बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
सारांश
- बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले आधारभूत सेवा सुविधामा समस्या देखिएपछि सरकारले कानुनी सुधार प्रक्रिया अघि बढाएको छ ।
- बालबालिका ऐन, २०७५ लाई संशोधन गरी सजाय अवधि घटाउने, फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर १२ वर्ष पुर्याउने र आचरण सुधार आएमा पेरोलमा घर पठाउने व्यवस्था प्रस्तावित छ ।
- सुधार गृहमा भौतिक पूर्वाधार, पोषण, खानेपानी, खेलकुद मैदान, पुस्तकालय र सवारी साधनको अभाव रहेको तथा प्रहरीको पोशाक र हतियार नहुँदा सुरक्षामा चुनौती देखिएको छ ।
काठमाडौँ । नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानुनी सुधारको प्रक्रिया अघि बढाएको छ ।
आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराए ।
सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गरी सजायको अवधि घटाउने र ‘डाइभर्सन’ प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ । नयाँ मस्यौदाअनुसार, गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई–तिहाइ भागलाई घटाएर १६ देखि १८ वर्षका बालबालिकाका लागि बढीमा सात वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी, फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर १० वर्षबाट बढाएर १२ वर्ष पुर्याउने र बालबालिकाको आचरणमा सुधार आएमा ‘प्यारोल’ मा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्तावित छ । यो ऐन पारित भएमा बाल सुधार गृहमा बालबालिकाको चाप करिब ५० प्रतिशतले घट्ने विश्वास मन्त्रालयको छ ।
मन्त्रालयकाअनुसार हाल देशभर रहेका १० वटा बाल सुधार गृहको कुल क्षमता १ हजार ८५ जना भएपनि हाल १ हजार १९५ जना बालबालिका आश्रित छन् । गत वर्षको आन्दोलनका क्रममा केही बालबालिका भागेकाले यो संख्या वास्तवमा करिब १४ सय पुग्ने मन्त्रालयको अनुमान छ । आश्रित बालबालिकामध्ये करिब ५० प्रतिशत १८ वर्षभन्दा माथिका छन् ।
प्रवक्ता बुढाले बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय स्थानमा पुराना सरकारी भवन वा कारागारकै संरचना प्रयोग भइरहेको बताए । उनकाअनुसार १० मध्ये ४ वटा बाल सुधार गृहमा मात्र विद्यालयको व्यवस्था छ । बालबालिकाका लागि दिइने दैनिक ८० रुपैयाँ सिदा र ७०० ग्राम चामल अपर्याप्त रहेको र यो वयस्क कैदीबन्दीकै मापदण्डअनुसार भएकाले बढ्दो उमेरका बालबालिकालाई पोषण नपुग्ने समस्या देखिएको छ ।
सुधार गृहभित्र खानेपानी, खेलकुद मैदान, व्यायाम र योगका लागि हल तथा पर्याप्त पुस्तकालयको समेत अभाव रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै, बालबालिकालाई अदालत लैजान वा अस्पताल पुर्याउन आफ्नै सवारी साधन नहुँदा सार्वजनिक यातायात वा कारागारको गाडी प्रयोग गर्नुपर्ने बाध्यता छ ।
बाल सुधार गृहको सुरक्षामा खटिने नेपाल प्रहरीले वर्दी र हतियारबिना डिउटी गर्नुपर्ने कानुनी व्यवस्थाका कारण बालबालिकाहरूलाई नियन्त्रण गर्न र अनुशासन कायम राख्न कठिन भएको प्रवक्ता बुढाले बताए। सादा पोशाकका प्रहरीलाई बालबालिकाले नटेर्ने र समूह बनाएर तोडफोड वा आन्दोलन गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ ।
साथै, सुधार गृहको नेतृत्वमा अधिकृत स्तरको दरबन्दी भएपनि कर्मचारी अभावका कारण नायव सुब्बाले निमित्त भएर चलाउनुपर्दा समन्वयमा समस्या देखिएको छ । हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुँको ढकालटारमा ३०० क्षमताको सुविधासम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत बैठकमा जानकारी दिए । मन्त्रालयले बालबालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र सीपमूलक तालिमका कार्यक्रमहरूलाई पनि क्रमशः विस्तार गर्दै लगेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण