आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

समसामयिक राजनीतिबारे काँग्रेसमा बहसको थालनी

बिहीबार, १२ भदौ २०७६, २० : ५०
बिहीबार, १२ भदौ २०७६

काठमाडौं – प्रमुख विपक्षी नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीति विषयमा बहस सुरु भएको छ । पार्टी कार्यलय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सह–महामन्त्री डा. प्रकाशशरण महतले राजनीतिक प्रस्ताव पेश गरेसँग काँग्रेसमा समसामयिक राजनीतिको वर्तमान अवस्थाबारे बहस सुरु गरेको हो ।

सो प्रस्तावमा नेताहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राखेका छन् । 

आज धारणा राखेको सबै जसो नेताले वाइडबडी, ३३ किलो सुन, चिनी, बालुवाटार र मेलम्ची काण्डबारे छानविनका लागि काँग्रेसले जोडदार माग गर्नु पर्ने कुरा राखेको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार वर्तमान सरकार संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गर्ने प्रवृत्तिको काँग्रेसले सशक्त रुपमा प्रतिवाद गर्ने पर्नेमा जोड दिएको थियो । नेताहरुले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक चलाएकोमा पनि विरोध गरेको छन् ।

साथै मन्त्रिपरिषद् बैठकसम्बन्धी कार्याविधिको संशोधनलाई तत्काल सच्याउन माग काँग्रेसले माग गरेको छ । उनका अनुसार काँग्रेसको राजनीतिक प्रस्ताव भ्रष्टाचारको विषय विशेष केन्द्रित छ। 

नेता जोशीले भने, ‘वर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको केन्द्रीय सरकार, प्रदेश सरकार स्थानीय सरकारहरुमा मौलाउँदै गएको संस्थागत भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग, जनतालाई दिनपर्ने सेवा, सुविधा र विकास निर्माणमा देखिएको भेदभाव र ढिलासुस्ती तत्काल बन्द गर्न माग गरिएको छ ।,’ 

सरकारमा बस्नेहरुमा संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्यमान्यतालाई अवमूल्यन गर्ने प्रवृत्ति बढेको कांग्रेसको ठहर छ । उसले सरकारका असफलतालाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीको रुपमा चित्रित नगर्न पनि सचेत गराएको छ ।

उनका अनुसार कांग्रेसले संविधान संशोधनको माग पनि  अगाडि सारेको छ । साथै मधेस केन्द्रित दलहरुले निर्वाचित भएपछि  संविधान संशोधन विर्सिएर द्वेध चरित्र देखाएको ठहर छ ।

 पार्टीभित्रका आन्तरिक कमिकमजोरी सधैँ कोट्याएर मात्रै नहुने भन्दै नेता सिटौलाले भने, ‘नेतृत्व चयनका लागि प्रतिस्पर्धा गर्ने बेला अर्थात महाधिवेशन आएपछि गरौंला तर, अहिले नै त्यहि कुरा गरेर समय व्यथित गर्यो भने पार्टी थप कमजोर हुन्छ । अहिले सत्तामा पनि लोकतान्त्रिक शासन व्यवस्था र कानूनी राज्यप्रति विश्वास नगर्ने कम्युनिष्ट र बाहिर पनि लोकतन्त्र विरोधी कम्युनिष्टदेखि प्रतिक्रियावादी शक्तिहरु सलबलाएको बेला सरकारको कमिकमजोेरी केलाएर त्यसकाविरुद्ध पार्टी सशक्त र एकताबद्ध भई जनताका जानुको विकल्प छैन ।' 

आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केही भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान स्वीकृतिका लागि तथा समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सन्दर्भमा आवश्यक निर्णय लिन पर्ने र भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता पाउन विभिन्न संस्थाहरुले दिएको निवेदनको विषयमा प्रस्ताव पेश गरेको थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप