मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

उपभोक्तासँगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्छ: बार अध्यक्ष मिश्र

‘कारबाहीपछि पनि सामाजिक सञ्जालमार्फत व्यवसाय ध्वस्त पार्ने प्रवृत्ति उचित होइन’
सोमबार, २९ असार २०८३, १७ : ०५
सोमबार, २९ असार २०८३

सारांश

  • नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले उपभोक्ताका साथै व्यवसायीको अधिकारको पनि ख्याल राख्नुपर्ने बताएका छन्।
  • उनले स्वास्थ्य र सुरक्षामा असर पर्ने घटनामा कारबाही आवश्यक भए पनि प्रचारप्रसारले व्यवसायीको अधिकार प्रभावित हुने र व्यवसाय ध्वस्त हुने प्रवृत्ति रहेको उल्लेख गरे।
  • मिश्रले एउटा गल्तीका आधारमा राष्ट्रिय उद्यमीलाई समाप्त पार्नुभन्दा सुधारको अवसर प्रदान गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उपभोक्तासँगै व्यवसायीको अधिकारलाई पनि ख्याल राख्नुपर्ने बताएका छन्। 

नेपाल बार एसोसिएसन उपभोक्ता कानुन सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरू–उपभोक्ता अदालतको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष मिश्रले यस्तो धारणा राखेका हुन्।

उनले स्वास्थ्य र सुरक्षामा प्रत्यक्ष असर पर्ने घटनामा कारबाही आवश्यक भए पनि कारबाहीसँगै हुने सार्वजनिक प्रचारप्रसारले व्यवसायीको अधिकारसमेत प्रभावित हुने उल्लेख गरे। कुनै पसल वा कम्पनीमा अखाद्य वस्तु भेटिएपछि कानुनबमोजिम कारबाही भए पनि सामाजिक सञ्जाल र प्रचारप्रसारमार्फत व्यवसायलाई पूर्ण रूपमा ध्वस्त पार्ने प्रवृत्ति भइरहेको उनको भनाइ छ। 

कानुनी सजाय पाइसकेपछि पनि सामाजिक रूपमा आजीवन सजाय दिने अवस्था उचित हुन्छ कि हुँदैन भन्ने कुरामा विचार गर्न आवश्यक रहेको उनले बताए। एउटा गल्तीका आधारमा राष्ट्रिय उद्यमीलाई समाप्त पार्नुभन्दा सुधारको अवसर प्रदान गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए। चिकित्सा क्षेत्रको उदाहरण दिँदै उनले चिकित्सकहरूले दीर्घ अध्ययन र व्यावसायिक मापदण्डअनुसार उपचार गरे पनि कहिलेकाहीँ अप्रत्याशित परिणाम आउन सक्ने बताए। त्यस्ता घटनामा कानुनी क्षतिपूर्तिसँगै सामाजिक प्रतिष्ठामाथि हुने क्षतिका बारेमा पनि न्याय प्रणाली संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाल सरकारवादी हुने मुद्दाहरू उपभोक्ता अदालतमा लाने कुराहरू एकदमै जेन्युइन छ। प्रयास नभएको होइन, ४५ सालतिर हामी स्टुडेन्ट हुँदा चेर्नोबिल दुर्घटनाको कारणले गर्दा असर परेको पाउडर दूध नेपालमा ल्याइयो।’

 त्यो पाउडर दूधले स्वास्थ्यमा असर पारेकाले नेपालमा ल्याउने कार्य बन्द गरिपाऊँ भनी देवेन्द्र चूडालले हालेको मुद्दामा ‘कन्जुमर मास एक्सन’ लिइएको उनले स्मरण गरे। त्यस्तै ध्रुवबहादुर कार्कीको ‘हिमालयन सिमेन्टको सिमेन्ट किनेर मेरो घर चर्कियो, घरको क्षतिपूर्ति पाऊँ’ भन्ने अर्को मुद्दा पनि आफूहरूले पढेको उनले बताए।

विगतका यस्ता प्रयासहरूको चर्चा गर्दै उनले थपे, ‘अब अहिले फलानो गुडपाक पसलमा कीरा फेला पर्यो, फलानो स्वीट्समा साङ्ला फेला पर्यो, एक्सन लिनु ठीक हो। एक्सन लिएर प्रचार गर्नु कति ठीक हो ?’ उद्यमीको अधिकार पनि विचार गर्नुपर्ने भन्दै उनले व्यवसायीले कानुनबमोजिम सजाय पाउने कि सोसल मिडियाबाट पनि सजाय पाउने भनी प्रश्न गरे। 

के हामीले हाम्रा राष्ट्रिय उद्यमीहरूलाई एउटा गल्तीको कारणले समाप्तै गर्ने हो भन्दै उनले यो विचार गर्नुपर्ने अवस्था रहेको बताए। आफूले समोसा खाने ठाउँमा समोसाको मुनि सानो मुसो फेला परेको रिपोर्ट छर्पस्ट आएपछि विगत २०/२५ वर्षदेखि त्यहाँ जाने आँट गर्न नसकेको उदाहरण दिँदै उनले यो कारबाही सुधार गर्नका लागि हो कि प्रचार गर्नका लागि हो भन्ने कुरामा विचार गरी सुधारको अवसर दिनुपर्नेमा जोड दिए। उनले नेपालमा उपभोक्ताको न्यायका क्षेत्रमा विगतदेखि नै कानुनी अभ्यास र प्रयास हुँदै आएको समेत उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप