सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
सारांश
- व्यावसायिक आचरण र चिकित्सा अभ्यासमा गम्भीर प्रश्न उठेर कारबाहीसमेत भोगिसकेका डा. जितेन्द्र परियार निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशकको सर्टलिस्टमा परेका छन्।
- विगतमा निलम्बनमा परिसकेका उम्मेदवार डा. परियार सर्टलिस्टमा परेपछि सरकारी छनोट समितिको निर्णय र मापदण्डमाथि प्रश्न उठेको छ।
- वि.सं. २०६८ मा डा. परियारको टोलीले गल्तीले एक बिरामीको घाँटीको सट्टा पाठेघरको शल्यक्रिया गरेको थियो, जसपछि उनी निलम्बनमा परेका थिए।
काठमाडौं । व्यावसायिक आचरण र चिकित्सा अभ्यासमा गम्भीर प्रश्न उठेर कारबाहीसमेत भोगिसकेका डा. जितेन्द्र परियार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशकको संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्।
विगतमा निलम्बनमा परिसकेका उम्मेदवार डा. परियार सर्टलिस्टमा परेपछि सरकारी छनोट समितिको निर्णय र मापदण्डमाथि नै प्रश्न उठेको छ।
निजामती कर्मचारी अस्पताल सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था छ। हाल मुख्य सचिव गोविन्दबहादुर कार्की छन्। समितिमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवहरू सदस्य रहने व्यवस्था छ।
विगतमा गम्भीर लापरवाहीको आरोप लागेका व्यक्तिको छनोटले समितिको निष्पक्षतामाथि नैतिक प्रश्न खडा भएको सरोकारवालाहरू बताउँछन्। विवादित चिकित्सक डा. परियार सर्टलिस्टमा परेसँगै उनीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरीसमेत परेको छ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले डा. परियारविरुद्ध बेनामी उजुरीमार्फत जानकारी माग भएको बताए। पाण्डेले भने, ‘उहाँको विषयमा बेनामी जानकारी माग प्राप्त भएको छ। डा. परियारको घटनाबारे विगतमा के–कस्ता कारबाही भएका थिए भनेर सोधिएको छ। हामीले यो विषयलाई काउन्सिलको व्यावसायिक आचरण समितिमा पठाएका छौँ, त्यसपछि थप प्रक्रिया अघि बढ्नेछ।’
के थियो विगतको घटना ?
वि.सं. २०६८ साउन २६ गते चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रुपन्देहीकी ३२ वर्षीया छमकुमारी बोहरा घाँटीको थाइराइड क्यान्सरको उपचारका लागि भर्ना भएकी थिइन्। तर, अस्पतालमा अर्कै बिरामीसँग नाम झुक्किएर उनको पाठेघरको शल्यक्रिया गरिएको थियो। पाठेघरको उपचार गर्न भर्ना भएकी केशमाया गुरुङ सम्झेर छमकुमारीको पाठेघर नै निकालिएपछि उक्त विषयले ठुलो विवादको रूप लिएको थियो।
घाँटीको साटो पाठेघरको शल्यक्रिया गरेपछि अस्पतालका चिकित्सकसहित १३ जनालाई सञ्चालक समितिको २०६८ भदौ ९ गतेको बैठकले निलम्बन गरेको थियो। त्यतिबेला स्त्रीरोग विभागका चिकित्सक डा. परियारको टोलीले नै उक्त शल्यक्रिया गरेको थियो।
आन्तरिक छानबिन समितिको प्रतिवेदनका आधारमा उनीहरूलाई निलम्बन गरी स्पष्टीकरण सोधिएको थियो। मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल र स्वास्थ्य मन्त्रालयको टोलीले पनि घटनाको अनुसन्धान गर्दा नेपाल मेडिकल काउन्सिलले डा. परियारको लाइसेन्ससमेत निलम्बन गरेको थियो।
यति मात्र होइन, डा. परियारमाथि वि.सं. २०७९ मा पनि क्यान्सर पुष्टि भएकी एक महिलालाई प्रतिबन्धित औषधि सिफारिस गरेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा उजुरी परेको थियो।
छनौट प्रक्रिया र सरोकारवालाहरुको चिन्ता
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको छनोट, काम, कर्तव्य, अधिकार, सेवा र सुविधासम्बन्धी विनियमावली २०७७ को विनियम ३ बमोजिम उम्मेदवार सिफारिस गर्न गठित समितिको असार ३१ गते बसेको बैठकले ६ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। सर्टलिस्टमा प्रा.डा. परियारसहित डा. धर्मराज गोसाईं, प्रा.डा. मोहनचन्द्र रेग्मी, डा. अजयकुमार झा, डा. सुरेश श्रेष्ठ र प्रा.डा. अनुजजङ्ग रायमाझी रहेका छन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि उक्त सूची सार्वजनिक गरेको हो। सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आज बिहान १० बजेका लागि तोकिएको छ। उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्रको सक्कल र प्रतिलिपिसहित व्यावसायिक कार्ययोजनाको हार्ड कपी र सफ्ट कपी लिएर तोकिएको समयभन्दा ३० मिनेटअघि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
डा. परियार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्त्री क्यान्सर रोग प्राध्यापक हुन् भने हाल उनी निजामती कर्मचारी अस्पतालकै स्त्री तथा प्रसूति रोग विभाग प्रमुखको जिम्मेवारीमा समेत छन्।
सार्वजनिक चासो र स्वास्थ्य क्षेत्रको संवेदनशीलता जोडिएको पदमा विवादित र विगतमा कारबाही भोगेका व्यक्ति नियुक्त गरिए अस्पतालको साखमा धक्का पुग्ने सरोकारवालाहरूको चिन्ता छ। एक चिकित्सकले भने, ‘यस्तो विवादास्पद कदमले समग्र निजामती कर्मचारी र सर्वसाधारणको सरकारी स्वास्थ्य संस्थाप्रतिको जनविश्वास मात्र गुम्ने छैन, अस्पतालभित्र चरम बेथिति र दण्डहीनताले प्रश्रय पाउने जोखिमसमेत बढ्नेछ।’
यता, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले कुनै पनि संस्थाको नेतृत्व दिँदा नातावाद र कृपावादलाई आधार मान्न नहुने बताउँछन्। उनी भन्छन्, ‘संस्थाको नेतृत्व गर्न सक्ने र संस्थाको हितमा काम गर्न सक्ने स्वच्छ छविका व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण