सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

सोमबार, ११ साउन २०८३, १६ : ००
सोमबार, ११ साउन २०८३

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ । मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ ।

आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यावसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठूलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ । नेपालमा स्वदेशी उत्पादनदेखि भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँपको बैशाखदेखि असोजसम्म उपभोग हुने गरेको छ ।

नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार नेपालमा वार्षिक औषतमा स्वदेशको उत्पादन र भारतबाट आयात हुने रु दुई/दुई अर्ब तथा चीनबाट आयात हुने रु एक अर्ब जतिको आँप खपत हुन्छ । चीनबाट पछिल्लो दुई वर्षदेखि मात्र बढी मात्रामा आँप आयात हुन थालेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबारको आँप (मादलह) र आँप (दशहरी)को मूल्य प्रति केजी न्यूनतम् रु १८० र अधिकतम् रु २०० रहेको छ । बाँकी अन्य थोक बजार र विभिन्न सहरमा फरक फरक मूल्यमा बिक्री भइरहेको देखिन्छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालिमाटी बजरमा मात्र वैशाखदेखि आजसम्म एक हजार २३० टन आँप आयात भएको र त्यसमध्ये २८० टन आँप भारतबाट आयात भएको जानकारी दिए ।

यसपाली आँपको मूल्य तुलनात्मक उच्च

यस पटक आँपको मूल्य विगतभन्दा धेरै तल नझरेको बताउँदै उनले नेपालमा सबैभन्दा बढी मालदह प्रजातिको आँप बिक्री हुने गरेको र त्यसपछि दशहरी, कलकते, चोसा, अम्रपालीलागायत जातका आँपहरु बिक्री हुने गरेको उल्लेख गरे । असारसँगै आपको मुख्य सिजन सकिन्छ भने त्यसपछि कम मात्रामा आँप पाइने गरेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्यांक हेर्ने हो भने मुलुकभित्र आँपको उत्पादनको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ५३ हजार ४५८ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको थियो । त्यस्तै आव २०७९/८० मा ५२ हजार ४४९ हेक्टर क्षेत्रफलमा पाँच लाख १३ हजार ५५ टन आँप उत्पादन भएको थियो ।

त्यस्तै २०८०/८१ मा ५२ हजार ९७५ हेक्टर क्षेत्रफलमा कुल पाँच लाख १७ हजार ५५२ टन आँप उत्पादन भएको केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले जानकारी दिए । आव २०८१/ ८२ मा ५२ हजार ४३३ हेक्टर क्षेत्रफलमा पाँच लाख पाँच हजार १३७ टन आँप उत्पादन भएको थियो ।

उनका अनुसार नेपालको उत्पादनको करिब ७७ प्रतिशत आँप मधेश प्रदेशमा उत्पादन हुने गरेको छ । उत्पादन वृद्धि भएपनि भारतबाट समेत ठूलो परिणाममा आँप आयात हुने गरेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा भारतबाट कुल ९६ लाख ५४ हजार २९२ केजी आँप आयात भएको थियो भने गत आव २०८२/०८३ मा ८८ लाख १२ हजार ९६६ केजी आँप आयात भएको देखिन्छ ।

फलफूलको राजा आँप

हावापानीको दृष्टिकोणले तराईदेखि मध्य पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ ३–४ वर्षमा एक वर्ष मात्र पनि राम्रो उत्पादन प्राप्त हुने गर्दछ ।

उत्पादन क्षेत्रमा फूल लाग्ने समयमा प्रतिकूल मौसम हुनु, केही जिल्लामा उत्पादन घट्नु, सुरुआतमा भारतीय आयात सुस्त हुनु, ढुवानी, मजदुरी र प्याकेजिङ खर्च बढ्नु, यामको सुरुमै माग बढी र आपूर्ति कम हुनुलगायत विषयले आँपको मूल्य नघट्ने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।

यसको दीर्घकालीन समाधानका लागि आँपका लागि कोल्ड स्टोर र सङ्कलन केन्द्र विस्तार, जुस, र अन्य प्रशोधन उद्योग स्थापना, गुणस्तरीय प्याकेजिङ र ब्रान्डिङ, बजार सूचना प्रणाली र न्यूनतम समर्थन मूल्यजस्ता नीतिगत व्यवस्था हुनुपर्ने सुझाव विज्ञहरुको सुझाव छ ।

‘बिचौलियाले बढी नाफा लिए भन्ने हल्ला मात्र’

नेपाल फलफूल थोक व्यावसायी संघ, कुलेश्वरका अध्यक्ष अमर बाँनियाले आँपको मूल्यमा उत्पादनदेखि उपभोक्ताबीचका व्यवसायीले बढी नाफा लिए भन्ने हल्ला मात्र भएको बताए । उनका अनुसार किसानको बगानमा आँपको फूल फूल्ने वित्तिकै एकथरी व्यवसायीले ठेक्का लिन्छन । त्यसपछि ती ठेकेदारले बगानको गोडमेल, मलजल, श्रम र जोखिमसहित नाफा/घाटा लिन्छन् ।

त्यस्ता व्यावसायीले काठमाडौँलगायत ठूला सहरमा थोक बिक्रेतासम्म आँप ल्याइपुर्याउँछन् । थोक व्यावसायीले आफ्नो निश्चित प्रतिशत नाफा राखेर मात्र औसतमा यस सिजनमा नेपाली आँप प्रति केजी रु १०० देखि १५० र भारतीय आँप प्रतिकेजी रु १२० देखि २०० बिक्री गरेको अध्यक्ष बाँनियाको भनाइ छ । त्यसपछि स्थानीय पसले र साइकल व्यापारीले आफ्नो नाफा राखेर आमउपभोक्तालाई बिक्री गर्छन् ।

नेपालमा आँप उत्पादन हुने प्रमुख जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धाडिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर पर्दछन् । फलको राजाको रुपमा चिनिने आँपको महत्व विशिष्ट स्वाद, साँस्कृतिक, महत्त्वपूर्ण भिटामिन र खनिजहरूका कारण धेरै रहेको छ ।

आँप खेती मधेशका लागि उपयुक्त कृषि व्यवसाय

तराई मधेशका प्राय क्षेत्रमा आँपको खेति गर्न सकिन्छ । आँपको खेतीले हरियाली प्रवद्र्धन तथा वातावरण सुधारका साथै चुरे संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने वातावरण क्षेत्र जानकारको भनाई छ । मन्त्रालयका अनुसार यो कार्बन संचिती र वैकल्पिक काष्ठका लागि समेत उपयोगी रहेको छ ।

पानीको उपलब्धता कम भएको अवस्थामा पनि खेति गर्न सकिने भएकाले आँपको खेती उत्पादन लागत तुलनात्मक रुपमा कम हुन्छ । लामो समयसम्म उत्पादन लिन सकिने तथा तुलनात्मक रुपमा न्यून श्रमशक्तिको आवश्यकता हुने भएकाले श्रमको अभाव, जलवायु परिवर्तनको प्रभाव र उत्पादन सामाग्रीको अभावमा बाँझो रहन गएका जग्गाको सदुपयोग गर्नका लागि पनि आँपको खेतीको महत्व रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप