सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

ग्यासदेखि ग्लोबल पावरसम्म

कतारको कायापलट गर्ने शेख हमादको आर्थिक विरासत
सोमबार, २९ असार २०८३, १५ : २९
सोमबार, २९ असार २०८३

सारांश

  • कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।
  • शेख हमादको १८ वर्षे शासनकालमा कतार विश्वकै सबैभन्दा ठुलो लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) निर्यातकर्ता बन्यो।
  • उनले प्राकृतिक स्रोतबाट प्राप्त सम्पत्तिलाई उत्पादनशील सम्पत्ति, वित्तीय संस्था, पूर्वाधार र मानव पुँजी निर्माणमा लगानी गर्ने रणनीति अपनाए।

कतारका ‘पिता’ अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। आफ्नो १८ वर्षे शासनकालमा शेख हमादले ऊर्जा-सम्पन्न देशको आन्तरिक र विश्वव्यापी उपस्थितिलाई नयाँ रूप दिए।

सन् १९९५ मा उनले सत्ता सम्हाल्दा कतारको अर्थतन्त्र सानो थियो र मुख्यतया तेलमा निर्भर थियो। त्यसबेला नर्थ फिल्डको विशाल ग्यास भण्डार विकासको प्रारम्भिक चरणमै थियो।

दुई दशकभन्दा कम समयमै कतार विश्वकै सबैभन्दा ठुलो लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) निर्यातकर्ता बन्यो। साथै, यो देश सबैभन्दा ठुलो सार्वभौम सम्पत्ति कोष (सोभरेन वेल्थ फन्ड) को मालिक र उच्च प्रतिव्यक्ति आय भएका देशहरूमध्ये एक बन्न पुग्यो।

seikh hamid (2)

यो परिवर्तन बढ्दो ऊर्जाको मूल्यले ल्याएको तेल वा ग्यासको उछाल मात्र थिएन। यो त देशको आर्थिक मोडेलकै पूर्ण सुधार थियो। प्राकृतिक स्रोतबाट प्राप्त सम्पत्तिलाई उत्पादनशील सम्पत्ति, वित्तीय संस्था, पूर्वाधार र मानव पुँजी निर्माणमा लगानी गर्ने रणनीतिले यसलाई बलियो बनाएको थियो।

यो आर्थिक परिवर्तन शेख हमादले सत्ता सम्हालेपछि मात्र सुरु भएको थिएन। यसअघि सन् १९८९ मा उनी योजनासम्बन्धी सर्वोच्च परिषद्को अध्यक्ष नियुक्त भएका थिए। उक्त निकाय कतारको आर्थिक र सामाजिक नीति निर्माण गर्न जिम्मेवार थियो। यसैमार्फत उनले सत्तामा आउनुअघि नै विकास कार्यक्रमहरूको तयारीको अनुगमन गर्ने अवसर पाएका थिए।

यहाँ हामी शेख हमादको आर्थिक विरासतको चर्चा गर्दै छौँ। यसैले कतारलाई खाडीको एउटा सानो अर्थतन्त्रबाट विश्वव्यापी ऊर्जा र लगानी बजारको प्रमुख तथा प्रभावशाली खेलाडीमा रूपान्तरण गर्न मद्दत गर्‍यो।

  • ग्यासले कसरी बदल्यो कतारको अर्थतन्त्र ?

विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास भण्डार ‘नर्थ फिल्ड’ को विकास नै कतारको आर्थिक रूपान्तरणको वास्तविक सुरुवात थियो।

सन् १९९० को दशकको उत्तरार्धमा लगानी बढाउने र ग्यासलाई तरल बनाउने परियोजनाहरू विस्तार गर्ने निर्णय गरियो। यसले ऊर्जा बजारमा कतारको स्थान बदल्यो र यसलाई विश्वव्यापी नेतृत्वतर्फ अघि बढायो।

seikh hamid (6)

सन् १९९६ मा एलएनजीको पहिलो लट निर्यात गरेको कतार १५ वर्षभन्दा कम समयमै यसको विश्वकै सबैभन्दा ठुलो निर्यातकर्ता बन्यो।

कतार इनर्जी र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्याङ्कअनुसार, सन् २०१० सम्ममा यसको उत्पादन क्षमता वार्षिक ७ करोड ७० लाख टन पुगेको थियो।

यस उछालको प्रभाव राजस्व बढाउनमा मात्र सीमित रहेन। यसले विशेषगरी एसिया र युरोपको अर्थतन्त्रका लागि विश्वव्यापी ऊर्जा सुरक्षाको रणनीतिक साझेदारका रूपमा कतारको स्थानलाई मजबुत बनायो।

कतारको अमिरी दिवानको तथ्याङ्कले ऊर्जा क्षेत्रमा भएको रूपान्तरणको स्तरलाई झल्काउँछ। शेख हमादको शासनकालमा हाइड्रोकार्बन क्षेत्रको मूल्य ११ अर्ब कतारी रियाल (करिब ३ अर्ब डलर) बाट बढेर ४ खर्ब ३ अर्ब रियाल (करिब १ खर्ब १० अर्ब ४० करोड डलर) पुगेको थियो।

seikh hamid (1)

  • अभूतपूर्व आर्थिक वृद्धि

ग्यास उत्पादनको उछाल कतारको अर्थतन्त्रमा प्रत्यक्ष रूपमा प्रतिविम्बित भयो। नयाँ सहस्राब्दीको पहिलो दशकमा यो विश्वकै सबैभन्दा छिटो हुर्कने अर्थतन्त्रमध्ये एक बन्यो।

ब्लुमबर्गले उद्धृत गरेको विश्व बैंकको तथ्याङ्कअनुसार, शेख हमादको शासनकालमा कतारको अर्थतन्त्र २० गुणाभन्दा बढीले वृद्धि भयो। सन् १९९५ मा करिब ८ अर्ब डलर रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०१३ मा करिब १ खर्ब ९९ अर्ब डलर पुग्यो।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार, उक्त अवधिमा कतारको अर्थतन्त्रले विश्वमै उच्च वृद्धिदर हासिल गरेको थियो। एलएनजी उत्पादन परियोजनाहरू सञ्चालनमा आएसँगै सन् २००६ मा १८ प्रतिशत रहेको वास्तविक आर्थिक वृद्धिदर सन् २०११ मा २६.२ प्रतिशत पुगेको थियो।

  • ग्यासको उछालदेखि पुँजी निर्यातसम्म

यो आर्थिक रूपान्तरण उत्पादन वा राजस्व वृद्धिमा मात्र रोकिएन, सम्पत्तिको व्यवस्थापन गर्ने तरिकामा पनि विस्तार भयो।

वित्तीय बचतको व्यवस्थापन गर्ने प्रणाली निर्माणको एक हिस्साका रूपमा, कतारले सन् २००१ मा शेख हमादको अध्यक्षतामा आर्थिक मामिला तथा लगानीसम्बन्धी सर्वोच्च परिषद् स्थापना गर्‍यो।

कतारी अमिरी दिवानका अनुसार, उक्त परिषद्लाई ‘कतारको वित्तीय भण्डार विकास गर्ने’ लक्ष्य दिइएको थियो। साथै, ‘आम्दानीका स्रोतहरूलाई विविधीकरण गर्ने उद्देश्यले’ स्वदेशी र विदेशी लगानीलाई विविधीकरण गर्ने जिम्मा पनि दिइएको थियो।

seikh hamid (5)

चार वर्षपछि, तेल र ग्यास निर्यातबाट प्राप्त हुने वित्तीय बचतलाई व्यवस्थापन गर्न कतार इन्भेस्टमेन्ट अथोरिटी (क्यूआईए) को स्थापना गरियो।

शेख हमादले ऊर्जाबाट प्राप्त राजस्वको केही अंश दीर्घकालीन लगानीमा छुट्याउने नीति लागु गरे। प्राकृतिक स्रोतबाहेक आम्दानीका दिगो स्रोतहरू निर्माण गर्ने उनको उद्देश्य थियो।

क्यूआईए छोटो समयमै विश्वकै सबैभन्दा ठुलो सार्वभौम सम्पत्ति कोषमध्ये एक बन्यो। यसले बार्कलेज र फक्सवागनजस्ता कम्पनीहरूमा हिस्सेदारी किन्यो। त्यस्तै, सन् २०१० मा बेलायतस्थित ह्यारोड्स डिपार्टमेन्ट स्टोरमा पनि लगानी गर्‍यो।

कतारको लगानी नीति विश्वका लगभग सबै महादेशमा फैलियो। फुटबल क्लबदेखि लिएर विश्वव्यापी आर्थिक संस्थाहरू र लन्डनको सार्ड गगनचुम्बी भवनलगायतमा कतारले लगानी गर्‍यो।

सोभरेन वेल्थ फन्ड इन्स्टिच्युटका अनुसार, हाल यस प्राधिकरणको सम्पत्ति ५ खर्ब डलरभन्दा बढी अनुमान गरिएको छ। यसले कतारलाई विश्वकै सबैभन्दा ठुलो सरकारी लगानीकर्तामध्ये एक बनाएको छ।

  • कतारी नागरिकको बढ्दो जीवनस्तर

यो आर्थिक वृद्धि कल्याणकारी सूचकहरूमा पनि प्रतिविम्बित भयो। विश्व बैंक र आईएमएफका अनुसार, शेख हमादको शासनकालमा कतार विश्वमै सबैभन्दा उच्च प्रतिव्यक्ति जिडिपी भएको देशमध्ये एक बन्यो।

क्रयशक्ति समता (पर्चेजिङ पावर प्यारिटी) को आधारमा यो ९० हजार डलरभन्दा बढी पुग्यो। देशले आवास, शिक्षा र स्वास्थ्यमा खर्च बढायो। साथै, बेरोजगारी दर पनि घटेर निकै न्यून स्तरमा पुग्यो।

seikh hamid (4)

विज्ञहरूका अनुसार आयमा भएको यो वृद्धि ऊर्जाको उच्च मूल्यको परिणाम मात्र थिएन। यो त विस्तारित सरकारी लगानी र ऊर्जा तथा पूर्वाधार परियोजनाहरूसँग जोडिएका रोजगारी सिर्जनाको नतिजा पनि थियो।

  • नागरिकमा लगानी

ऊर्जा क्षेत्रको लगानीसँगै, कतार ज्ञानमा आधारित अर्थतन्त्र निर्माणतर्फ पनि अघि बढ्यो। शेख हमादले सत्ता सम्हालेपछिका प्रमुख विकास निर्णयहरूमध्ये एक थियो, सन् १९९५ अगस्टमा ‘कतार फाउन्डेसन फर एजुकेसन, साइन्स एन्ड कम्युनिटी डेभलपमेन्ट’ को स्थापना। यसलाई शिक्षा, वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा लगानी गर्ने मुख्य अङ्गका रूपमा खडा गरिएको थियो।

पछि देशले जर्जटाउन, टेक्सास एएन्डएम र कार्नेगी मेलनजस्ता अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूलाई भित्र्यायो। यसलाई तेल र ग्यासपछिको युगका लागि तयारी गर्ने रणनीतिको हिस्साका रूपमा हेरिएको थियो।

स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य विस्तार भयो। हमाद मेडिकल कर्पोरेसनको विकास तथा नयाँ अस्पताल र विशिष्टीकृत केन्द्रहरूको स्थापना गरियो। सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न र बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्ने प्रयासस्वरूप यस्तो गरिएको थियो।

त्यही समयमा, देशको आर्थिक खुलापन र क्षेत्रको वित्तीय तथा व्यापारिक हबका रूपमा आफूलाई बलियो बनाउने नीतिले काम गर्‍यो। यसले विस्तार हुँदै गरेको राजधानी दोहालाई अन्तर्राष्ट्रिय आर्थिक तथा लगानी सम्मेलनहरूका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा परिणत गर्‍यो।

  • विश्वकप र भविष्यको अर्थतन्त्र

शेख हमादको शासनकालमा ग्यासबाट प्राप्त राजस्व कतारको बजेटमा मात्र सीमित रहेन। यसलाई ठुला पूर्वाधार निर्माणमा पनि लगानी गरियो।

उक्त अवधिमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल, हमाद बन्दरगाह, लुसेल सिटी र आधुनिक सडक सञ्जालजस्ता परियोजनाहरू सुरु भए। साथै, ती परियोजनाहरू पनि सुरु भए, जसले पछि दोहा मेट्रोको जग बसाले।

seikh hamid (7)

यी कार्यहरूले दोहालाई खाडीको एउटा सानो सहरबाट विश्वव्यापी सहरी हबमा रूपान्तरण गर्न मद्दत गरे। यही जगमा उभिएर कतार सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने पहिलो अरब र मध्यपूर्वी देश बन्न सफल भयो।

यस ठुलो फुटबल प्रतियोगिता आयोजना गर्ने अधिकार पाएपछि देशको पूर्वाधार र निर्माण क्षेत्रमा ठुलो उछाल आयो। सरकारले सडक, रङ्गशाला, रेलवे लाइन तथा नयाँ विमानस्थल र बन्दरगाह निर्माणलगायतका पूर्वाधारमा २ खर्ब डलरभन्दा बढीको विशाल खर्च योजना स्वीकृत गर्‍यो।

  • निरन्तर चलिरहेको आर्थिक विरासत

सन् २००८ मा राज्यले ‘कतार राष्ट्रिय भिजन २०३०’ लागु गर्‍यो। यो भावी पुस्ताका लागि निरन्तर समृद्धि सुनिश्चित गर्ने लक्ष्यसहित ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने रणनीतिक योजना थियो।

यो भिजनले आज पनि आर्थिक नीतिहरूको प्रमुख ढाँचाका रूपमा काम गरिरहेको छ। प्राकृतिक सम्पत्तिलाई दिगो विकासको जगमा रूपान्तरण गर्ने आधारमा शेख हमादको नेतृत्वमा सुरु भएको दिशालाई यसले झल्काउँछ।

seikh hamid (3)

ग्यास उद्योगको विकास कतारको आर्थिक रूपान्तरणको सुरुवात थियो। तर शेख हमादको सबैभन्दा प्रमुख विरासत भनेको ऊर्जाबाट प्राप्त असाधारण राजस्वलाई दीर्घकालीन विकासका उपकरणमा रूपान्तरण गर्नु नै हो।

आर्थिक मामिला तथा लगानीसम्बन्धी सर्वोच्च परिषद् र क्यूआईएजस्ता संस्थाहरूको स्थापना गरियो। कतार राष्ट्रिय भिजन २०३० को सुरुवात तथा शिक्षा र पूर्वाधारमा लगानी गरियो। यसैका माध्यमबाट कतार तेल निर्यातमा निर्भर अर्थतन्त्रबाट विश्वव्यापी लगानी प्रभावसँग ऊर्जाको शक्तिलाई जोड्ने मोडेलमा अघि बढ्यो।

यही खाका अझै पनि राज्यको आर्थिक नीतिहरूको आधार बनेको छ। जसलाई आजसम्म पनि शेख हमादका छोरा तथा उत्तराधिकारी अमिर शेख तमिम बिन हमाद अल थानीले निरन्तरता दिइरहेका छन्।

अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप