बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
सारांश
- बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस, एमाले र नेकपा साना दलहरूसँग छलफलमा जुटेका छन्।
- सरकार निर्माणमा निर्णायक भूमिकामा रहेको राप्रपाले हालसम्म स्पष्ट जवाफ नदिँदा दलहरू छटपटीमा परेका छन्।
- कांग्रेसले राप्रपा र हाम्रो नेपाली पार्टीसँग निरन्तर संवाद गरिरहेको छ र केही दिनमा सरकारको निरन्तरताबारे जानकारी आउने अपेक्षा छ।
मकवानपुर । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको जोडघटाउ तीव्र बनेको छ।
कुनै पनि गठबन्धनको सहज बहुमत नपुग्ने निश्चित भएपछि नेपाली कांग्रेससहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेका नेताहरू साना दलहरू फकाउन सक्रिय भएका हुन्।
वर्तमान सरकारलाई निरन्तरता दिने दाउमा रहेको कांग्रेस र नयाँ गठबन्धनअनुसार सरकार बनाउन कस्सिएका एमाले तथा नेकपा साना दलहरूलाई आफ्नो पक्षमा पार्ने दौडधुपमा छन्। सोमबार बिहान मात्रै नेकपा एमालेका नेता जगन्नाथ थपलिया, नेकपाका नेता एवम् पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्वमन्त्री किरण थापा र प्रकाश श्रेष्ठले २ सांसद रहेको ‘हाम्रो नेपाली पार्टी’ (हानेपा) का नेता शैलेन्द्रमान बज्राचार्यसँग छलफल गरेका थिए। उक्त छलफलमा एमाले–नेकपाका नेताहरूले कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको दाबी गर्दै आफूहरूलाई सहयोग गर्न बज्राचार्यलाई आग्रह गरेका थिए।
यता बागमती प्रदेशसभामा १२ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकार निर्माणमा निर्णायक भूमिकामा देखिएको छ। एमाले र नेकपाका नेताहरूले राप्रपासँग पटक–पटक छलफल गरिरहेका छन्। तर, राप्रपाले हालसम्म स्पष्ट जवाफ नदिँदा दुवै दल छटपटीमा परेका छन्। विगतमा सत्ता साझेदारी गर्दा आफूहरूमाथि भएको व्यवहारप्रति राप्रपाले प्रश्न उठाउँदा एमाले र नेकपाका नेताहरू थप सशङ्कित भएका हुन्।
नयाँ गठबन्धन कुनै पनि हालतमा राप्रपालाई मिलाउनुपर्ने बाध्यतामा रहेको अवस्थामा उक्त परिस्थितिले कांग्रेसलाई साथ-सहयोग प्रदान गरेको देखिन्छ। यता राप्रपा वर्तमान सरकारको अङ्कगणितमा छैन। राप्रपाका एक सांसदका अनुसार तत्कालको सङ्कटभन्दा पनि भविष्यको साझेदारीका बारेमा राप्रपाले छलफल गरिरहेको छ।
यता, नेपाली कांग्रेस पनि आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन साना दलहरूसँगको साझेदारीबारे संवादमा सक्रिय देखिएको छ। कांग्रेसले राप्रपा र हाम्रो नेपाली पार्टीसँग निरन्तर संवाद गरिरहेको छ। राप्रपाबाट सकारात्मक टिप्पणी पाएको दाबी गर्दै कांग्रेस नेताहरू उत्साहित देखिएको कांग्रेसका एक सांसदको भनाइ छ। उनका अनुसार निर्णायक वार्तापश्चात् केही दिनमा नै सरकारको निरन्तरताबारे जानकारी आउनेछ। कांग्रेसले सदाबहार प्रतिपक्षको भूमिकामा रहने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई समेत सरकारलाई सहयोग गर्न आग्रह गरेको उनले बताए।
११० सदस्यीय बागमती प्रदेशसभामा कायम रहेका १०४ सांसदमध्ये सरकारका लागि बहुमत पुर्याउन ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेससँग ३६, एमालेसँग २५ (उपसभामुखसहित), नेकपासँग २६, राप्रपासँग १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद रहेका छन्।
केन्द्रको समीकरणअनुसार एमाले र नेकपा मिल्दा ५१ सिट मात्र पुग्छ, जुन बहुमतभन्दा २ सिट कम हो। त्यसैले, नयाँ गठबन्धनका लागि पनि राप्रपा वा हाम्रो नेपाली पार्टीको समर्थन अनिवार्य देखिएको छ।
कांग्रेसले भने नेकपा र एमालेरहित गठबन्धन निर्माणका लागि प्रयास थालेको छ। कांग्रेसले राप्रपा, नेमकिपा र हानेपासहितको गठबन्धनबाट ५३ सिट पुर्याएर सरकार गठन गर्ने प्रयत्नमा जुटेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण