मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो

मङ्गलबार, ३० असार २०८३, ०९ : ४०
मङ्गलबार, ३० असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल खेलको टिकट फ्रान्स र स्पेनबीचको खेलको भन्दा दोब्बर महँगो भएको छ ।
  • अर्जेन्टिना–इङ्ग्ल्यान्ड खेलको न्यूनतम टिकट मूल्य ३४ प्रतिशतले बढेर २,८४१ अमेरिकी डलर पुगेको छ, जबकि फ्रान्स–स्पेनको १,३२५ डलर रहेको छ ।
  • मेस्सीको लोकप्रियता, गत विश्वकप विजेता टोलीको आकर्षण र अमेरिकामा रहेको ठुलो अर्जेन्टिनी समर्थक समुदायका कारण टिकटको माग बढेको विश्लेषण गरिएको छ ।

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत हुने अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल खेलका टिकटको मूल्य फ्रान्स र स्पेनबिचको सेमिफाइनलभन्दा निकै महँगो भएको छ । ‘टिकटडाटा डट कम’का अनुसार, अर्जेन्टिना–इङ्ग्ल्यान्ड खेलको न्यूनतम टिकट मूल्य पछिल्ला तीन दिनमा ३४ प्रतिशतले बढेर २,८४१ अमेरिकी डलर पुगेको छ ।

यसको तुलनामा मंगलबार डलासमा हुने फ्रान्स–स्पेन सेमिफाइनलको न्यूनतम टिकट मूल्य १,३२५ डलर मात्र रहेको छ, जुन पछिल्ला तीन दिनमा २६ प्रतिशतले घटेको हो । यसरी अर्जेन्टिना–इङ्ग्ल्यान्ड खेलको टिकट मूल्य फ्रान्स–स्पेन खेलको भन्दा दुई गुणाभन्दा बढी रहेको छ ।

विश्लेषकहरूका अनुसार अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको लोकप्रियता, गत विश्वकप विजेता टोलीको आकर्षण र इङ्ग्ल्यान्डसँगको बहुप्रतीक्षित प्रतिस्पर्धाका कारण टिकटको माग अत्यधिक बढेको हो । खेल अमेरिकाको एटलान्टामा हुने भएकाले त्यहाँको ठुलो अर्जेन्टिनी समर्थक समुदायले पनि टिकटको माग बढाएको बताइएको छ ।

यसैबीच, न्युयोर्क–न्युजर्सी रंगशालामा हुने विश्वकप फाइनलको न्यूनतम टिकट मूल्य ६,७६० अमेरिकी डलर कायम रहेको छ । यद्यपि यो मूल्य पछिल्लो ७२ घण्टामा ६ प्रतिशतले घटेको जनाइएको छ ।

फिफाले यसअघि पनि विश्वकप टिकटको उच्च मूल्यका कारण आलोचना खेप्दै आएको छ । खेल अर्थशास्त्रीहरूका अनुसार अमेरिका जस्तो ठुलो व्यावसायिक खेल बजारमा ‘डाइनामिक टिकट प्राइसिङ’ प्रणाली लागू गरिएकाले मागअनुसार टिकटको मूल्य निरन्तर परिवर्तन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप