बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर

बुधबार, ०६ साउन २०८३, १४ : ३८
बुधबार, ०६ साउन २०८३

सारांश

  • पाकिस्तानले इरानसँगको द्वन्द्व समाधानमा मध्यस्थता गरेपछि अमेरिकालाई १० अर्ब डलरको विदेशी मुद्रा स्थिरीकरण सुविधा माग गरेको छ।
  • यो प्रस्ताव स्वीकृत भएमा आर्थिक संकटमा रहेको पाकिस्तानलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ।
  • अमेरिकी अर्थमन्त्रीसँगको भेटमा पाकिस्तानका अर्थमन्त्रीले क्षेत्रीय भूराजनीतिक तनावले अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल गरेका थिए।

काठमाडौँ। इरानसँगको द्वन्द्व समाधानका लागि कूटनीतिक मध्यस्थता गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा स्थिरीकरण सुविधा (एक्सचेन्ज स्टाबिलाइजेसन फेसिलिटी) माग गरेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। 

यो प्रस्ताव स्वीकृत भए आर्थिक सङ्कटबाट जुधिरहेको पाकिस्तानका लागि ठुलो राहत हुने अपेक्षा गरिएको छ। रोयटर्सका अनुसार पाकिस्तानले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टलाई पठाएको प्रस्तावमा पाँच वर्षसम्मका लागि १० अर्ब डलरको द्विपक्षीय विदेशी मुद्रा स्थिरीकरण सुविधा उपलब्ध गराउन अनुरोध गरेको छ।

यस सहयोगबाट पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढ्ने, पाकिस्तानी रुपैयाँमाथिको दबाब कम हुने तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थामाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ । यद्यपि अमेरिकी अर्थ मन्त्रालयले यस विषयमा कुनै टिप्पणी गरेको छैन भने पाकिस्तानको अर्थ मन्त्रालयले पनि तत्काल प्रतिक्रिया दिएको छैन।

यो अनुरोध पाकिस्तानले अमेरिका र इरानबिच जारी तनावमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेपछि आएको हो। कूटनीतिक सक्रियताले पाकिस्तानको अन्तर्राष्ट्रिय भूमिका बढेकाले त्यसको आर्थिक लाभ पनि प्राप्त गर्न सकिने अपेक्षासहित यस्तो प्रस्ताव अघि सारिएको बताइएको छ। 

पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरंगजेबले मङ्गलबार वासिङ्टनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग भेट गरेका थिए । पाकिस्तानी अर्थ मन्त्रालयका अनुसार भेटमा क्षेत्रीय भूराजनीतिक तनावले पाकिस्तानको अर्थतन्त्रमा परेको प्रभावबारे छलफल भएको थियो।

औरंगजेबले अन्तर्राष्ट्रिय पुँजी बजारमा सहज पहुँच, विदेशी मुद्रा सञ्चिति वृद्धि तथा पाकिस्तानको सार्वभौम ऋण मूल्याङ्कन सुधारका लागि अमेरिकाको थप सहयोग आवश्यक रहेको बताएका थिए । 

दुवै पक्षले आर्थिक सहकार्य विस्तार, अमेरिकी लगानी वृद्धि तथा रणनीतिक परियोजनामा सहकार्य बढाउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। पाकिस्तान हाल ७ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कार्यक्रमअन्तर्गत आर्थिक सुधार लागू गरिरहेको छ।

यस कार्यक्रमका कारण कर वृद्धि, सरकारी खर्च कटौती तथा विभिन्न आर्थिक सुधार लागू गरिए पनि ती निर्णय राजनीतिक रूपमा अलोकप्रिय बनेका छन्। सन् २०२३ मा पाकिस्तान डिफल्टको जोखिममा पुगेपछि आईएमएफको ३ अर्ब डलरको आपत्कालीन सहायता प्राप्त गरेको थियो। त्यसपछि ७ अर्ब डलरको विस्तारित सहायता कार्यक्रम तथा जलवायु परिवर्तन र प्राकृतिक विपद्का लागि थप १ अर्ब ३० करोड डलर ऋण पनि स्वीकृत भएको थियो। 

तर पाकिस्तानको विदेशी मुद्रा सञ्चिति अझै पनि चीन, साउदी अरेबिया लगायतका मित्र राष्ट्रको सहयोग र आईएमएफको किस्तामाथि निर्भर रहेको छ। गत अप्रिलमा संयुक्त अरब इमिरेट्सलाई करिब ३ अर्ब ५० करोड डलर ऋण फिर्ता गर्दा पाकिस्तानको कुल विदेशी मुद्रा सञ्चितिको करिब पाँचौँ हिस्सा खर्च भएको थियो। त्यसबेला साउदी अरेबियाले ३ अर्ब डलर नयाँ सहयोग उपलब्ध गराएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप