानले आफ्नो हत्या गर्ने वा हत्या प्रयास गर्ने धम्की दिएको दाबी गर्दै त्यसो भए इरानविरुद्ध एक हजार मिसाइल तयारी अवस्थामा रहेको र त्यसपछि थप हजारौँ मिसाइल प्रहार गरिने उल्लेख गरेका थिए। उनले ती मिसाइलहरू इस्लामिक गणतन्त्र इरानतर्फ लक्षित अवस्थामा रहेको दाबी गरेका हुन् । उनले आदेश समेत दिएका छन्।

तर अमेरिकी कानुनी व्यवस्थाअनुसार कुनै पनि राष्ट्रपतिको मृत्युपछि सैन्य प्रतिकार स्वतः सुरु हुने व्यवस्था छैन। त्यसको सट्टा अमेरिकी संविधानको २५औँ संशोधन र सन १९४७ को राष्ट्रपति उत्तराधिकार ऐन लागू हुन्छ ।

राष्ट्रपतिको मृत्यु भएलगत्तै उपराष्ट्रपति जेडी भान्स स्वतः राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै अमेरिकी सेनाका सर्वाेच्च कमान्डर बन्छन्। त्यसपछि इरानविरुद्ध कुनै पनि सैन्य कारबाही गर्ने वा नगर्ने अन्तिम निर्णय उनी स्वयंले गर्नुपर्ने हुन्छ।

यसको अर्थ ट्रम्पले जीवनकालमा दिएको कुनै पनि निर्देशन कार्यान्वयन गर्ने वा नगर्ने अधिकार उत्तराधिकारी राष्ट्रपतिमै रहनेछ । उनले ट्रम्पको चाहनाअनुसार प्रतिशोध लिन पनि सक्छन वा परिस्थितिअनुसार फरक रणनीति अपनाउन पनि सक्छन् ।

अमेरिकी सरकारका गोप्य सुरक्षा योजनामाथि अध्ययन गरेका लेखक ग्यारेट एम ग्राफका अनुसार अमेरिकाले विभिन्न कारणले कहिल्यै पनि स्वतः सक्रिय हुने डेड म्यान्स स्विच अर्थात् राष्ट्रपतिको मृत्यु भएपछि स्वतः सैन्य आक्रमण सुरु हुने प्रणाली प्रयोग गरेको छैन।

उनका अनुसार अमेरिकासँग आणविक आक्रमण वा वासिङ्टन पूर्ण रूपमा ध्वस्त हुने अवस्थाका लागि सरकार सञ्चालन निरन्तर राख्ने विस्तृत आकस्मिक योजना छन् । तर ती योजनाले पनि राष्ट्रपतिको मृत्यु हुनेबित्तिकै स्वतः मिसाइल प्रहार गर्ने अधिकार सेनालाई दिँदैनन्।

ग्राफका अनुसार ट्रम्पले भन्न खोजेको कुरा आफू मारिए अमेरिकी रक्षा मन्त्रालयले पहिलेदेखि तय गरिएका सैन्य योजना कार्यान्वयन गरोस् भन्ने हुन सक्छ । तर यस्तो आदेश कानुनी रूपमा टिक्न सक्नेमा शंका रहेको उनको भनाइ छ । किनभने राष्ट्रपतिको मृत्यु हुनेबित्तिकै सम्पूर्ण सैन्य अधिकार नयाँ राष्ट्रपतिमा सर्ने भएकाले अन्तिम निर्णय पनि उनैले गर्नुपर्ने हुन्छ।

उनले ट्रम्पले सार्वजनिक रूपमा मिसाइल प्रहारको मात्र उल्लेख गरेको र आणविक हतियार प्रयोग गर्ने विषय स्पष्ट रूपमा नउठाएको पनि बताए । यद्यपि ट्रम्पले निजी रूपमा उपराष्ट्रपति जेडी भान्सलाई आफू मारिए इरानमाथि कडा कारबाही गर्न निर्देशन दिन सक्ने सम्भावना भने रहेको उनले उल्लेख गरे । ट्रम्पको चेतावनी सार्वजनिक भएको केही घण्टापछि इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले आफ्ना पिता आयातोल्लाह अली खामेनीको हत्याको बदला लिन इरानी जनता प्रतिबद्ध रहेको बताएका छन् ।

सरकारी टेलिभिजनमार्फत प्रसारित लिखित सन्देशमा उनले आफ्ना पिता र युद्धमा मारिएका सबै व्यक्तिको रगतको बदला लिइने बताएका थिए । उनले प्रतिशोध सम्पूर्ण राष्ट्रको इच्छा भएको र त्यो अवश्य पूरा गरिने दाबी गरेका छन् ।

आयातोल्लाह अली खामेनीको मृत्यु गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले सुरु गरेको संयुक्त सैन्य आक्रमणमा भएको थियो । त्यसपछि इरानका विभिन्न सहरमा उनको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । ती कार्यक्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या गर्नुपर्ने माग राखिएका पोस्टर तथा ब्यानर पनि बोकेका थिए ।

यसैबीच अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले इजरायलले ट्रम्पको हत्या गर्न इरानले नयाँ योजना बनाएको जानकारी अमेरिकी अधिकारीहरूलाई दिएको दाबी गरेको छ । यसबारे ह्वाइट हाउसले औपचारिक प्रतिक्रिया दिएको छैन ।

तर ट्रम्पले यसै साता टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै आफू इरानको पहिलो निशानामा रहेको बताएका थिए । उनले आफूलाई अमेरिकी नेताका रूपमा हटाउने योजना इरानले बनाइरहेको दाबी गरेका थिए ।

पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा रक्षा मन्त्रालयकी उपप्रवक्ता रहेकी साब्रिना सिंहले इरानले वरिष्ठ अमेरिकी नेताहरूलाई निशाना बनाउन खोजिरहेको विषय अमेरिकी सुरक्षा निकायलाई पहिलेदेखि नै जानकारी रहेको बताएकी छन्। उनका अनुसार यस्ता धम्कीलाई गम्भीर रूपमा लिनुपर्छ ।

ट्रम्प यसअघि पनि दुई पटक हत्या प्रयासको निशानामा परिसकेका छन् । सन २०२४ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा उनीमाथि दुई छुट्टाछुट्टै आक्रमण प्रयास भएको थियो । यस वर्ष अप्रिलमा उनले सहभागी भएको ह्वाइट हाउस संवाददाता संघको कार्यक्रममा पनि एक बन्दुकधारी प्रवेश गरेको घटनाले सुरक्षा चिन्ता थप बढाएको थियो ।

हालै ट्रम्प टर्कीबाट वासिङ्टन फर्कंदा नयाँ विमानको सट्टा पुरानै एयर फोर्स वन प्रयोग गरेका थिए । कतारले उपहार दिएको नयाँ विमानमा पुराना विमानमा रहेका केही मिसाइल पहिचान तथा प्रतिरक्षा प्रणाली जडान नभएकाले सुरक्षा जोखिम रहेको चर्चा भएपछि उनले पुरानो विमान रोजेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त विमान परिमार्जन गर्न करिब ४० करोड अमेरिकी डलर खर्च भएको अनुमान गरिएको छ ।

टर्कीबाट फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू इरानको प्राथमिक निशाना रहेको बताएका थिए । यसैबीच अमेरिका र इरानबीच फेरि एकपटक आक्रमण र प्रतिआक्रमण सुरु भएपछि गत महिना भएको युद्धविराम तथा तनाव कम गर्ने प्रारम्भिक सहमति पनि संकटमा परेको छ।

यसअघि पनि इरानबाट अमेरिकी नेतामाथि खतरा रहेको विषय सार्वजनिक भइसकेको थियो। सन २०२२ मा अमेरिकी न्याय मन्त्रालयले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका एक सदस्यले ट्रम्प प्रशासनका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या गर्ने योजना बनाएको खुलासा गरेको थियो । त्यसपछि बाइडेन प्रशासनले इरानलाई अमेरिकी नागरिक वा वर्तमान तथा पूर्व सरकारी अधिकारीमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप