सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय

सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय

सोमबार, ११ साउन २०८३, २२ : १६
सोमबार, ११ साउन २०८३

सारांश

  • सुनसरीको देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचको घटनाबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
  • सुरक्षाकर्मीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि थप हिंसा रोक्न संयुक्त सुरक्षा योजना बनाइने भएको छ ।
  • सुनसरीसहित अन्य जिल्लामा पनि हिन्दु र मुस्लिम समुदायबीच हिंसा भड्किन सक्ने आकलन गर्दै सचेतना अपनाउने निर्णय गरिएको छ ।

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा भएको घटनाबारे केन्द्रीय सुरक्षा समितिमा ४ घण्टा छलफल भएको छ ।

आइतबार राति झडप नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । त्यसबारे सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिमा लामो छलफल भएको छ । बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की लगायतका सुरक्षा अधिकारीहरु सहभागी थिए ।

सुनसरीमा थप हिंसा भड्किन नदिन तीनवटै सुरक्षा निकायले संयुक्त योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ । बैठकले जिल्लामा सबै सुरक्षा निकायलाई निरन्तर छलफल र संयुक्त सुरक्षा योजना बनाउन निर्देश गरेको छ ।   

स्थानिय प्रशासन ऐन अनुसार कफ्यु लगाएसँगै सुनसरीमा सेनाले पनि सुरक्षा तैनाथी बढाएको छ । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई सुचना आदान प्रदान गर्न र घटनाबाट प्रभावित परिवार तथा समुदायसँग संबाद गर्न केन्द्रिय सुरक्षा समितिले निर्देशन दिएको छ ।

सुनसरीको जस्तै अन्यत्र पनि  हिन्दु र मुस्लिम समुदायको बिचमा हिंसा भड्किन सक्ने आकलन गर्दै केन्द्रिय सुरक्षा समितिमा त्यसबारे सचेतना अपनाउनेबारे छलफल भएको छ । मोरङ, सप्तरी, रौतहट, पर्सा, कपिलवस्तु, नवलपरासी पश्चिम र बाँकेमा पूर्व सचेतना अपनाउने निर्णय गरिएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

पूर्व पश्चिम राजमार्ग सप्तरीको भारदहबाट सुनसरीको लौकहीसम्म रोकिएको सड्क खुलाउने निर्णय गरिएको छ । सो निर्णय अनुसार स्थानिय सुरक्षाकर्मीहरुले राजमार्ग खुलाएका छन् । बैठकमा रक्षा मन्त्रालयका सचिव, प्रहरीको कार्य विभाग प्रमुख एआईजी हिमालय श्रेष्ठ र सशस्त्रका एआईजी गणेश ठाडा मगर पनि सहभागी थिए ।

केन्द्रिय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजर्माको २ सय मिटरको दुरीमा कफ्यु आदेश जारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप