विश्वकप २०२६ : कसले हारे कसले जिते ?
सारांश
- सन् २०२६ को फिफा विश्वकपको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गरी उपाधि जित्यो।
- यस विश्वकपमा एर्लिङ हालान्ड, किलियन एम्बाप्पे, लामिन यामाल, इरान, मोरक्को, थोमस टुचेल, लियोनेल मेस्सी, जुड बेलिङ्घम, स्पेनको रक्षापंक्ति, केप भर्डे, र होसाम हसन जस्ता व्यक्ति तथा टोलीहरूले सफलता हात पारे।
- यसैगरी नेयमार, जुलियन नागेल्समान, क्रिस्टियन पुलिसिक, भीएआर पीडितहरू, सेनेगल, एसियाली फुटबल, डिडिएर डेसच्याम्प्स, मार्सेलो बिएल्सा, जेसी मार्श, स्कटल्यान्ड, क्रिस्टियानो रोनाल्डो, फिफाको विश्वसनीयता, र गाजाबासी र प्यालेस्टाइनले निराशाजनक प्रदर्शन गरे।
संयुक्त राज्य अमेरिका, मेक्सिको र क्न्यानडा खेलाइएको फिफा विश्वकप २०२६ आइतबार न्युजर्सीमा सम्पन्न भयो । अतिरिक्त समयसम्म धकेलिएको फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई १–० ले पराजित गर्दै विश्वविजेताको रूपमा उपाधि जित्यो । विश्वकप प्रतियोगिताकै सबैभन्दा निराशाजनक फाइनलमध्ये एक मानिएको यस खेलमा वैकल्पिक खेलाडी फेरान टोरेसले निर्णायक गोल गरे । अर्जेन्टिनाका एन्जो फर्नान्डेज नियमित समयको अन्तिम मिनेटमा दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि स्पेनको जित सहज बन्यो ।
खेल सकिएपछि पनि वातावरण शान्त रहेन । अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो परेडेसले स्पेनिस खेलाडीहरूमाथि आक्रामक व्यवहार देखाए । अनुशासित रक्षा र उत्कृष्ट मिडफिल्ड प्रदर्शनको बलमा उपाधि जितेको स्पेनलाई धेरैले ‘सुन्दर फुटबलको रक्षक’ समेत भने । अब हेरौँ, यस विश्वकपका सबैभन्दा ठुला विजेता र सबैभन्दा निराशाजनक पात्रहरू को–को बने ।
विजेताः एर्लिङ हालान्ड
क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग २–१ ले पराजित भएपछि नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड शारीरिक रूपमा थकित थिए । तर मनभित्र गर्व थियो, किनभने उनले आफ्नो देशलाई विश्वकपमा ऐतिहासिक सफलता दिलाएका थिए । नर्वेले अमेरिकामा सबैको ध्यान तान्यो । हालान्ड र उनका समर्थक दुवै सामाजिक सञ्जालमा सनसनी बने । प्रतियोगितापछि हालान्डले भने, ‘मेरो लोकप्रियता निकै बढेको छ । अहिले पनि सबै कुरा पचाउन गाह्रो भइरहेको छ । मैले सात गोल गरेको यो प्रतियोगिता बिर्सनै सक्दिनँ ।’
उनले पाँच खेलमा सात गोल गरे, जसमा पाँच पटकको विश्वविजेता ब्राजिलमाथिको २–१ को ऐतिहासिक जितमा दुई गोल पनि समावेश थिए ।
हालान्डले थपे, ‘यस्तो प्रतियोगितामा खेल्नु आफैँमा विशेष कुरा हो । पहिले म विश्वकप टेलिभिजनमा हेर्थें, अहिले आफैँ खेलिरहेको छु । नर्वेभर फैलिएको उत्साह र एकताले मलाई निकै भावुक बनाएको छ । यस प्रतियोगिताले मलाई एउटा खेलाडी मात्र होइन, एउटा मानिसका रूपमा पनि परिवर्तन गरेको छ ।’
पराजितः नेयमार
‘मैले कोसिस गरेँ, धेरै प्रयास गरेँ । तर अब सबै सकियो ।’
नर्वेसँग अन्तिम–१६ मा पराजित भएपछि ब्राजिलका स्टार नेयमारका यी शब्दहरूले उनको अन्तर्राष्ट्रिय करियरको अन्त्य घोषणा गरे । संयोग पनि कस्तो ! यही न्युजर्सीमा उनले सन् २०१० मा ब्राजिलबाट यात्रा सुरु गरेका थिए र यहीँ अन्त्य पनि भयो ।
तर उनको अन्तिम खेलले पनि करियरको एउटा परिचित कमजोरी दोहोर्यायो । नर्वेका गोलरक्षक ओर्यान निलान्डसँग अनावश्यक विवादमा अल्झिएर उनले समय मात्र खेर फाले । नेयमार असाधारण प्रतिभाका धनी थिए । कतिपयले त उनको प्राकृतिक क्षमता लियोनेल मेस्सीसँग बराबरीको मान्थे । बार्सिलोनामा मेस्सीसँग खेल्दा उनी भविष्यका विश्वकै उत्कृष्ट खेलाडी बन्ने निश्चितजस्तै देखिन्थे । तर त्यो सपना पूरा भएन ।
कारण एउटै थियो, प्रतिभा भए पनि उनी मेस्सीजति अनुशासित र व्यावसायिक कहिल्यै बन्न सकेनन् । चोटपटकले उनलाई २० वर्षको दशकमै कमजोर बनायो । त्यसैले जहाँ ३९ वर्षका मेस्सीले अर्को विश्वकपमा पनि आठ गोल गर्दै चम्किए, त्यहीं ३४ वर्षकै उमेरमा नेयमारको अन्तर्राष्ट्रिय यात्रा अपूरो सम्भावनामै टुंगियो ।
वास्तवमा उनको उत्कर्ष धेरैअघि नै समाप्त भइसकेको थियो । उनले धेरै उपलब्धि हासिल गरे, तर आफ्नो सम्पूर्ण क्षमता कहिल्यै प्रदर्शन गर्न सकेनन् । यदि उनले आफूलाई अझ अनुशासित बनाएका भए, फुटबल इतिहासमा उनको स्थान अझ धेरै माथि हुन सक्थ्यो ।
विजेताः किलियन एम्बाप्पे
इंग्ल्यान्डका पूर्वकप्तान वेन रुनीलगायत धेरैले फ्रान्स प्रतियोगिताबाट बाहिरिइसकेपछि गरेका गोलहरू पनि गणनामा समावेश भएकाले किलियन एम्बाप्पेले गोल्डेन बुट जित्नु न्यायोचित नभएको तर्क गरे । तर नियम त नियम नै हो । त्यसैले एम्बाप्पे विश्वकप इतिहासमा दुई फरक संस्करणमा सर्वाधिक गोलकर्ता (गोल्डेन बुट विजेता) बन्ने पहिलो खेलाडी बने ।
त्यसभन्दा पनि ठुलो उपलब्धि के रह्यो भने तेस्रो स्थानको खेलमा उनले गरेको दुई गोलसँगै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान लियोनेल मेस्सीबाट खोसे । केवल २७ वर्षको उमेरमै उनले यो उपलब्धि हासिल गर्नु आफैंमा अद्भुत हो ।
उनको उमेर हेर्दा भविष्यमा यो कीर्तिमान अझ धेरै टाढा पुग्ने र सम्भवतः दशकौंसम्म कसैले नतोड्ने सम्भावना बलियो देखिन्छ ।
पराजितः जुलियन नागेल्समान
जर्मनीको समस्या केवल प्रशिक्षकमा सीमित छैन । टोलीले सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिनालाई हराएयता कुनै पनि नकआउट खेल जित्न सकेको छैन । यसपटक पाराग्वेसँग अन्तिम–३२ मा पराजित भएपछि जर्मनी फेरि निराश बन्यो ।
अब नयाँ प्रशिक्षक जोर्गन क्लोपका काँधमा ठुलो जिम्मेवारी आएको छ । यद्यपि क्लोपले आफ्ना पूर्ववर्ती जुलियन नागेल्समानभन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । विश्वकपमा जर्मनीको कमजोर प्रदर्शनपछि नागेल्समानको प्रतिष्ठामा गम्भीर धक्का लागेको छ ।
उनी केवल ३८ वर्षका छन् र लामो समयदेखि प्रतिभाशाली रणनीतिकारका रूपमा चिनिँदै आएका थिए । तर बायर्न म्युनिख र जर्मनी दुवैतर्फको उनको कामले त्यो छविलाई पुष्टि गर्न सकेन । जर्मनीले उद्घाटन खेलमा कुरासाओलाई हरायो र पाराग्वेविरुद्ध अतिरिक्त समयमा विवादास्पद भीएआर निर्णयको शिकार पनि भयो । तर समग्रमा टोलीको खेल अत्यन्तै अनुमानयोग्य, सुस्त र सिर्जनात्मकताविहीन रह्यो ।
काइ हाभेर्ट्जले प्रशिक्षकलाई दोष दिन अस्वीकार गरे पनि अधिकांशले नागेल्समानलाई नै जिम्मेवार ठहर गरे । त्यसैले प्रतियोगितापछि उनको राजीनामा धेरैका लागि आश्चर्यको विषय बनेन ।
विजेताः लामिन यामाल
स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले अस्ट्रियाविरुद्ध अन्तिम–३२ को खेलपछि भनेका थिए, ‘विश्वकपले अझै लामिन यामालको उत्कृष्ट रूप देख्न बाँकी छ ।’ वास्तवमा चोटका कारण यामालले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न पाएनन् । आठ खेलमा उनले केवल एक गोल गरे र कुनै असिस्ट दिन सकेनन् ।
तर फाइनलपछि देखिएको दृश्य भने विश्व फुटबलको सबैभन्दा भावुक क्षणमध्ये एक बन्यो । स्पेनले अर्जेन्टिनालाई १–० ले हराएपछि यामालले लियोनेल मेस्सीलाई अँगालो हालेर सान्त्वना दिए । यही मेस्सीले बाल्यकालमा यामाललाई नुहाइदिएको प्रसिद्ध तस्बिर वर्षौंदेखि चर्चामा छ ।
त्यो दृश्यले एउटा पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण भएको प्रतीकात्मक सन्देश दियो । अवश्य पनि यामालले मेस्सीको उपलब्धिसम्म पुग्न अझ धेरै यात्रा तय गर्न बाँकी छ । तर केवल १९ वर्षको उमेरमै उनले युरोपियन च्याम्पियनसिप र विश्वकप दुवै जितिसकेका छन् ।
प्रशिक्षक दे ला फुएन्तेले भने, ‘यो सफलताले उनलाई अझ परिपक्व बनाउनेछ । उनले व्यक्तिगतभन्दा टोलीको हितलाई प्राथमिकता दिए । यही कारण उनी हाम्रो टोलीका लागि अत्यन्त महत्वपूर्ण खेलाडी हुन् । मेरो विचारमा उनले उत्कृष्ट विश्वकप खेले ।’
पराजितः क्रिस्टियन पुलिसिक
बेल्जियमसँग अन्तिम–१६ मा ३–० ले पराजित भएपछि अमेरिकाका कप्तान क्रिस्टियन पुलिसिकले आफूलाई चोट लागेकाले केही समय आराम गर्न पाउने सकारात्मक पक्ष रहेको बताए । करियरभर चोटले सताएका पुलिसिकका लागि विश्राम आवश्यक थियो । तर अमेरिकाको फुटबल इतिहासकै सबैभन्दा निराशाजनक हारपछि समर्थकहरूले यस्तो टिप्पणी सुन्न चाहेका थिएनन् ।
अमेरिकी फुटबलका महान् खेलाडी ल्यान्डन डोनोभनले सार्वजनिक रूपमा उनको आलोचना गरे । डोनोभनले भने, ‘घरेलु मैदानमा भइरहेको विश्वकपको नकआउट खेलबाट म त घिसारेर मात्र बाहिर निकालिन्थेँ । म चिकित्सकमाथि पनि रिसाउँथेँ र मैदान छोड्दिनथेँ ।’
उनले पुलिसिकलाई ठुला खेलमा अपेक्षित नेतृत्व देखाउन नसकेको आरोप लगाए । डोनोभनका अनुसार सामान्य खेलमा राम्रो प्रदर्शन गर्ने पुलिसिक निर्णायक अवसरहरूमा पटक–पटक कमजोर सावित भएका छन् । विश्वकपपछि पुलिसिकको खेल क्षमताभन्दा पनि उनको नेतृत्व र प्रतिबद्धतामाथि धेरै प्रश्न उठे ।
विजेताः इरान
इरान समूह चरणबाटै बाहिरियो । तर त्यसका बाबजुद पनि टोलीले विश्वभर सहानुभूति र सम्मान कमायो । प्रतियोगिताभर इरानी टोलीले असामान्य राजनीतिक र प्रशासनिक अवरोधहरू सामना गर्नुपर्यो । प्रशिक्षक अमिर घालेनोईका अनुसार उनीहरू ‘विश्वकप इतिहासकै सबैभन्दा पीडित टोली’ बने । यात्रा प्रतिबन्ध र कडा सुरक्षा व्यवस्थाका कारण टोली पहिलो दुई खेलअघि निकै ढिलो मात्र प्रतियोगिता स्थलमा पुग्न पाएको थियो, जसले तयारीमा गम्भीर असर पार्यो ।
कप्तान मेहदी तारेमीले पहिलो खेलपछि भने, ’हाम्रो लागि सबै कुरा विपत्तिजस्तै भइरहेको छ ।’ यति कठिन परिस्थितिका बाबजुद पनि इरान अन्तिम–३२ मा पुग्नबाट केही मिलिमिटरले मात्रै चुकेको थियो । इजिप्टविरुद्ध इन्जुरी समयमा गरेको निर्णायक गोल अत्यन्तै झिनो अफसाइडका कारण रद्द भएको थियो ।
घालेनोईले प्रतियोगितापछि फिफासँग यस्तो अवस्था फेरि नदोहोरिने व्यवस्था गर्न आग्रह गरे । यद्यपि विश्वकपमा इरानको यात्रा छोटो रह्यो, तर टोलीले मैदानभित्र र बाहिर देखाएको धैर्य र साहसले उनीहरूलाई धेरै समर्थकको नजरमा नैतिक विजेता बनायो ।
पराजितः भीएआर पीडितहरू
यस विश्वकपमा भिडियो सहायक रेफ्री (भिएआर) फेरि विवादको केन्द्रमा रह्यो । सबैभन्दा ठुलो उदाहरण क्रोएसिया र पोर्चुगलबीचको अन्तिम–३२ को खेल थियो । इन्जुरी समयमा जोस्को ग्भार्डिओलले गरेको बराबरी गोल भीएआरले अत्यन्तै सूक्ष्म अफसाइड देखाउँदै रद्द गरिदियो ।
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भने, ‘रेफ्रीको प्रदर्शन अत्यन्तै कमजोर थियो । भीएआरले फुटबलको भावना नै समाप्त गरिदिएको छ ।’ उनले थपे, ‘हामी भीएआरको प्रयोगमा धेरै टाढासम्म गइसकेका छौं । यसले खेलको आनन्द र भावनात्मक रोमाञ्च दुवै नष्ट गरिदिएको छ ।’
जर्मनी, इजिप्ट, नर्वे लगायत धेरै टोलीहरूले पनि यस विश्वकपमा विवादास्पद भीएआर निर्णयको मूल्य चुकाउनुपरेको थियो ।
पराजितः सेनेगल
सेनेगलको विश्वकप यात्रा आत्मघाती गल्तीहरूको कथा बन्यो । अन्तिम–३२ मा बेल्जियमविरुद्ध २–० को अग्रता बनाएको टोलीले खेल सकिन चार मिनेट बाँकी रहँदा दुई गोल खायो । अतिरिक्त समयमा खेल धकेलिएपछि लामिन कामाराले अनावश्यक पेनाल्टी दिए र बेल्जियमले त्यसलाई गोलमा परिणत गर्दै सेनेगललाई प्रतियोगिताबाट बाहिर पठायो ।
मिडफिल्डर हाबिब डियाराले हारपछि भावुक हुँदै भने, ‘हामी निकै निराश छौं । तर एउटा खेल ९० मिनेटसम्म खेलिन्छ । आजको हारका लागि अरू कसैलाई होइन, आफैंलाई दोष दिनुपर्छ ।’ मैदानबाहिर पनि टोली बोनस विवाद, प्रशिक्षक र फुटबल संघबीचको मतभेद तथा अन्य आन्तरिक समस्याले ग्रस्त थियो । त्यसैले प्रतियोगिताबाट बाहिरिनु धेरैका लागि अप्रत्याशित भएन ।
विजेताः मोरक्को
अफ्रिकी फुटबलको शक्ति प्रमाणित गर्ने टोलीमध्ये मोरक्को सबैभन्दा प्रभावशाली रह्यो । अफ्रिकाबाट छनोट भएका १० मध्ये ९ टोली अन्तिम–३२ मा पुगे । तीमध्ये मोरक्को क्वार्टरफाइनलसम्म पुग्ने एकमात्र टोली बन्यो ।
यदि शीर्ष गोलकर्ता इस्माइल साइबारी चोटमुक्त भएका भए, फ्रान्सविरुद्धको क्वार्टरफाइनलको नतिजा फरक हुन सक्ने धेरैको विश्वास थियो । प्रशिक्षक मोहम्मद ओहाबीले हारपछि पनि आशावादी हुँदै भने, ‘हामी निराश छौं । तर यदि यही बाटोमा अघि बढ्यौं भने हाम्रो भविष्य उज्ज्वल हुनेछ ।’
उनले थपे, ‘हामी केवल मोरक्कोको प्रतिनिधित्व गर्दैनौं । हामी अफ्रिका र अरब विश्वका लाखौं मानिसहरूको आशाको प्रतिनिधित्व गर्छौं ।’ उमेर समूहबाट उत्कृष्ट काम गरेका ओहाबीले केही महिनाअघि मात्रै सिनियर टोली सम्हालेका थिए । सन् २०३० को विश्वकप मोरक्कोले सह–आयोजना गर्ने भएकाले भविष्यमा अफ्रिकाको पहिलो विश्वविजेता बन्ने सपना अब असम्भव देखिँदैन ।
पराजितः एसियाली फुटबल
यस विश्वकपले एसियाली फुटबलको कमजोर अवस्था पनि उजागर गर्यो । एसियाबाट छनोट भएका नौ टोलीमध्ये केवल जापान र अस्ट्रेलिया मात्र समूह चरण पार गर्न सफल भए । तर दुवै टोली अन्तिम–३२ बाटै बाहिरिए ।
उत्तर अमेरिकामा एसियाली टोलीहरूले खेलेका २९ खेलमध्ये जम्मा तीन खेल मात्रै जिते । इराक, जोर्डन, कतार, साउदी अरेबिया र उज्बेकिस्तान सबै आफ्नो समूहको पुछारमा रहे । उज्बेकिस्तानका प्रशिक्षक फाबियो क्यानाभारोले भने, ‘जापान, अस्ट्रेलिया र सम्भवतः इरानबाहेक सबै एसियाली टोलीले धेरै सुधार गर्नुपर्ने अवस्था छ ।’
एसियाली फुटबल महासंघ (एएफसि) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफाले पनि विश्व फुटबलका शीर्ष राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न अझ धेरै काम गर्नुपर्ने स्वीकार गरे ।
विजेताः थोमस टुचेल
विश्वकपको तेस्रो स्थानका लागि हुने खेललाई धेरैले खासै महत्व दिँदैनन् । फ्रान्स र इंग्ल्यान्डबीच भएको १० गोलको रोमाञ्चक खेलले पनि यस्तो खेलमा भएका गोल र असिस्टलाई आधिकारिक तथ्यांकमा गणना गर्नुपर्छ कि पर्दैन भन्ने बहसलाई फेरि एकपटक चर्कायो ।
तर इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलका लागि भने यो जित निकै महत्त्वपूर्ण थियो । अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा अपनाएको अत्यधिक रक्षात्मक रणनीतिका कारण उनी कडा आलोचनाको केन्द्रमा परेका थिए । त्यसैले मियामीमा फ्रान्सलाई हराएर तेस्रो स्थान हासिल गर्नु उनका लागि केही राहतको विषय बन्यो ।
टुचेलले खेलपछि धेरै उत्सव मनाएनन् । बरु उनले इंग्ल्यान्डले सन् १९६६ पछि पहिलो पटक विश्वकप पदक जितेको तथ्यलाई विशेष रूपमा उल्लेख गरे । तेस्रो स्थानले इंग्लिस फुटबल संघ (एफए) लाई पनि उनलाई थप दुई वर्ष प्रशिक्षकका रूपमा निरन्तरता दिने निर्णयलाई उचित ठहर गर्न सजिलो बनायो । यद्यपि धेरै विश्लेषकको विचारमा सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध देखिएको उनको रणनीतिक कमजोरीका कारण उनलाई पदबाट हटाउनुपर्ने थियो ।
बीबीसीसँग कुरा गर्दै पूर्वखेलाडी ड्यानी मर्फीले भने, ‘टुहेलले जागिर त जोगाउनेछन्, तर मेरो विचारमा उनी त्यसका हकदार थिएनन् । इंग्ल्यान्ड उनको रणनीतिक गल्तीका कारण विश्वकप फाइनल पुग्नबाट वञ्चित भयो ।’
पराजितः डिडिएर डेसच्याम्प्स
फ्रान्सका महान् प्रशिक्षक डिडिएर डेसच्याम्प्सको अन्तर्राष्ट्रिय यात्राको अन्त्य सुखद हुन सकेन । उनको बिदाइ सन्देशमा किलियन एम्बाप्पेले लेखेका थिए, ‘मानिसहरूले सधैं तपाईंको महानतालाई सही मूल्याङ्कन गरेनन् । तर समय र इतिहासले तपाईंको योगदानको न्याय गर्नेछ ।’
सायद एम्बाप्पे सही छन् । भविष्यमा इतिहासले डेसच्याम्प्सलाई विश्वकप विजेता प्रशिक्षकका रूपमा सम्झिनेछ । तर धेरै विश्लेषकको धारणा फरक छ । सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा पनि टोलीसँग भएको प्रतिभाअनुसार अझ उत्कृष्ट खेल्न सक्थ्यो भन्ने भावना थियो । त्यसपछि पनि फ्रान्ससँग विश्वकै बलियो टोली रहँदा पनि युरोपियन च्याम्पियनसिप र विश्वकपमा अपेक्षित सफलता हासिल हुन सकेन ।
यस विश्वकपअघि डेसच्याम्प्सले केही आक्रामक शैली अपनाउने संकेत दिएका थिए । तर निर्णायक क्षणमा स्पेनविरुद्ध पुरानै रक्षात्मक सोच दोहोरियो । डलासमा भएको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई पूर्ण रूपमा नियन्त्रणमा राख्यो । विश्वकै उत्कृष्ट आक्रमण पंक्ति भएको टोलीले पनि खास अवसर सिर्जना गर्न सकेन ।
एम्बाप्पेले खेलाडीहरूले प्रशिक्षकलाई निराश बनाएको बताएका थिए । तर धेरैको बुझाइमा डेसच्याम्प्सले नै फ्रान्सलाई निराश बनाए । विश्वकप जित्ने सबैभन्दा बलियो दाबेदार टोली अन्ततः चौथो स्थानमा सीमित भयो ।
विजेताः लियोनेल मेस्सी
विश्वकपको अन्तिम खेल मेस्सीका लागि आँसुसँगै समाप्त भयो । सम्भवतः राष्ट्रिय टोलीबाट उनको अन्तिम खेलमा अर्जेन्टिना १–० ले पराजित भयो । फाइनलमा उनले केवल ५५ पटक मात्र बल छोए । टोलीको प्रदर्शन पनि प्रतियोगिताभरकै सबैभन्दा कमजोर रह्यो ।
तर यसले मेस्सीको विश्वकपलाई असफल बनाउन सक्दैन । बरु कतार २०२२ भन्दा पनि यसपटक उनले अझ ठुलो चमत्कार देखाए । ३९ वर्षको उमेरमा उनले आठ गोल गरे, चार असिस्ट दिए र सिल्भर बल तथा सिल्भर बुट दुवै जिते ।
सामान्यस्तरको अर्जेन्टिना टोलीलाई उनले आफ्नो एकल प्रतिभाको बलमा तेस्रो पटक विश्वकप फाइनलसम्म पुर्याए । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा देखाएको उनको जादुई प्रदर्शनले उनी अझै किन विश्व फुटबलका महानतम खेलाडी हुन् भन्ने प्रमाणित गर्यो ।
बीबीसीसँग कुरा गर्दै वेन रुनीले भने, ‘यो विश्वकपले मेस्सी नै इतिहासकै महान् फुटबलर हुन् भन्ने बहसलाई अन्तिम रूप दिएको छ ।’
पराजितः मार्सेलो बिएल्सा
उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले केही महिनाअघि भनेका थिए, ‘म विषजस्तै मान्छे हुँ । मसँग काम गर्नेहरूलाई अन्ततः घाटा हुन्छ ।’ विश्वकपपछि उनका शब्दहरू सत्य साबित भए । उरुग्वे समूह चरणबाटै बाहिरियो । टोलीले एउटा पनि खेल जित्न सकेन । फिफा वरीयतामा शीर्ष २० भित्र रहेको टोलीले साउदी अरेबिया र केप भर्डेजस्ता टोलीलाई हराउनुपर्ने थियो । तर दुवैसँग बराबरी खेलेपछि स्पेनसँग पराजित हुँदै उरुग्वेको यात्रा समाप्त भयो ।
प्रतियोगिता सुरु हुनुअघि नै टोलीभित्र समस्या रहेको संकेत देखिएको थियो । बिएल्सा सधैं प्रतिभाशाली प्रशिक्षक मानिए पनि उनको कठोर स्वभावले खेलाडी र व्यवस्थापनसँग सम्बन्ध बिगार्ने गरेको आरोप लाग्दै आएको छ ।
विश्वकपपछि उनले भावुक हुँदै स्वीकार गरे, ‘यदि कसैले मेरो कार्यकाललाई कसरी सम्झिनेछ भनेर सोध्यो भने, म भन्न चाहन्छु—मैले उरुग्वेली फुटबललाई केही पनि दिएर जाँदै छैन ।’ त्यो स्वीकारोक्ति पीडादायी थियो, तर धेरैका लागि सत्य पनि ।
विजेताः जुड बेलिङ्घम
इंग्ल्यान्ड अर्जेन्टिनासँग सेमिफाइनलमा पराजित हुँदा जुड बेलिङ्घम निकै निराश देखिएका थिए । करिब दोब्बर उमेरका लियोनेल मेस्सी अझै आफूभन्दा माथिल्लो स्तरमा खेलिरहेको स्वीकार्नु उनका लागि सजिलो थिएन । तर समग्रमा हेर्दा यो विश्वकप बेलिङ्घमका लागि अत्यन्त सफल रह्यो । विश्वकपअघि उनी पहिलो रोजाइमा पर्नुपर्ने कि नपर्ने भन्ने बहस थियो । कतिपयले त उनको आवेगपूर्ण स्वभावका कारण टोलीबाटै बाहिर राख्नुपर्ने तर्क गरेका थिए ।
तर प्रतियोगिताभर उनले क्रोएसिया, पानामा, मेक्सिको र नर्वेविरुद्ध निर्णायक भूमिका खेले । फ्रान्सविरुद्ध तेस्रो स्थानको खेलमा उत्कृष्ट व्यक्तिगत गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए । सात गोलसहित उनी एकै विश्वकपमा सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी बने ।
केही वर्षपछि इंग्ल्यान्डको टोली नै उनको वरिपरि निर्माण हुनेछ भन्ने विश्वास धेरैको छ । उनी मेस्सी नहुन सक्छन्, तर मेस्सीपछिको विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडी बन्ने सम्भावना भने प्रबल देखिन्छ ।
पराजितः जेसी मार्श
क्यानडाले आफ्नो इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनायो । कतारलाई ६–० ले हरायो, दक्षिण अफ्रिकालाई इन्जुरी समयमा गोल गर्दै अन्तिम–१६ मा पुग्यो र सम्पूर्ण देशलाई उत्साहित बनायो । तर प्रतियोगिताको अन्त्यपछि सबैले सम्झिने दृश्य भने प्रशिक्षक जेसी मार्शको पत्रकार सम्मेलन बन्यो ।
मोरक्कोसँग ३–० ले पराजित भएपछि उनले भने, ‘मलाई त उनीहरूभन्दा हाम्रो टोली उत्कृष्ट लाग्छ ।’ जबकि खेलमा मोरक्को स्पष्ट रूपमा उत्कृष्ट थियो । आफ्नो टोलीप्रति गर्व गर्नु स्वाभाविक भए पनि यस्तो अभिव्यक्तिले धेरैलाई असहज बनायो । आलोचकहरूका अनुसार मार्शले अनावश्यक रूपमा उत्कृष्ट प्रतिद्वन्द्वीको सम्मान नगरेर आफ्नै छविलाई क्षति पुर्याए ।
विजेताः स्पेनको रक्षापंक्ति
स्पेन विश्वविजेता बन्नुको सबैभन्दा ठुलो कारण केवल आक्रमण होइन, अद्भुत रक्षा पनि थियो । गोल्डेन बल विजेता रोड्रीले रक्षापंक्तिको अगाडि ढालको भूमिका निर्वाह गरे । प्रशिक्षक लुइस दे ला फुएन्तेले पेड्रीलाई बेन्चमा राखेर फाबियान रुइजलाई मैदान उतार्ने साहसी निर्णय गरे, जुन पूर्ण रूपमा सफल भयो ।
यद्यपि यो सामूहिक सफलताको कथा थियो, चार खेलाडी विशेष प्रशंसाका पात्र बने । ति हुन्ः पेड्रो पोरो, आयमेरिक लापोर्त, मार्क कुकुरेया, र १९ वर्षीय पाउ कुबार्सी । यी चारै जनाले प्रतियोगिताभर असाधारण प्रदर्शन गरे ।
स्पेनले आठ खेलमा जम्मा एक गोल मात्र खायो । गोलरक्षक उनाइ सिमोनले पनि सम्पूर्ण प्रतियोगितामा केवल १० वटा बचाउ गर्नुपर्यो । विश्वकप इतिहासमा यस्तो रक्षात्मक प्रभुत्व अत्यन्त दुर्लभ मानिन्छ ।
पराजितः स्कटल्यान्ड
स्कटल्यान्डका समर्थकहरू विश्वकपका सबैभन्दा उत्साही समर्थकमध्ये एक थिए । तर टोली भने प्रतियोगिताकै कमजोरमध्ये एक बन्यो । हाइटीविरुद्धको एउटा जितबाहेक स्कटल्यान्डले केही गर्न सकेन । समूह चरणका तीन खेलमा जम्मा सात शट मात्र लक्ष्यमा प्रहार गर्यो ।
पूर्वअन्तर्राष्ट्रिय खेलाडी क्रेग बर्लीले भने, ‘यदि स्कटल्यान्ड अर्को चरणमा पुगे पनि त्यो उत्सव मनाउन लायक उपलब्धि हुने थिएन । त्यो त प्रतियोगिताको ढाँचाको कारण मात्र हुन्थ्यो ।’ स्टिभ निकोलले भन्न भ्याए, ‘विश्वकप उत्कृष्ट टोलीहरूको प्रतियोगिता हुनुपर्छ । कमजोर टोलीहरूलाई कृत्रिम रूपमा अघि बढाउँदा प्रतियोगिताको मूल्य घट्छ ।’
विजेताः केप भर्डे
इंग्ल्यान्ड, फ्रान्स, अर्जेन्टिना वा स्पेनको होइन, यस विश्वकपको सबैभन्दा सुन्दर कथा केप भर्डेको रह्यो । साना द्वीपीय राष्ट्रले अन्तिम–३२ मा अर्जेन्टिनालाई लगभग स्तब्ध बनाएको थियो । स्पेनसँग गोलरहित बराबरी, साउदी अरेबियासँगको बराबरी र नकआउट चरणसम्मको यात्रा आफैँमा ऐतिहासिक थियो ।
४० वर्षीय बेरोजगार गोलरक्षक भोजिन्हा र डब्लिनमा जन्मिएका डिफेन्डर पिको लोपेसजस्ता खेलाडीहरूले असम्भवलाई सम्भव बनाए । प्रशिक्षक बुबिस्टाले भने, ‘यो विश्वकपले फेरि प्रमाणित गर्यो—असम्भव भन्ने केही हुँदैन ।’
पराजितः क्रिस्टियानो रोनाल्डो
उज्बेकिस्तानविरुद्ध दुई गोल गरेपछि क्रिस्टियानो रोनाल्डोले क्यामेरातर्फ हेर्दै चिच्याएका थिए, ‘म फर्किएँ ! म फर्किएँ !’ तर वास्तविकता फरक थियो । ४१ वर्षीय रोनाल्डो अब पहिलेजस्तो खेलाडी रहेनन् । पोर्चुगलका लागि उनी मैदानमा कम चलायमान देखिए । धेरैलाई उनी वास्तविक खेलाडीभन्दा ‘स्थिर मूर्ति’ जस्तो लागे ।
सबैभन्दा ठुलो आलोचना भने प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि भयो । उनले समयमै रोनाल्डोलाई सम्मानजनक रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ नगरी टोलीको विकास रोकिदिएको आरोप लाग्यो । रोनाल्डोले आफ्नो विरासतमा असर नपर्ने बताएका थिए । तर आलोचकहरूका अनुसार समस्या उपाधि नजित्नु होइन, बरु प्रतिभाशाली पोर्चुगिज टोलीको बाटोमै उनी बाधक बन्नु थियो ।
विजेताः होसाम हसन
इजिप्टका प्रशिक्षक होसाम हसनले विश्वकपलाई केवल फुटबलको प्रतियोगिता होइन, मानवताको मञ्चका रूपमा प्रयोग गरे । गाजामा भइरहेको हिंसाबारे बोल्दै उनले भने, ‘यदि संसारमा कसैले प्यालेस्टिनी जनताको पीडा महसुस गर्दैन भने त्यो व्यक्ति वास्तवमै मानव होइन ।’ उनले विश्वभरका खेलाडी र सञ्चारमाध्यमलाई फुटबलमार्फत शान्ति र मानवताको सन्देश फैलाउन आग्रह गरे । उनको सन्देश थियो, ‘प्यालेस्टिनीहरूलाई बाँच्न दिऔँ, उनीहरूलाई आफ्नै जीवन बाँच्न दिऔँ ।’
पराजितः फिफाको विश्वसनीयता
सन् २०२६ को विश्वकपले फिफाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठायो । यात्रा प्रतिबन्ध, राजनीतिक हस्तक्षेप, प्रतियोगिताको ढाँचा परिवर्तन, रेफ्री विवाद र आयोजकसम्बन्धी निर्णयहरूले प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न खडा गरे । पत्रकारहरूले प्रश्न उठाउँदा उनीहरूलाई ‘फुटबलमै ध्यान दिन’ भनियो, तर फुटबलकै स्वरूप परिवर्तन गरिएको थियो । यो प्रतियोगिता केवल विश्वकप मात्र नभई फिफाको विश्वसनीयताको पनि परीक्षा थियो । र, त्यसमा संस्था सफल हुन सकेन ।
विजयीः गाजाबासी र प्यालेस्टाइन
स्पेनको विश्वकप जितलाई केही पर्यवेक्षकहरूले फुटबलभन्दा बाहिरको राजनीतिक सन्दर्भसँग पनि जोडेर व्याख्या गरेका छन् । गाजामा जारी युद्धका क्रममा स्पेन सरकारले प्यालेस्टिनी राज्यलाई मान्यता दिँदै युद्धविराम, मानवीय सहायता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न जोड दिएको थियो । स्पेनका केही खेलाडी तथा फुटबलसँग सम्बन्धित व्यक्तित्वहरूले पनि गाजामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसकै कारण पनि सिंगो प्यालेस्टाइन स्पेन तथा इजिप्टजस्ता मुलुकको समर्थनमा थिए ।
अर्कोतर्फ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लियोनेल मेस्सी र अर्जेन्टिनाप्रति प्रशंसा व्यक्त गरेका सार्वजनिक सन्देशहरू विगतमा आएका छन्, र इजरायल तथा अर्जेन्टिनाबिच खेलकुद तथा कूटनीतिक सम्बन्ध पनि निकट मानिन्छ । त्यस आधारमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फाइनललाई राजनीतिक प्रतीकका रूपमा व्याख्या गर्दै स्पेनको जितलाई नेतन्याहुको छनोटमाथिको प्रतीकात्मक हारका रूपमा चित्रित गरे । विषम परिस्थितिमा समेत आफ्नो मुलुकको लागि बोलिदिने मुलुकले विश्वकप उचाल्दा केहि क्षणलाई भएपनि गाजाबासी हर्षित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण