मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
टिप्पणी

सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता

मङ्गलबार, १२ साउन २०८३, १८ : ००
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पार्टी गठन, विभाजन र एकीकरणका क्रममा वैचारिक विचलन, नेतृत्वकेन्द्रित प्रतिस्पर्धा र सत्तामोहका कारण विभाजन दोहोरिँदै गएको छ।
  • सत्ताकेन्द्रित एकता क्षणिक हुने र सिद्धान्तमा आधारित एकता दिगो हुने इतिहासको शिक्षालाई आत्मसात गर्दै आजको सहकार्य सत्ता साझेदारीमा सीमित नभई राष्ट्रिय हित, वैचारिक स्पष्टता र साझा कार्यक्रममा केन्द्रित हुनुपर्छ।
  • कम्युनिस्ट आन्दोलनको भविष्यका लागि वैचारिक पुनर्जागरण, संगठनात्मक पुनर्गठन, पुस्तान्तरण र नयाँ राजनीतिक संस्कृतिको विकास अपरिहार्य छ, जहाँ प्रतिस्पर्धा विचारका लागि, संगठनका लागि र जनविश्वास जित्नका लागि हुनुपर्छ।

१. इतिहासले दिएको अवसर

नेपालको कम्युनिस्ट आन्दोलन पार्टी गठन, विभाजन र एकीकरणको इतिहास मात्र होइन, यो राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक रूपान्तरण, वर्गीय संघर्ष र समाजवादउन्मुख परिवर्तनको सात दशकभन्दा लामो यात्रा हो। यस आन्दोलनले लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र राजनीतिक परिवर्तनमा ऐतिहासिक नेतृत्व गरेको छ। तर, आन्दोलन जति शक्तिशाली बन्दै गयो, त्यति नै वैचारिक विचलन, नेतृत्वकेन्द्रित प्रतिस्पर्धा, गुटबन्दी र सत्तामोहका कारण विभाजन दोहोरिँदै गएको छ। परिणामस्वरूप जनविश्वास कमजोर हुँदै गयो र आन्दोलनको प्रभाव क्रमशः खुम्चिँदै छ।

रास्वपाको सरकार बनेपछि पनि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक चुनौती, अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा र जनतामा बढ्दो निराशामा कमी आएको छैन। निर्वाचनमा कमजोर प्रदर्शन गरेका कम्युनिस्ट पार्टीहरूको पुनः सहकार्यको बहस चर्चामा छ। तर आजको मूल प्रश्न कोसँग सहकार्य गर्ने भन्ने होइन; कुन सिद्धान्त, कुन विचार, कुन कार्यक्रम र कस्तो राजनीतिक संस्कृतिका आधारमा सहकार्य गर्ने भन्ने हुनुपर्दछ।

२. सिद्धान्तमा आधारित एकताको खाका

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले स्पष्ट सन्देश दिएको छ— सत्ताकेन्द्रित एकता क्षणिक हुन्छ, सिद्धान्तमा आधारित एकता दिगो हुन्छ। २०३५ सालको माले गठन, २०४७ सालमा एमालेको स्थापना र २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणले ठूलो सम्भावना सिर्जना गरे पनि ती दीर्घकालीन बन्न सकेनन्। यसमा वैचारिक बहसभन्दा सत्ता, नेतृत्व र शक्ति सन्तुलनको प्रतिस्पर्धा थियो।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले कम्युनिस्ट एकतालाई राष्ट्रिय आवश्यकता र क्रान्तिकारी जिम्मेवारीका रूपमा व्याख्या गर्नुभयो। जननेता मदन भण्डारीले 'जनताको बहुदलीय जनवाद' (जबज) मार्फत लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समाजवादलाई नेपाली यथार्थसँग जोड्ने मौलिक कार्यदिशा प्रस्तुत गर्नुभयो। मनमोहन अधिकारीले जनउत्तरदायी, लोकतान्त्रिक र जनमुखी कम्युनिस्ट शासन सम्भव हुन्छ भन्ने व्यावहारिक उदाहरण दिनुभयो। यी तीन वैचारिक योगदान नेपाली कम्युनिस्ट आन्दोलनका साझा मार्गदर्शक आधार हुन्।

३. वैचारिक विभाजन र आन्दोलनको विकासक्रम

नेपाल कम्युनिस्ट पार्टीको स्थापना २०१० वैशाखमा भएको केही वर्षमै क्रान्तिको कार्यदिशा, संगठनात्मक पद्धति, संसदीय अभ्यास, संयुक्त मोर्चाको नीति तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनप्रतिको दृष्टिकोणमा मतभेद देखापरे। सोभियत–चीन वैचारिक विवादले प्रभाव पारे पनि विभाजनका मुख्य कारण नेतृत्वबीचको असहमति, संगठनात्मक कमजोरी र वैचारिक भिन्नता नै थिए। फलस्वरूप २०२० र २०३० को दशकमा आन्दोलन विभिन्न धारामा विभाजित भयो, जसले नयाँ नेतृत्व, नयाँ रणनीति र वैचारिक पुनर्गठनको प्रक्रिया अघि बढायो।

चौथो महाधिवेशनबाट विकसित धारा मसाल छुट्टै अस्तित्वमा छ भने अर्को धार नेकपा (एकता केन्द्र) २०५२ सालको माओवादी जनयुद्धसम्म पुग्यो।

२०३५ सालमा गठित नेकपा (माले) ले झापा आन्दोलनबाट विकसित शक्तिलाई संगठित गर्दै जनआधारित आन्दोलनलाई राष्ट्रिय विस्तार दियो। आत्मसमीक्षापछि यस धाराले लोकतान्त्रिक प्रतिस्पर्धा र जनमतलाई शान्तिपूर्ण परिवर्तनको माध्यमका रूपमा स्वीकार गर्‍यो। यही विकासक्रमले २०४६ सालमा वाम–प्रजातान्त्रिक संयुक्त जनआन्दोलन सञ्चालन गरी पञ्चायतलाई खारेज गर्‍यो।

२०४७ मा नेकपा (एमाले) को गठन र मदन भण्डारीद्वारा 'जनताको बहुदलीय जनवाद' (जबज) सिद्धान्तको प्रतिपादनमार्फत नेपाली कम्युनिस्ट आन्दोलन शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाको नयाँ युगमा प्रवेश गर्‍यो। यसले पुष्टि गर्छ कि आन्दोलनको स्थायित्व विभाजन वा एकीकरणमा होइन, सिद्धान्त, विचार र समयानुकूल लिइने राजनीतिक कार्यदिशामा निर्भर हुन्छ।

४. शान्ति प्रक्रिया र गणतन्त्र : दुई धाराको ऐतिहासिक संगम

२०६२/०६३ को १२ बुँदे समझदारीले नेपाली कम्युनिस्ट आन्दोलनका दुई भिन्न कार्यदिशा बोकेका कम्युनिस्ट पार्टीहरूलाई साझा राजनीतिक निष्कर्षमा जोड्यो। एमालेसहित सात दलको जनआन्दोलन र माओवादीको सशस्त्र संघर्ष अन्ततः दोस्रो जनआन्दोलनमा एकीकृत भए। त्यसको परिणामस्वरूप राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, विस्तृत शान्ति सम्झौता र संविधानसभामार्फत नयाँ राजनीतिक युगको सुरुआत भयो। विश्व राजनीतिमा सशस्त्र आन्दोलनबाट प्रतिस्पर्धात्मक लोकतन्त्रमा सफल रूपान्तरणका उदाहरणमध्ये नेपालको अनुभव विशिष्ट मानिन्छ। यो सहकार्यको उपलब्धि थियो।

५. इतिहासकै सबैभन्दा ठूलो एकता २०७५

राजनीतिक परिस्थितिले २०७४ को निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनले वामशक्तिलाई सत्ताको केन्द्रमा पुर्‍यायो। परिणामतः दुई दलको एकीकरणबाट २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो संगठनात्मक एकता थियो। करिब दुईतिहाइ जनमतले राजनीतिक स्थायित्व, सुशासन र समाजवादउन्मुख रूपान्तरणको ठूलो आशा जगाएको थियो। तर व्यक्तिगत स्वार्थ, अहंकार, वैचारिक अस्पष्टता, संगठनात्मक लोकतन्त्र र सामूहिक नेतृत्व संस्थागत हुन नसक्दा त्यो ऐतिहासिक अवसर धेरै दिन टिक्न सकेन।

६. गुट र फुटको राजनीतिक संस्कृति

नेपाली कम्युनिस्ट आन्दोलनका बारम्बारका विभाजनका कारण केवल बाह्य हस्तक्षेप होइन; त्यसको मूल स्रोत आन्दोलनभित्रकै वैचारिक र संगठनात्मक कमजोरी हो। व्यक्तिकेन्द्रित नेतृत्व, व्यक्तिपूजा, गुटबन्दी, शक्ति संघर्ष, आन्तरिक लोकतन्त्रको क्षय, उत्तराधिकारको स्पष्ट प्रणालीको अभाव तथा सिद्धान्तभन्दा सत्ता र पदलाई प्राथमिकता दिने प्रवृत्तिले आन्दोलनलाई पटक–पटक विभाजनतर्फ धकेल्यो।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका उतारचढाव, शीतयुद्ध, चीन–सोभियत वैचारिक विवाद र बदलिँदो भू–राजनीतिले प्रभाव पारे पनि नेपाली कम्युनिस्ट आन्दोलनका अधिकांश संकटको जरो आफ्नै राजनीतिक संस्कृतिमा छ। यस यथार्थलाई स्वीकार नगरी न त पुनर्गठन सम्भव छ, न त दिगो एकता।

७. जनअपेक्षा र आजको सहकार्यको कार्यदिशा

केही दिनअघि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार निर्माणका लागि ३ बुँदे सहकार्यको सहमतिपत्रमा हस्ताक्षर भएको विषय सार्वजनिक भएको छ। आजको कम्युनिस्ट सहकार्य सत्ता साझेदारी, मन्त्रालय बाँडफाँट वा निर्वाचनको अंकगणितमा सीमित हुनु हुँदैन। त्यसो भयो भने विगतका असफलता पुनः दोहोरिनेछन्। सहकार्यको औचित्य राष्ट्रिय हित, वैचारिक स्पष्टता र साझा कार्यक्रममै निहित छ।

सहकार्य संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण, उत्पादनमुखी तथा आत्मनिर्भर अर्थतन्त्र, रोजगारी सिर्जना, सामाजिक न्याय, समाजवादउन्मुख विकास तथा संगठनात्मक लोकतन्त्र र नैतिक राजनीतिक संस्कृतिको निर्माणमा केन्द्रित हुनुपर्छ। आज जनताले घोषणापत्र र नाराभन्दा परिणाम खोजिरहेका छन्। उनीहरूलाई स्थिर सरकार, स्वच्छ शासन, गुणस्तरीय सेवा, उत्पादन, रोजगारी, सुशासन र राष्ट्रिय स्वाभिमान चाहिएको छ। त्यसैले सहकार्यको सफलता घोषणामा होइन, व्यवहार र परिणाममा प्रमाणित हुनुपर्छ।

८. पुनर्गठन र पुस्तान्तरणको अपरिहार्यता

कम्युनिस्ट आन्दोलनको भविष्य केवल चुनावी गठबन्धन वा सरकार निर्माणमा सीमित रहन सक्दैन। समयको माग वैचारिक पुनर्जागरण, संगठनात्मक पुनर्गठन, आत्मसमीक्षा, पुस्तान्तरण, अनुशासित र जनउत्तरदायी नेतृत्व तथा जनसेवामुखी राजनीतिक संस्कृतिको विकास हो।

एकीकृत कम्युनिस्ट केन्द्र निर्माणको अर्थ सबै कम्युनिस्ट दल तत्काल एउटै संगठनमा विलय हुनु होइन। यसको अर्थ साझा राष्ट्रिय दृष्टि, साझा समाजवादी कार्यक्रम, सिद्धान्तनिष्ठ राजनीतिक आचरण र लोकतान्त्रिक सहकार्यको संस्कृतिको विकास गर्नु हो। यही प्रक्रियाबाट पार्टी एकता गर्दै आन्दोलनले आफ्नो ऐतिहासिक भूमिका पुनः स्थापित गर्न सक्छ।

९. नयाँ राजनीतिक संस्कृतितर्फ

कम्युनिस्ट आन्दोलनको संकट संगठनको मात्र होइन, राजनीतिक संस्कृतिको पनि संकट हो। अब प्रतिस्पर्धा पदका लागि होइन, विचारका लागि हुनुपर्छ; गुटका लागि होइन, संगठनका लागि हुनुपर्छ; सत्ता प्राप्तिका लागि होइन, जनविश्वास जित्नका लागि हुनुपर्छ। आत्मसमीक्षा, नैतिक नेतृत्व, पारदर्शिता, संगठनात्मक अनुशासन र जनउत्तरदायित्वलाई राजनीतिक संस्कृतिको आधार बनाउन नसके कुनै पनि सहकार्य दीर्घकालीन बन्न सक्दैन।

१०. सत्ताले होइन, सिद्धान्तले भविष्य निर्माण गर्छ

इतिहासले नेपाली कम्युनिस्ट आन्दोलनलाई पटक–पटक अवसर दिएको छ। आज फेरि सहकार्य र एकताको निर्णायक अवसर आएको छ। यदि यसलाई केवल सत्ता साझेदारी र राजनीतिक समीकरणको माध्यम बनाइयो भने इतिहास पुनः दोहोरिनेछ। तर सिद्धान्त, विचार, साझा कार्यक्रम, संगठनात्मक लोकतन्त्र, आत्मसमीक्षा, पुस्तान्तरण र नयाँ राजनीतिक संस्कृतिका आधारमा पुनर्गठन गरियो भने नेपाली कम्युनिस्ट आन्दोलन पुनः रूपान्तरणको अग्रणी शक्ति बन्न सक्छ।

आज आवश्यकता यान्त्रिक पार्टी एकीकरणको होइन, साझा वैचारिक आधार निर्माणको हो। 'जनताको बहुदलीय जनवाद' को मार्गदर्शनमा राष्ट्रिय रूपमा वैचारिक सम्मेलन आयोजना गरी साझा सिद्धान्त, साझा कार्यक्रम, साझा राष्ट्रिय दृष्टि र साझा राजनीतिक संस्कृतिको विकास गर्नुपर्छ। त्यसपछि चरणबद्ध रूपमा एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्दै अहिले नेतृत्व गरिरहेको पुस्ताले अभिभावकीय भूमिका निर्वाह गरी तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ।

इतिहासले दिएको सबैभन्दा ठूलो शिक्षा कम्युनिस्ट आन्दोलनलाई बचाउने शक्ति सत्ता होइन, विचार हो। एकतालाई टिकाउने आधार पद होइन, सिद्धान्त हो। जनविश्वास पुनः स्थापित गर्ने माध्यम नारा होइन, परिणाम हो। त्यसैले आजको आवश्यकता सत्ता–केन्द्रित सहकार्य होइन, सिद्धान्त, विचार र कार्यक्रमको आधारमा निर्मित कम्युनिस्ट सहकार्य र एकता हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आनन्दप्रसाद पोखरेल
आनन्दप्रसाद पोखरेल
लेखकबाट थप