सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सञ्चारमाध्यमका गेटमा सवारी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न प्रमुख सचेतक थापाको माग

सोमबार, २९ असार २०८३, १७ : ०१
सोमबार, २९ असार २०८३

सारांश

  • प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।
  • थापाले सहरी क्षेत्रमा अव्यवस्थित पार्किङ आम समस्या भए पनि सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमै सवारी साधन तेर्स्याइनुले प्रश्न उब्जाएको बताइन् ।
  • उनले प्रेस स्वतन्त्रता र सञ्चार गृहको सुरक्षामा आँच आउने खालका गतिविधिहरू रोक्न सरकार संवेदनशील हुनुपर्ने उल्लेख गरिन् ।

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटहरूमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यसको निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेकी छन् । सञ्चार क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्ने गरी भएको यस घटनाको सत्य तथ्य पारदर्शी रूपमा सार्वजनिक हुनुपर्नेमा उनले बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा प्रमुख सचेतक थापाले थापाले सहरी क्षेत्रमा अव्यवस्थित पार्किङ आम समस्याका रूपमा रहे तापनि सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमै सवारी साधन तेर्स्याइनुले स्वाभाविक प्रश्नहरू उब्जाएको बताइन् । ‘उक्त सवारीसाधन त्यहीँ किन र कसले पार्क गर्‍यो ?  यो केवल संयोग मात्र थियो वा यसको पछाडि कुनै उद्देश्य लुकेको छ,’ थापाले प्रश्न गरिन् । मिडिया संस्थाहरू प्रत्यक्ष प्रभावित हुने स्थान नै रोजिनुले घटनाको नियतमाथि आशङ्का गर्ने ठाउँ ठाउँ दिएको उनको भनाइ छ।

नेता थापाले यी गम्भीर प्रश्नहरूको उत्तर केवल अनुमान, आशङ्का वा हल्लाका आधारमा नभई राज्यका जिम्मेवार निकायहरूको निष्पक्ष अनुसन्धानबाट आउनुपर्ने माग गरिन् । घटनाको यथार्थ विवरण पारदर्शी ढङ्गले सार्वजनिक हुँदा मात्र नागरिकमा भ्रम नजन्मिने र राज्यका संयन्त्रहरूमाथिको जनविश्वास सुदृढ हुने उनको भनाइ छ ।   

 थापाले आधुनिक समाजमा स्वतन्त्र र निर्भीक सञ्चारमाध्यम लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भ भएको बताउँदै प्रेस स्वतन्त्रता र सञ्चार गृहको सुरक्षामा आँच आउने खालका गतिविधिहरू रोक्न र सत्य तथ्य बाहिर ल्याउन सरकार संवेदनशील हुनुपर्ने थापाले उल्लेख गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप