सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

आमिर खानको तेस्रो विवाहमा शेखर सुमनको व्यङ्ग्य

सोमबार, २९ असार २०८३, १७ : १७
सोमबार, २९ असार २०८३

सारांश

  • शेखर सुमनले आमिर खानको तेस्रो विवाहलाई 'ट्रिपल इन्जिन सरकार' को संज्ञा दिँदै व्यङ्ग्य गरेका छन्।
  • सुमनले आमिरको वैवाहिक सम्बन्धलाई रेलको बोगी फेर्ने प्रक्रियासँग तुलना गर्दै उनलाई 'इन्जिन ड्राइभर' भनेका छन्।
  • उनले भारतको 'इन्डिया' राजनीतिक गठबन्धनले पनि नयाँ र पुराना साथीहरूलाई सँगै लिएर हिँड्ने कुरा आमिरबाट सिक्नुपर्ने सुझाव दिए।

मुम्बई । बलिउडका चर्चित अभिनेता तथा होस्ट शेखर सुमनले अभिनेता आमिर खानको तेस्रो विवाहलाई लिएर व्यङ्ग्य गरेका छन्। 

आमिरका अघिल्ला दुई वटा वैवाहिक सम्बन्ध असफल भएको सन्दर्भ जोड्दै सुमनले उनको तेस्रो विवाहलाई ‘ट्रिपल इन्जिन सरकार’ को संज्ञा दिएका हुन्।

यूट्यूब च्यानलको शो ‘शेखर टुनाइट’ को एपिसोडमा बोल्दै सुमनले भने, ‘राजनीति गर्नेहरूलाई गठबन्धनको निकै गहिरो समझ हुन्छ भनिन्छ। तर उनीहरूले गठबन्धनको सही सल्लाह यस्ता व्यक्तिबाट सिक्नुपर्छ।’ 

आमिरले पहिलो र दोस्रो गठबन्धन टुटेपछि अहिले तेस्रो गठबन्धन गरेको उल्लेख गर्दै उनले यसलाई अब गठबन्धन मात्र नभएर ‘महागठबन्धन’ भन्नुपर्ने टिप्पणी गरे। राजनीतिक दलहरूले डबल इन्जिनको सरकार चलाउन नसकिरहेका बेला आमिरले भने सहजै ट्रिपल इन्जिन सरकार चलाइरहेको भन्दै उनले कटाक्ष गरे।

शेखर सुमनले आमिर खानको पूर्व पत्नीहरूसँगको सम्बन्धलाई रेलको बोगी फेर्ने प्रकृयासँग तुलना गरे। उनले रेल यात्राका क्रममा निश्चित दूरी पार गरेपछि इन्जिन ड्राइभरले एउटा बोगी छुट्याएर अर्को जोड्ने र पछि ती सबैलाई सँगै मिलाएर लामो रेल बनाउने उदाहरण दिए। 

आमिरलाई एक अनौठो र अद्भुत कला भएको ‘इन्जिन ड्राइभर’ भन्दै उनले व्यङ्ग्य गरे, ‘यो यस्तो इन्जिन हो जसमा एथेनोल र आइसोब्युटिनोल छ, तैपनि सिज नभई लगातार ट्रयाकमा नयाँ कीर्तिमान बनाइरहेको छ।’ 

आमिर खानले तेस्रो पटक पूर्ण बहुमतको सरकार बनाएको र अरू कसैको राम्रो दिन नआए पनि उनको भने लगातार तेस्रो पटक राम्रो दिन आएको सुमनले बताए।

आमिर खानको तेस्रो विवाहमा उनका पूर्व पत्नीहरू र छोराछोरीहरू उपस्थित भएको विषयलाई पनि शेखर सुमनले राजनीतिक रूपमा जोडेर व्यङ्ग्य गरे। उनले ठट्टा गर्दै भने, ‘मैले भर्खरै नेहरूजीको कीर्तिमान तोडेको थिएँ, यो पछाडिबाट आमिर कहाँबाट आयो भनेर मोदीजी पनि अचम्ममा परेका होलान्।’

आमिरको यो विवाह पूर्ण रूपमा पारिवारिक माहौलमा भएको र त्यहाँ उनकी पहिलो पत्नी, दोस्रो पत्नी, पहिलो र दोस्रो पत्नीका बच्चाहरू तथा तेस्रो पत्नी पनि आफ्नो बच्चाका साथ उपस्थित भएको उनले बताए। यस दृश्यलाई जोड्दै उनले भारतको ‘इन्डिया’ राजनीतिक गठबन्धनले पनि नयाँ र पुराना साथीहरूलाई कसरी सँगै लिएर हिँड्ने भन्ने कुरा आमिरबाट सिक्नुपर्ने सुझाव दिए। 

आमिरलाई बलिउडमा ‘परफेक्सनिस्ट’ भनिने सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘उनलाई परफेक्सनिस्ट यसकारण भनिन्छ किनभने उनी कुनै काम तबसम्म गर्छन् जबसम्म त्यसमा परफेक्ट हुँदैनन्। परफेक्सनको कुनै सीमा हुँदैन, सीमा मात्र होइन कुनै रीना र किरण पनि हुँदैनन्।’

आमिर खानले गत जुलाई ५ मा गौरी स्प्र्याटसँग विवाह गरेका हुन्। उक्त विवाहमा उनकी पहिलो पत्नी रीना दत्ता र दोस्रो पत्नी किरण रावका साथै छोराछोरीहरू जुनैद, आयरा र आजाद पनि सहभागी भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप