आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेबाट मुख्यमन्त्री बन्न दौडधुप सुरु, कुन प्रदेशमा कसको चर्चा ?

आइतबार, १० साउन २०८३, १४ : २०
आइतबार, १० साउन २०८३

सारांश

  • एमाले र नेकपाबीच पाँच प्रदेशमा सत्ता समीकरणको सहमति भएसँगै एमालेको भागमा परेका तीन प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरूको दौडधुप सुरु भएको छ ।
  • शनिवारको सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री बनाउनेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री पाउनेछ ।
  • कोशीमा तिलकुमार मेन्याङ्बो, बागमतीमा किरण थापा र लुम्बिनीमा भूमिश्वर ढकाल मुख्यमन्त्री बन्ने चर्चा छ, तर यसका लागि दलको नेता परिवर्तन गर्नुपर्नेछ ।

काठमाडौँ । एमाले र नेकपाबिच पाँच प्रदेशमा सत्ता समीकरणका लागि समझदारी भएसँगै नेकपा एमालेको भागमा परेका तीन प्रदेशमा मुख्यमन्त्री बन्न नेताहरूको दौडधुप सुरु भएको छ । त्यसअघि नेताहरूबिच प्रदेश संसदीय दलको नेता बन्न कतिपय नेताहरू शक्ति केन्द्र रिझाउन व्यस्त रहेका छन् ।

शनिवार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबिच भएको तीन बुँदे सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनीमा नयाँ मुख्यमन्त्री बनाउने छ भने नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री पाउनेछ । एमालेको भागमा परेका कोशीमा हाल एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् भने बागमतीमा कांग्रेसका इन्द्रबहादुर बानियाँ रहेका छन् । लुम्बिनीमा एमालेकै चेतनारायण आचार्य रहेका छन् ।

भागबण्डा पाएअनुसार  नेकपाले सुदूरपश्चिममा खगराज भट्ट र कर्णालीमा मंगलबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । तर एमालेको भागमा परेका बागमती, कोशी र लुम्बिनीमा भने कसलाई मुख्यमन्त्री बनाउने भन्ने एमालेभित्रै प्रस्ट छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूका अनुसार कोशीमा अध्यक्ष ओलीले कार्कीको ठाउँमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका छन् । त्यसो हुँदा कार्कीले मार्गप्रशस्त गनुपर्नेछ । तर, कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन पहिला प्रदेश दलको नेता चयन गर्नुपर्नेछ । मेन्याङ्बो हाल नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेता छन् ।

९२ सदस्यीय कोशी प्रदेश सभामा एमालेका १७ सांसद रहेका छन्, जुन सरकार गठनमा ठिक बहुमतमात्र पुग्छ । पार्टीको निर्णय अनुसार दलको नेता परिवर्तन गरिए कार्कीले मेन्याङ्बोलाई साथ दिने एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा बताउँछन् ।

‘पार्टीको निर्णय नमान्ने कुरा हुँदैन, दलको नेता परिवर्तन भए पनि कुनै अप्ठेरो हुँदैन’, खतिवडाको भनाइ छ ।

यता, बागमतीमा हाल एमाले संसदीय दलको नेता चितवनका जगन्नाथ थपलिया छन् । तर, अध्यक्ष ओलीले भक्तपुरका किरण थापालाई मुख्यमन्त्री बनाउने भित्री तयारी गरेको बताइएको छ । त्यसो हुँदा बागमतीमा पनि दलको नेता परिवर्तन गर्नुपर्ने हुन्छ । यदि दलको नेता परिवर्तन गर्न मतदान भए बागमतीमा हाल दलको नेता रहेका जगन्नाथ थपलिया, भक्तपुरका किरण थापा र काठमाडौँका केशव पोखरेलविच प्रतिस्पर्धा हुने बताइएको छ । पोखरेलले आफू दलको नेतामा प्रतिस्पर्धा गर्ने निकटस्थहरूलाई बताउँदै आएका छन् ।

‘ओलीको रोजाइमा किरण परेको खण्डमा दलको नेताका लागि तीन जनाको प्रतिस्पर्धा हुने देखिएको छ’, नेकपा एमाले बागमती प्रदेशका एक सांसद भन्छन्, ‘यदि ३ जनाको उम्मेदवारी पर्‍यो भने, पोखरेलले बाजी मार्ने सम्भावना बढी छ ।’ १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सदस्य आवश्यक पर्छ । बागमतीमा एमालेका उपसभामुखबाहेक २५ र नेकपाका २६ सांसद रहेका छन् ।

यो प्रदेशमा सरकार बनाउन एमालेले हानेपा, राप्रपा वा नेमकिपाको साथमा लिनुपर्छ । संसदीय गणितमा अर्को दलको साथ लिनुपर्ने र पार्टीभित्रकै समीकरण मिलाउन समेत नेताहरूलाई चित्त बुझाउनुपर्ने भएकाले यहाँ पनि एमालेलाई सरकार बनाउन मेहनत गर्नुपर्ने देखिएको छ ।

उता लुम्बिनीमा पनि आचार्यलाई नै निरन्तरता दिने कि अर्को नेतालाई अवसर दिने भन्ने एमालेले प्रस्ट पारिसकेको छैन । अध्यक्ष ओलीले यसबारे कुनै संकेत नगरेको लुम्बिनीका एमाले नेता तथा सांसदहरूको भनाइ छ । स्रोतका अनुसार महासचिव शङ्कर पोखरेल निकट मानिन्छन् । अर्घाखाचीका आचार्यलाई महासचिव पोखरेलले मुख्यमन्त्रीको निरन्तरताका लागि प्रयत्न गर्नेछन् । तर, अध्यक्ष केपी शर्मा ओलीले उनको विकल्पमा भूमिश्वर ढकाललाई अघि सार्ने तयारी गरेको उनी निकटका नेताहरूले बताएका छन् । यस्तो अवस्थामा आचार्य र ढकालको दलको नेतामा दाबी पर्ने देखिएको छ । आचार्य र ढकाल प्रतिस्पर्धा गर्ने अवस्थामा तेस्रो पक्ष पनि त्यहाँ मैदानमा आउने चर्चा चलेको छ । तेस्रो पक्षका रूपमा पूर्व मुख्यमन्त्री लीला गिरीलाई पनि एमालेको एक समूहले अघि सार्ने तयारी गरेको बताइएको छ । यहाँ भोज प्रसाद श्रेष्ठको नाम पनि चर्चामा छ । 

८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४३ सांसद आवश्यक पर्छन् । लुम्बिनीमा एमालेका २९ र नेकपाका १२ सांसद छन् । एमाले र नेकपाका ४१ सांसद हुँदा बहुमतका लागि एक जना सांसद स्वतन्त्र, जसपा र राप्रपामध्ये कुनै एक पक्षले सहयोग गर्नुपर्ने हुन्छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेकी एमाले सचिव पद्मा अर्यालले दुई दलबिचको सहमति अनुसार प्रदेशमा सरकार गठन हुने बताइन् । तर मुख्यमन्त्री चयनबारे पार्टीमा छलफल भइनसकेको अर्यालको भनाइ छ ।

‘व्यक्तिका बारेमा छलफल नै भएको छैन’, अर्यालले भनिन्, ‘अव बिस्तारै छलफल हुन्छ र विधि बन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप