शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा दिएको अभिव्यक्ति, शिक्षा–स्वास्थ्यमा लगाइएको कर, विद्युतमा लगाइएको भ्याट तथा सुकुमबासीमाथि भइरहेको डोजर आतङ्कको विरोध गर्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई आइतबार बुझाइएको ज्ञापन पत्रमा कांग्रेसले संसदमा प्रधानमन्त्रीले दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको उल्लेख गर्दै उक्त अभिव्यक्ति तत्काल संसद्को अभिलेखबाट हटाउन र सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ ।
जिल्ला सभापति बुद्ध लामा नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै नेपाल–भारत सीमा विवादबारे सरकारले संसद् र जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।
कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर जनविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ । सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तर सुधार गरी सबै नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ ।
त्यसैगरी विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनु ऊर्जा उपयोग बढाउने राष्ट्रिय नीति विपरीत भएको भन्दै विद्युतमा लगाइएको भ्याट हटाएर उपभोगलाई प्रोत्साहन गर्ने नीति ल्याउन सरकारसँग माग गरिएको छ ।
कांग्रेसले भूमि तथा वन ऐनका अव्यवहारिक व्यवस्थाका कारण सुकुमबासी समस्या समाधान हुन नसकेको उल्लेख गर्दै वैकल्पिक व्यवस्थाबिना प्रहरी परिचालन गरी डोजर चलाएर घर टहरा हटाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ ।
ज्ञापन पत्रमार्फत कांग्रेसले सरकारले यी मागप्रति बेवास्ता गरे सम्बन्धित सरोकारवालासँग सहकार्य गरी शान्तिपूर्ण र चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण