बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूको राजीनामाको भाखा निरन्तर सर्दै आएको छ । सत्ता समीकरण परिवर्तन भएपछि पटक(पटक राजीनामाको तयारी गरेका एमालेका ६ मन्त्रीहरू अझै सरकारबाट अलग भएका छैनन् ।
विशेषगरी प्रदेशका ८ मन्त्रालयमा १४ मन्त्री कायम रहँदा एमालेका ६ मन्त्रीमध्ये ३ जनाले मात्र विभागीय जिम्मेवारी पाएका छन् । ३ जना बिनाविभागीय मन्त्री रहेको एमालेले असार ३२ गतेदेखि निरन्तर राजीनामाको चर्चा चलाउँदै आएको छ ।
एमालेले हालसम्म तीन पटक राजीनामाको अस्त्र प्रयोग गरे पनि हरेक पटक राजीनामा दिने निर्णय होल्ड भएको छ । एमालेका मन्त्रीहरूलाई राजीनामा दिन संसदीय दलका नेता जगन्नाथ थपलियाले समेत निर्देशन दिएका थिए । गत शनिबार संसदीय दलका नेताको निर्देशनअनुसार इमेलबाटै राजीनामा पठाउने उनीहरूको तयारी थियो । तर, मुख्यमन्त्री बानियाँले भेटेरै औपचारिक रूपमा राजीनामा बुझाउन आग्रह गरेपछि उनीहरूको राजीनामा सोमबारसम्मका लागि रोकिएको थियो ।
एकतर्फ बिनाविभागीय र अर्कोतर्फ महाशाखा प्रमुख शैलीको मन्त्रीका रूपमा रहन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको ताकेताले रुष्ट बनेका एमाले मन्त्रीहरूको राजीनामा सोमबार पनि रोकिएको छ । सोमबार एमाले संसदीय दलको बैठकपछि राजीनामा बुझाउने तयारी गरेका मन्त्रीहरूको निर्णय पुनः रोकियो ।
सोमबार काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरूले सरकार नछाड्ने बताए । हालैका राजनीतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामाबारे बाहिर आएका चर्चा हल्ला मात्र भएकाले पार्टीको आधिकारिक निर्देशन कुरिरहेको उनको भनाइ छ ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार, बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी केन्द्र र अन्य दलहरूसँग छलफल तथा संवाद गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ । निरन्तर नयाँ परिस्थितिहरू सिर्जना भइरहेकाले तत्काल सरकार छाड्ने विषयमा कुनै निर्णय नभएको उनको भनाइ छ । सरकारमा रहने वा छाड्ने भन्ने विषय अन्य दलहरूसँगको संवादपछि मात्र टुङ्गिने उनले बताए ।
'अहिले हरेक क्षण राजनीतिक परिस्थिति परिवर्तन भइरहेको छ । हामी नेपाली कांग्रेस र एमाले दुवैतर्फ निरन्तर छलफलमा छौँ । पार्टीले पनि संवाद गरिरहेको छ । राष्ट्रिय राजनीतिको सन्दर्भमा भएको सहमतिका आधारमा सत्ता समीकरण निर्धारण हुने भएकाले हामी पार्टी केन्द्रको निर्देशन पर्खिरहेका छौँ,' उनले भने ।
एमालेका एक सांसदका अनुसार राजनीतिक संस्कार बसाल्नका लागि पनि बिनाविभागीय मन्त्रीका रूपमा रहिरहनु उपयुक्त हुँदैन । मन्त्रालय व्यवस्थापनमा मुख्यमन्त्रीलाई सघाउन र बदलिँदो राजनीतिक परिवेशलाई स्वीकार गर्नुपर्ने अवस्था रहे पनि त्यसो हुन नसकेको उनको भनाइ छ । एमालेले नैतिक धरातल कायम राख्न महाशाखा प्रमुख शैलीको मन्त्रीका रूपमा बस्नुको सट्टा राजीनामा दिएर नयाँ प्रक्रियाअनुसार अघि बढ्नुपर्ने उनले बताए ।
एमालेबाट बागमती सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका मधुसुदन पौडेलका अनुसार एमालेले हालसम्म मन्त्रीहरूको राजीनामाबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । कुनै व्यक्ति वा सञ्चार माध्यमले हल्ला चलाएका भरमा राजीनामा दिनु नपर्ने उनले बताए । एमालेले औपचारिक माध्यमबाट राजीनामा दिने वा सरकारमा निरन्तर रहने भन्ने विषयमा निर्णय गर्ने उनको भनाइ छ । यस विषयमा पार्टी नेतृत्वसँग संवाद भइरहेको उनले जानकारी दिए ।
एमालेका एक सांसदका अनुसार राजनीतिक संस्कार बसाल्नका लागि पनि बिनाविभागीय मन्त्रीका रूपमा रहिरहनु उपयुक्त हुँदैन । मन्त्रालय व्यवस्थापनमा मुख्यमन्त्रीलाई सघाउन र बदलिँदो राजनीतिक परिवेशलाई स्वीकार गर्नुपर्ने अवस्था रहे पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।
उनका अनुसार एमालेका ६ मन्त्रीमध्ये विभाग पाएका ३ जना र अतिरिक्त जिम्मेवारीमा रहेका अन्य ३ मन्त्रीको विषयमा कुनै समस्या छैन । सबै मन्त्रीहरूले मिलेर नै काम गरिरहेको उनले बताए । त्यसो त बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिने तयारी साउन ३२ गते नै गरेका थिए । तत्कालीन स्वास्थ्य मन्त्री किरण थापा मगरले पत्रकार सम्मेलन गरी एमालेका ६ मन्त्रीले सामूहिक राजीनामा दिन लागेको जानकारी दिएका थिए । उनले केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुटेपछि बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता हुने बताएका थिए । एमालेका मन्त्रीहरूले साउन ३२ गते अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि राजीनामा दिने तयारी गरेका थिए ।
'अहिलेको अवस्थामा हाम्रो सत्ता समीकरण केन्द्रबाटै टुङ्गिइसकेको छ । अब नयाँ सरकार वा मन्त्रिपरिषद् गठन हुनुपर्छ, त्यसैले मार्गप्रशस्त गर्ने तयारी एमालेले गरेको छ,' उनले भनेका थिए, 'अहिलेको परिस्थितिमा सरकारमा रहिरहन मिल्दैन । हामीले नयाँ सत्ता समीकरणका लागि काम गर्न सहज वातावरण बनाइदिनुपर्छ । त्यसैले आजको क्याबिनेट बैठकपछि एमालेका ६ जना मन्त्रीहरूले राजीनामा दिनेछन् ।
उनका अनुसार बागमती सरकारको मन्त्रिपरिषद् व्यवस्थापनका लागि पनि त्यस दिन एमालेले आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने अवस्था थियो । सबै मन्त्री फिर्ता गरेर ८ मन्त्रालयको भागबन्डाअनुसार पुनः नयाँ मन्त्रीहरू पठाउने गरी एमालेले तयारी गरेको थियो । तर, गठबन्धन नै परिवर्तन भएपछि पार्टीको निर्देशनअनुसार एमाले सरकारबाट अलग हुने अवस्था बनेको उनको भनाइ थियो ।
साउन २ गते शनिबार संसदीय दलका नेता थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका थिए । कांग्रेस(एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताएका थिए । मन्त्रीहरूले अनुकूल समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउने उनको भनाइ थियो ।
'अहिलेको बदलिएको सत्ता राजनीतिक परिस्थितिमा कांग्रेस गठबन्धनमा रहन नचाहेको बुझियो । यस्तो अवस्थामा एमाले गठबन्धनमा जबरजस्ती बसिरहनु नपर्ने निष्कर्षसहित मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हुँ,' उनले भनेका थिए ।
सरकारमा एमालेका तर्फबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा । दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् भने किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण