बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्‍यो संयुक्त पुल उद्घाटन समारोह

बुधबार, ०६ साउन २०८३, १२ : १४
बुधबार, ०६ साउन २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक प्रतिबन्धको धम्की दिएपछि क्यानडाले अमेरिका–क्यानडा संयुक्त रूपमा आयोजना गर्न लागिएको गोर्डी होवे अन्तर्राष्ट्रिय पुल उद्घाटन समारोह रद्द गरेको छ ।
  • क्यानडाका पूर्वाधार मन्त्री ग्रेगर रोबर्टसनकी प्रवक्ता जेना घासाबेहले अमेरिकी प्रशासनले यसै साता व्यापारिक कारबाहीको धम्की दिएको अवस्थामा दुई देशले संयुक्त रूपमा उत्सव मनाउनु उपयुक्त नहुने बताइन् ।
  • करिब ४.७ अर्ब अमेरिकी डलर लागतमा निर्माण भएको गोर्डी होवे अन्तर्राष्ट्रिय पुलले क्यानडाको विन्डसर (ओन्टारियो) र अमेरिकाको डेट्रोइट (मिशिगन) लाई जोड्छ ।

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक प्रतिबन्धको धम्की दिएपछि क्यानडाले अमेरिका–क्यानडा संयुक्त रूपमा आयोजना गर्न लागिएको गोर्डी होवे अन्तर्राष्ट्रिय पुल उद्घाटन समारोह रद्द गरेको छ । 

क्यानडाका पूर्वाधार मन्त्री ग्रेगर रोबर्टसनकी प्रवक्ता जेना घासाबेहले अमेरिकी प्रशासनले यसै साता व्यापारिक कारबाहीको धम्की दिएको अवस्थामा दुई देशले संयुक्त रूपमा उत्सव मनाउनु उपयुक्त नहुने बताइन् ।

पुल पूर्वनिर्धारित तालिकाअनुसार जुलाई २७ देखि सञ्चालनमा आउने तर यसअघि जुलाई २४ मा आयोजना गर्ने भनिएको संयुक्त रिबन काट्ने समारोह रद्द गरिएको उनले बताइन् । क्यानडाले जुलाई २४ मा अमेरिकी अधिकारीहरूसँग संयुक्त कार्यक्रम नगरी आफ्नै नागरिकसँग मात्रै उद्घाटनको अवसर मनाउने जनाएको छ । यसअघि उक्त समारोहमा अमेरिका र क्यानडाका सरकारी अधिकारीहरूको सहभागिता रहने योजना थियो ।

सोमबार राष्ट्रपति ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका थिए । अमेरिकी प्रशासनले क्यानडाले अमेरिकी उत्पादन भएका गाडी, मदिरा र दुग्धजन्य वस्तुमाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै नयाँ शुल्क घोषणा गरेको हो । यही निर्णयपछि क्यानडाले संयुक्त उद्घाटन समारोह रद्द गर्ने निर्णय लिएको हो ।

करिब ४.७ अर्ब अमेरिकी डलर लागतमा निर्माण भएको गोर्डी होवे अन्तर्राष्ट्रिय पुलले क्यानडाको विन्डसर (ओन्टारियो) र अमेरिकाको डेट्रोइट (मिशिगन) लाई जोड्छ । पुलको नाम डेट्रोइट रेड विङ्सका प्रसिद्ध हक्की खेलाडी गोर्डी होवेको सम्मानमा राखिएको हो । यो पुल सुरुमा जुन महिनामै सञ्चालनमा ल्याउने योजना थियो । तर विभिन्न प्राविधिक तथा राजनीतिक कारणले उद्घाटन सरेको थियो ।

फेब्रुअरीमा पनि ट्रम्पले क्यानडाले केही अमेरिकी मदिरा बिक्री नगरेको, दुग्धजन्य वस्तुमा शुल्क लगाएको तथा चीनसँग व्यापार वार्ता अघि बढाएको भन्दै पुल परियोजना रोक्ने चेतावनी दिएका थिए । पछि दुवै देशबीच पुलको टोल शुल्कसम्बन्धी सहमति भएपछि परियोजना अघि बढाइएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप