आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

कर्णाली नेकपाका सचेतक भन्छन्‌ : एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन

अहिले नै सहकार्य गर्दा स्वच्छ मनले हुनुपर्छ, नभए भोलि समस्या हुन्छ : कृष्णबहादुर जिसी
आइतबार, १० साउन २०८३, १८ : ०२
आइतबार, १० साउन २०८३

सारांश

  • केन्द्रमा बनेको एमालेसँगको सत्ता समीकरण कर्णाली प्रदेशका नेकपा नेताहरूलाई भने स्वीकार गर्न कठिन भएको छ ।
  • प्रदेशमा कांग्रेससँग मिलेर एमालेका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर सत्ताबाट हटाएको थियो ।
  • नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले एमालेसँगको सत्ता सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो आफूलाई नलागेको बताए ।

सुर्खेत । केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेसँग सत्ता समीकरण बनेसँगै उक्त समीकरण नेकपा कर्णालीका नेतालाई निल्नु न ओकल्नुजस्तै भएको छ । प्रदेशका कांग्रेससँग समीकरण गरेर एमालेका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी राजीनामा दिन बाध्य पारिसकेको अवस्थामा केन्द्रबाट जबरजस्ती एमालेसँग सहकार्य अघि बढाइएको छ ।

साथै, उक्त समीकरण स्वीकार गर्न नेकपा पार्टी केन्द्रले निर्देशन समेत दिइसकेको छ । सोही अनुसार, नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मङ्गलबहादुर शाही आइतबार पार्टी केन्द्रसँग छलफल गर्न काठमाडौँ गएका छन् ।

आफैँले अविश्वास प्रस्ताव दर्ता गरी एमालेको सत्ता ढालिसकेको अवस्थामा पुनः सोही एमालेसँग सहकार्य गर्दा पछि समस्या आउने विश्लेषण गरिरहेका छन्, नेकपा नेताहरू । एमाले दल नेता कँडेललाई हटाउने बेलासम्म उनीहरू प्रदेशले स्वायत्तता प्रयोग गर्ने गफ चुट्दै थिए । यद्यपि अन्तिममाः पार्टी केन्द्रको निर्देशन मान्नुपर्ने अवस्थामा एमालेसँगको सहकार्यबाट नेकपाका नेता चिन्तामा छन् ।

नेकपाले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री मान्न तयार थियो । तर, केन्द्रबाट एमालेसँग सहकार्यसँगै कर्णालीको मुख्यमन्त्री नेकपाले पाएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले एमालेसँगको सत्ता सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो आफूलाई नलागेको बताए ।

त्यसो हुँदा अहिलेदेखि नै सहकार्य गर्दा स्वच्छ मनले हुनुपर्ने, यदि त्यसो नभए भोलि समस्या आउन सक्ने उनी बताउँछन् । अविश्वासको प्रस्ताव दर्ता गरी एमाले मुख्यमन्त्रीलाई हटाउँदा कसरी सहज हुन्छ सत्ता सहकार्य भन्ने प्रश्नमा उनले सहज हुने नहुने कुरा त दुवैको व्यवहारमा निर्भर हुने बताए ।

उनी भन्छन्– ‘अब कसैले म गर्दिन भन्छ भने त्यो उसको कुरा हो । कम्युनिस्ट पार्टी एकता नभए सम्मको लागि यो एउटा मोर्चाबन्दी मात्रै हो । त्यसकारणले केही न केही ‘गिभ एण्ड टेक’मा समझदारीमा अगाडि बढ्ने हो ।’

‘एमालेले निहुँ खोजेको खण्डमा वा अहिलेको कुरामा चिढिए आफूहरू प्रतिपक्षमै बसेर सत्ता चलाउनुस् भन्छौँ हामी,’उनले थपे । अहिले कांग्रेससँग मिलेर मुख्यमन्त्रीविरुद्ध उभिएको प्रमुख कारण नेकपालाई कँडेलले गरेको व्यवहार रहेको टिप्पणी उनको छ ।

त्यसैले स्वच्छ मन मिलेर गर्ने हो भने ठिकै छ, राम्रो हुन्छ त्यसो  नहुने अवस्था हो भने त्यो कुराले भोलि समस्या पर्न सक्ने उनी बताउँछन् ।

उनले अगाडि भने– ‘केन्द्रीय तहबाट हिजो अस्ति नै त्यस खालको समझदारी भएर निर्देशन भएको स्थितिमा एउटा छलफल हुन्थ्यो, जब चाहिँ अविश्वास प्रस्ताव दर्ता गरेर अगाडि बढिसकेपछि सहकार्यको वातावरण बनाउँ गराउँ भन्या न हो ।’

माथि कम्युनिस्टबिच समीकरणको तयारी भइरहेको थियो, कर्णालीमा नेकपाले हतार गर्‍या हो ? भन्ने प्रश्नमा उनले त्यस्तो केही नभएको बताए ।

कर्णाली नेकपाले केन्द्रसँग एक महिना अगाडिदेखि डिसिजन मागेको बताए । साथै, प्रदेशमा नेकपाले केन्द्रको नेतृत्वको आडमै कांग्रेससँग सहकार्य अघि बढाएको पनि जिसी बताउँछन् । ‘कदम चालिसकेपछि ‘तुरुन्त पछाडि फर्क’ भन्दा त जटिल नै हुन्छ नि,’ उनी थप्छन्, ‘एक हदसम्म एउटा सहयात्री बनाएर, विश्वास गरेर त्यहाँसम्म पुगिसकेपछि बिच बाटोबाट छोड्न त मिल्दैन नि त। स्थिति त्यस्तो भएको हो ।’ 

अहिले बाध्यात्मक अवस्थामा एमालेसँग भएको सहकार्य त्यति सहज अगाडि बढ्ला जस्तो आफूलाई नलागेको उनले बताए ।

‘उहाँहरूको तर्फबाट त्यति सहज सहकार्य अगाडि बढ्ला जस्तो देख्दैन,’ उनले भने– ‘अब त्यो विश्वस्तता दिनुभयो भने त्यतिबेला भनौँला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप