मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड

मङ्गलबार, ०५ साउन २०८३, १८ : ३८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेपालका लागि जर्मन राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनीबिचको ऐतिहासिक सम्बन्धलाई अझ गतिशील बनाउनुपर्ने बताएका छन् ।
  • उनले दुई देशबिच आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सहकार्यहरू भइरहेको र यसलाई विकास निर्माण, जलवायु कार्य, शिक्षा, व्यावसायिक तालिम, आर्थिक समृद्धि, नवीकरणीय ऊर्जा तथा जनस्तरको सम्बन्ध जस्ता क्षेत्रहरूमा अझ वृद्धि गर्नुपर्नेमा जोड दिए ।
  • कार्यक्रममा परिवर्तनशील अन्तर्राष्ट्रिय परिवेशमा जर्मनीको वैदेशिक नीति, बहुपक्षीयताप्रतिको प्रतिबद्धता, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र दिगो विकासका प्राथमिकताबारे पनि छलफल भएको थियो ।

काठमाडौँ । नेपालका लागि जर्मन राजदूत उडो युजेन भोल्जले नेपाल–जर्मनबिचको सम्बन्ध ऐतिहासिक रहेको र यसलाई अझै गतिशील तरिकाले अगाडि बढाउनुपर्ने बताएका छन्। 

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्टले आयोजना गरेको नेपाल–जर्मनी सम्बन्धको गतिशीलता खोजी विषयक कार्यक्रममा उनले नेपाल र जर्मनी बिचको दीर्घकालीन साझेदारीबारे मंगलबार आफ्ना धारणा राख्दै उनले दुई देशबिच आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सहकार्यहरू भइरहेको धारणा राखे।

विकास निर्माण, जलवायु कार्य, शिक्षा, व्यावसायिक तालिम, आर्थिक समृद्धि, नवीकरणीय ऊर्जा तथा जनस्तरको सम्बन्ध जस्ता क्षेत्रहरूमा भइरहेको द्विपक्षीय सहयोगलाई अझै वृद्धि गर्दै लैजानुपर्ने उनले बताए ।

कार्यक्रममा उनले परिवर्तनशील अन्तर्राष्ट्रिय परिवेशमा जर्मनीको समसामयिक वैदेशिक नीति, बहुपक्षीयताप्रतिको प्रतिबद्धता, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र दिगो विकासका प्राथमिकताबारे धारणा राखेका थिए ।

दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरहरूमाथि कार्यक्रममा छलफल भएको थियो। नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्टले नेपालको अन्तर्राष्ट्रिय संलग्नताबारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी अधिकारी, शिक्षाविद्, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा नीति क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप